• १४ वैशाख २०८१, शुक्रबार

पोखरामा नगरबसको आतङ्क

blog

सन्तोष सुवेदी

कास्की, चैत १९ गते  । पोखराको न्युरोडमा मिनी माइक्रोले स्कुटरलाई ठक्कर दिँदा शुक्रबार स्कुटर चालक पोखरा महानगरपालिका–८ का ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको थियो। चिप्लेढुङ्गाबाट आउँदै गरेको माइक्रोले सोही दिशाबाट आइरहेको उक्त स्कुटरलाई ठक्कर दिएको थियो। ग ५ प ९४ नम्बरको स्कुटरलाई ग १ ज ४५४० नम्बरको मिनी माइक्रोले ठक्कर दिँदा गम्भीर घाइते भएका थकालीलाई मणिपाल शिक्षण अस्पताल लगिएको थियो। प्रहरीका अनुसार माइक्रोले स्कुटर चालकलाई सडकमै घिसारेर ३३ मिटर तल पु-याएको हो।

त्यस्तै चैत ३ गते पोखरा चिप्लेढुङ्गामा नगरबसको ठक्करबाट स्कुटरमा सवार २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भयो। बस चालक सागर क्षेत्री प्रहरी नियन्त्रणमा छन्। माघ २६ गते पोखरा बसपार्क क्षेत्रमै एक अर्को बसले ठक्कर दिँदा २७ वर्षीया रेजिना आचार्यले ज्यान गुमाउन प-यो। 

पछिल्लो समय पोखरामा नगरबसको ठक्करबाट भएका यी केवल नमुना घटनाहरू मात्र हुन्। नगरबस चालकको लापरबाहीले गर्दा दिनहुँजसो हुने यस्ता दुर्घटनाले स्कुटर चालकलाई त्रसित बनाएको छ। पोखरा महानगरले नगरबसमा यात्रु ओराल्ने, चढाउने निश्चित ठाउँ तोके पनि मनोमानी ढङ्गले तीव्र गतिमा कुदाउने र एकअर्कालाई उछिन्ने प्रतिस्पर्धाले सडक असुरक्षित बन्दै गएको पाइन्छ। 

जिल्ला ट्राफिक कार्यालयका कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले एकले अर्कालाई उछिन्ने र तीव्र गतिमा सवारीसाधन चलाउँदा बढी दुर्घटना हुने गरेको बताउनुभयो। “पछिल्लो समय सवारी चालककै लापरबाहीका कारण दुर्घटना बढेको पाइएको छ। जसले गर्दा गम्भीर प्रकृतिका घटना हुने गरेका छन्,” उहाँले भन्नुभयो। 

जिल्ला ट्राफिक प्रहरीका अनुसार पोखरामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ७८ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ३० जनाले ज्यान गुमाएको पाठकले जानकारी दिनुभयो। सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर रहेका छन्। गत आर्थिक वर्षको भन्दा यो पटक कम दुर्घटना भएको उहाँको भनाइ छ। “गत आर्थिक वर्षमा ९८ सवारी दुर्घटना भएकोमा ५५ जनाले ज्यान गुमाए,” उहाँले भन्नुभयो। पोखरामा पोखरा यातायात प्रालि, मामा यातायात प्रालि, विन्ध्यवासिनी यातायात प्रालि, लेखनाथ यातायात प्रालि, ट्याक्सी व्यवसायीलगायत नगरबस तथा माइक्रो चल्दै आएका छन्। पोखरामा सबैभन्दा धेरै नगरबस/माइक्रो पोखरा यातायात प्रालिले चलाउँदै आएको छ।