• १२ साउन २०८१, शनिबार

चितवन–२ उपनिर्वाचन : मुख्य चार दलका उम्मेदवारको टुङ्गो लाग्यो

blog

शालिग्राम नेपाल

चितवन, चैत १९ गते । चितवनको निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि चारवटा पार्टीले उम्मेदवार तय गरेका छन्। 

नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय जनमोर्चा पार्टी (राजमो)ले उम्मेदवारको टुङ्गो लगाएका हुन्। आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा रास्वपाका केन्द्रीय सभापति रवि लामिछाने, कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राजमोका उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाइने भएको छ। एमाले केन्द्रीय समितिले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय शनिबार गरेको छ।

यसअघि एमाले क्षेत्रीय कमिटीले न्यौपानेको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेकोमा जिल्ला कमिटीको शुक्रबार बसेको बैठकले पनि सर्वसम्मत रूपमा न्यौपानेको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला उपसचिव प्रकाश ढुङ्गानाले जानकारी दिनुभयो। 

उपनिर्वाचनका लागि यही चैत २० गते मनोनयनपत्र दर्ता गर्ने निर्वाचन तालिका रहेको छ। राप्रपासहित अन्य पार्टीले उम्मेदवारको छनोट गर्न बाँकी नै रहेको मनोनयन दर्ताको मितिसम्म उम्मेदवार टुङ्गो लगाइसक्ने जनाइएको छ। 

उपनिर्वाचनमा रास्वपाबाट केन्द्रीय सभापति लामिछाने यसअघि नै चुनावी प्रचारमा लागिसक्नुभएको छ। कांग्रेसको बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले पूर्वसभापति श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेपछि उहाँ प्रचारमा जुट्नुभएको छ। जनमोर्चाको केन्द्रीय कमिटी बैठकले उपाध्यक्ष शर्मालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।  महासचिव मनोज भट्टको नेतृत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

रास्वपाले चितवन–२ को उपचुनावमा कुनै दलसँग गठबन्धन नगर्ने जनाइसकेको छ। “चितवन–२ का मतदाताले फेरि पनि पहिलाको मतभन्दा बढी मत दिएर जिताउँछन् भन्नेमा म पूर्ण रूपमा विश्वस्त रहेको छु,” लामिछानेले भन्नुभयो, “सरकारमा रहँदा छोटो समयमा गरेको कामलाई मतदाताले मूल्याङ्कन गरेर फेरि त्यही ठाउँमा चितवनका जनताले पु-याउने विश्वास लिएको छु।” 

चितवन–२ मा उम्मेदवार बन्न कांग्रेसका ११ जना नेताको दाबी थियो। लामो रस्साकस्सीबीच श्रेष्ठले चितवन–२ मा टिकट पाउनुभएको थियो। नेता श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने बताउनुभयो। चितवन–२ का मतदाता वैशाख १० गतेको निर्वाचनमा मङ्सिर ४ गतेको परिणाम उल्टिने दाबी गर्नुभयो। 

गत मङ्सिर ४ को चुनावमा चितवन–२ मा एक लाख २४ हजार २१५ मतदाता थिए। निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीका अनुसार यस पटक ४६० मतदाता थपिनेछन्। अन्तिम मतदाता नामावली निर्वाचन आयोगबाट आउन बाँकी छ। 

गत मङ्सिर ४ को निर्वाचनमा चितवन–२ मा लामिछानेले ४९ हजार २६४ मत ल्याएर विजयी हुनुभएको थियो। त्यतिबेला कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८३ मत र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत प्राप्त गर्नुभएको थियो। गृहमन्त्री भएकै समयमा लामिछानेको नागरिकता विषयमा आएको विवादले उहाँको सांसद पद गुमेको हो।  

मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना 

चितवन २ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा शनिबार स्थापना गरिएको छ।

निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपाने र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। निर्वाचन आयोगले उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ताको समय तोकेको छ। कार्यालय स्थापनापछि चैत २० गते हुने मनोनयन दर्ताबारे जिल्लाका राजनीतिक दलसँग छलफल गरिएको सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिनुभयो।