• ६ वैशाख २०८१, बिहिबार

पर्यटन प्रवर्द्धन र अर्थतन्त्रको सबलीकरण गर्न पहल

blog

सन्तोष सुवेदी

कास्की, चैत १९ गते । पर्यटन प्रवद्र्धन गर्दै अर्थतन्त्रको सबलीकरण गर्नका लागि ‘अन्नपूर्ण म्याराथन’ आयोजना हुने भएको छ । सेन्चुरी पर्यटन व्यवस्थापन समितिले अन्नपूर्ण पदयात्रा क्षेत्रलाई समेटेर अन्नपूर्ण म्याराथन आयोजना गर्न लागेको हो । समितिका अध्यक्ष ललित गुरुङले म्याराथनले पर्यटनमा नयाँ आयाम थप्ने विश्वास लिएको बताउनुभयो । समितिका अनुसार आगामी वर्ष जेठ २० गते तेस्रो संस्करणको अन्नपूर्ण म्याराथनको आयोजना हुन लागेको हो । 

कोरोना भाइरसका कारण दुई वर्ष रोकिएको अन्नपूर्ण म्याराथनले यस पटक निरन्तरता पाउने अध्यक्ष गुरुङले बताउनुभयो । “कोरोनाले अघिल्ला संस्करण गर्न पाएनौँ । कोरोनाले गर्दा पर्यटन क्षेत्र बढी प्रभावित बनेको थियो । म्याराथन आन्तरिकदेखि बाह्य पर्यटक भिœयाउन सहयोगी बन्नेछ,” उहाँले भन्नुभयो । 

अन्नपूर्ण हिमालको फेदी आधार शिविरबाट दौड सुरु भई कास्कीको पर्यटकीय गाउँ घान्द्रुक झरेर म्याराथन समापन हुनेछ । झन्डै ४२ सय मिटरको उचाइबाट धावकहरू ओर्लिंदै घान्द्रुक आइपुगेर म्याराथन टुग्याउनेछन् । दुई महिनापछि सुरु हुने म्याराथनका लागि आवश्यक आन्तरिक गृहकार्य सुरु भइसकेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथन आयोजना गर्दै आएको समितिले जनाएको छ । अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगतमा निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन हुँदै आएको थियो । २०७५ फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधार शिविरका होटलमा पुगेको क्षति, नेपाल भ्रमण वर्ष २०२० घोषणा भएलगत्तै अन्नपूर्ण पदयात्रा मार्गअन्तर्गत हिन्कु केभ क्षेत्रमा झरेको हिमपहिरोका कारण भएको दुःखद घटना र विश्वव्यापी कोभिड–१९ ले पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको समितिले उल्लेख गरेको छ । 

पर्यटन क्षेत्रलाई धराशयी हुन नदिनका विशेष राहत प्याकेज कार्यक्रम सञ्चालन गरी अर्थतन्त्रको सबलीकरण गर्न स्थानीय, प्रदेश र सङ्घ सरकारसँग विशेष अनुरोध गर्ने समितिले जनाएको छ ।