• १० मंसिर २०८१, सोमबार

लखेट्तै लखेट्तै समयले

blog

मोफसलमा हराएको एउटा मध्यमवर्गीय अनाम नागरिकको रिटायर्ड जीवन । भेउ नपाइने अँध्यारो उत्तरार्ध ! पहिले जीवन भुवाजस्तै हल्का थियो, हिजोआज छिनछिनै झन्झन् ओसिलो र बोझिलो बन्दै आएछ । चरीजस्तै भुरुरुर्र उड्ने काया दिनानुदिन भद्दा, असजिलो र अलाख लाग्ने भएछ । आफैँ आफूलाई अप्ठ्यारो प्रतीत भइदिने रहेछ । आफ्नै कायातरु अलि कुरूप, अलि कफल्लो, अलि निम्छरोे र अलि खोक्रो अनुभव हुन थालेछ । तैपनि जस्तो हो त्यस्तै देखिन मन नमान्ने रहेछ । 

नानानौथरी डेन्टिङपेन्टिङ, मर्मतसम्भार, कसकास र सफाचट गरेर सधैँ फ्रेस बन्न मन लाग्दो रहेछ, सँगसँगै उतिखेरै छ्या, होइराखोस् भन्दै अलि निचमारा र अल्छी बनिँदो रहेछ । आपूm कता छुटिसकियो कि भन्नेतिर नजाँदोसँग सोचाइपछि लाग्दो रहेछ तैपनि ताजा, तगडा, विचारवान् हुनुको नशा लाग्दो रहेछ । नयाँ पुस्ताको अगाडि आफैँ सभ्य, सक्षम र जानिफकार छु भन्ने अहं जाग्दो रहेछ । सिधै हेरिरहँदा आँखा रसाउने भएछन् । आपूmले अह्राएको कुरा आफ्नै शरीरले टेर्न छोडेछ ।

तुजुक देखाउन खोज्दा बुता बर्कतले झेल गर्न थालेछ । सोझै फटाफटी हिँड्ने जमर्को गर्दा ढाड झुक्न थालेछ । खुट्टा अनियन्त्रित बन्दै लर्बरिने भएछन् । पाइलाहरू यता टेक्छु भन्दा उता टेकिन पुग्ने रहेछन् तर अरूलाई त्यो देखाउन मन नमान्दो रहेछ । ह्याउ नभएको अहंले सहज बन्न खोज्दै गरेको कृत्रिम हिँडाइ अस्वाभाविक बनेर अरूको आँखामा अल्झिन पुग्दो रहेछ । सोचाइका तन्तुहरू सुर्किनी खुकुलिँदै गएर शिथिल बनेछन् क्या र – एक थोक भन्न खोज्दा अर्कै थोक बोलिने भएछ । 

विचारले बिस्तारै अतीतमुखी बनाउँदै लगेछ । उतिबेरका अनेक खाले अनुभूतिका पत्रैपत्रे चाङहरू बेला कुबेला फ्ल्यासब्याकझैँ स्मृतिपटलमा खुल्दा रहेछन् । कतिबेर तिनै अनुभूतिलाई मिठो वाणी दिएर मूल्यवान् सिर्जना फुलाउने रहर जाग्दो रहेछ । फेरि उतिबेरै अल्छी लागेर थाती रहेको सम्झनालाई बिस्तारै विस्मृतिले ढाक्तै लगिदिँदो रहेछ । केही चाहनाहरू नयाँ नौला आकार लिएर यदाकदा सल्बलाउने रहेछन्, फेरि सुस्पष्ट बान्की लिन नपाउँदै तुहिँदै हराएर जाने रहेछन् । 

कुनै आकृतिबद्ध भइहाले पनि कुरूप, थोत्रो, ध्वंशावशेष अतीतको व्यामोहमा लटपटिएर हिलाम्मेजस्ता लाग्ने । बाक्लो चस्माभित्र कैद आँखाहरू अल्छी मान्दा रहेछन् – सेतो कागजमा घरिघरि पोखिन । अनि हातहरू कलम समातेर अनुभवलाई वाणी दिन उति सारो रहर नगर्ने भएछन् । सधैँ “भोलि गरौँला, पर्सि गरौँला” भन्दै टार्दै गर्न मजा आउने भएछ । 

केटाकेटी जिस्क्याउन थालेछन्, “बाबा भन्नु त हामी क–कसको नाम के के हो ?” धेरै भुराभुरी जम्मा भएर एकैचोटि घेर्दा चिनिराखेका नानीका नाम पनि फ्याट्ट भन्न नआउँदो रहेछ । उनीहरूले नानाथरि सानातिना कुरा सोधिरहँदा ¥याकिङ गरेझैँ लाग्ने भएछ । उनीहरू खेले–चलेको पनि दैख्तै झर्को लाग्न थालेछ । हुलमूल, हल्ला, हर्कत देखाएको औधी मन नपर्ने भएछ । त्यो निर्दोष बालसंसार कुनै अवाञ्छित प्रतिस्पर्धी जमातझैँ प्रतीत हुन थालेछ । तिनीहरूले गर्दा नै अफू हास्यपात्र बन्दै गएको भान पर्न थालेछ र आत्मग्लानिले सताइरहँदा पीडाबोध हुँदो रहेछ । आफ्नै दैनिक र नियमित गतिविधिले आफैँलाई लज्जित पार्दै लगेछ । कतिपय भन्न मिल्ने कुरा पनि सुनिदिने साथी नमिल्दो रहेछ । बह पोख्ने पात्र नपाउँदा प्रत्येक दिन ‘ग्लुमी सन्डे’ गीत बनेर उदाउँदो रहेछ ।

रात बोझिलो बन्दै जान थालेछ । निद्रा कम कम हुँदै गएछ । कहिलेकाहीँ रोधी, दोहोरी, सिनेमा गए पनि हुन्थ्यो तर अरूको आँखामा एकाकी, हास्यपात्र बनिने डरले घरिघरि सताइरहने भएछ । मनोरञ्जनका नयाँ नौला प्रविधिहरू स्वयं मनोभञ्जक बन्दा रहेछन् । डान्सबार, मसाज सेन्टरतिर डिलिङ गर्न अलि अप्ठ्यारो लाग्दो रहेछ । बेलुकी घरबाट निस्कनै झ्याउ लाग्ने भएछ । छिप्पिँदै गएको शरीर र शिथिल बन्दै गरेका हातखुट्टाले “त्यता नजाउँ” भन्ने सल्लाह दिएझैँ लाग्न थालेछ तैपनि थारो रोमान्सले बेला कुबेला अतीतमा भोगेका रसरङ्गका सम्झना उग्राएर मनलाई कुतकुत्याउन छाड्दो रहेनछ । बैंसालु बेलामा बितेका अनेकौँ रङ्गीन क्षणको सम्झनाले मस्तिष्कमा तारन्तार फन्का मारिरहन थालेछ । अतीतका अप्राप्ति, अक्षमता र प्रवञ्चनाहरूको रापिलो स्मृतिसरणीले सुनसान मन पोल्दो रहेछ । जुनेली रातमा देही छटपटाउँदो रहेछ । पाएको मिलेको जतिमै सन्तोष गरौँ भन्दै तयार पार्न खाजेको धैर्यको बाँधलाई असन्तोषको बाढीले बेला कुबेला भताभुङ्ग बनाइदिँदो रहेछ । 

दिनचर्याका सामान्य गतिविधिले विसङ्गत बाटो लिएर हैरान पार्ने भएछन् । बाथरुम छिर्छु भन्दा कहिलेकहीँ स्टोरभित्र पसिने रहेछ । दारीमा दल्ने क्रिम यदाकदा झुक्किएर टुथ ब्रसमा पर्दो रहेछ । अनि टुथपेस्ट चाहिँ दारीमा दलिँदो रहेछ । जति ब्रस दल्दा पनि राम्ररी फिँज नआएपछि जिल्ल पर्नुको विकल्प नहुँदो रहेछ । नराम्रो स्वाद जिब्रोमा परप¥याएपछि टुथब्रसमा सेभिङ जेल परेको बल्ल थाहा हुँदो रहेछ । कहिलेकाहीँ हातैको भर नहुँदा नाकका छेउपुछार, मुखका कुना, घाँटी हुँदो छियाछिया बनाइदिन थालेछ दारी काट्ने रेजरले । थोरै मात्र सर्दीगर्मीले पनि धेरै असर गर्न थालेछ । 

दम, बाथ, रुघखोकीको जुलुसले हप्तैपिच्छे सताएर ग्वाँ पार्ने भएछ । शिरमा समान्य सर्दी लाग्दा पनि एकाएक पिनास पल्टिएर महिनौँ थला पर्न थालिएछ । खानपिनमा अलि तलबितल पर्दा पनि पाचन क्रिया गडबडाएर हैरान पार्दो रहेछ । कहिलेकहीँ साधारण लाग्ने रुघाखोकीले पनि असामान्य रूपले दबेटेर महिनौँ ख्वाङख्वाङ, घारघुर पार्न थालेछ । पर्स कता छुट्यो – सम्झना नहँुदो रहेछ । अनि कहिले केटाकेटी त कहिले काम गर्ने नानीमाथि शङ्का उब्जिँदो रहेछ तर केही भनिहाल्न पनि आँट नआउँदो रहेछ । पछि आफ्नै बेचल्तीको खल्तीमा भेट्ता थक्कथक्क र पछुतो लाग्दो रहेछ । धेरै खल्ती हुनुको समस्याले ठट्टा गरेर आजित बनाउन थालेछ । 

उमेरअनुसार नै शरीरका ग्ल्यान्डहरू घटबढ भइरहँदा अर्को हैरानी थपिने रहेछ । प्रोस्टेट बढेर तारन्तार ‘सू’ आइरहने भएछ । जति प्रयास गर्दा पनि राम्ररी ननिख्रिएर बाहिरी पोसाकमा समेत टाटाटुटी देखिँदा लज्जित बन्नुपर्दो रहेछ । थाहा पाउँदा पाउँदै लबस्तरो हुनुबाहेक केही गर्न नसकिने रहेछ । कहिले मोबाइल हराएर हैरान हुने, कहिले हातमा मोजा लिएर अन्त खोजेको खोज्यै बिहान बित्ने, बाहिरतिर डुल्न निस्किँदा पाइन्टको फस्नर लगाउन बिर्सिने अनि सहयात्री र दर्शक हाँसेको पत्तो नपाइने, उल्टै आफ्ना अतीतका साहसी वृत्तान्त र उडन्ते गफमा प्रभावित मान्छेहरू हाँसेको भान परेर गौरवको अनुभव भइरहने – बस् यस्तै यस्तै लाग्दो रहेछ । 

जीवनभर सिकेको सीपले आफ्नै वृत्त सिँगार्नेसम्म जाँगर चल्न छोडेछ । लामो अनुभव बिछ्याउने मन कताकता विरानु संसारतिर उड्न थालेछ । आफ्नै गुणको जगेर्ना गर्ने इच्छासमेत ओइलाएछ । मिडिया संसार देख्तै, सुन्दै दिक्क लाग्ने भएछ । सञ्चार माध्यमहरू असहयोगी बन्दा रहेछन् । बूढेसकाल जनाउने भद्दा विज्ञापनले गिज्याइरहेझैँ लाग्दो रहेछ । धोद्रो बोली, झार्लाङ्गे पाराका लवजको परिहासमा नाचखेल गर्ने जोकरपात्र बन्नुको पीडा पिई नसक्नु तातो तेल लाग्न थालेछ । बूढ्याइँ जनाउने भद्दा अभिनय सुन्दा हेर्दा रेडियो टी.भी.नै फुटाइदिउँजस्तो झर्कोलाग्दो भएछ । लेखपढ गर्ने पुरानो बानी भए पनि समयलाई पक्रिन नसक्दा सोच विशृङ्खल भएर यताउता छरिने, पोखिने रहेछ । 

अल्छी र बासी मनबाट ताजा रचनाहरूको सिर्जना पनि असम्भव लाग्न थालेछ । यता आफ्नै स्तर आफैँ आँक्न नसकिने रहेछ, उता रचना नछापिएको पीडामा रन्थनिएर सम्पादकलाई दोष दिन मन लाग्दो रहेछ । अतीतमा साँढा पल्टिने ‘अहं’ अहिले कुण्ठाको विषपान गरेर दिनदिनै सुकरात बन्न थालेछ । कुनै दिन नामीखाले लेखक हुनुको नाताले थुप्रै पुरस्कार, सम्मान हात लागे हुनन् । अहिले पनि त्यही भ्रम उग्राएर चाटिरहन आनन्द आउने रहेछ । समयले लत्याई सक्यो– साहित्यका विधा, विधि, विधान, भाषा, भाव, विषय । कहाँबाट कहाँ पुगे शैली, विम्ब, प्रतीकका पखेटा कति फटफटाए – आत्मसात् गर्न नसकिने रहेछ । कैयौँ रचनाशील नयाँ लेखक उदाइसके हुनन्, उनीहरूका सिर्जनाको सम्मान गर्नु साटो उल्टो “मै ठीक” रट लगाउँदै आत्मकेन्द्रित बनेर घोक्रो फुलाउने बानी परेछ । आत्मश्लाघाकै एकसुरे राग अलाप्न मजा आउँदो रहेछ । कोही सुधो पाठक भेटिहाले हत्तपत्त बोलाएर आफ्नो रचना सुनाएर बोर गराउने रउस चल्न थालेछ । आफ्ना किताबको चाङै भिडाउँदै र पढिदेऊ, समीक्षा लेखिदेऊ भनेर हत्तु बनाउन मजा लाग्ने रहेछ । अनि पाठकबाट पर्याप्त सम्मान र सौहार्द नपाएको गुनासो पनि सँगसँगै पोख्न मन लाग्ने भएछ । 

बेलाबखत छोइरहने नानाथरि बिमारले तारन्तार झस्काउन थालेछन् । यतिञ्जेल भोग्दै आएको सुनौलो दृश्यसंसार चटक्कै छोडेर अविदिततिर जाने दिन आई नै सक्यो कि भन्ने आशङ्काले थर्कमान बनाउँदो रहेछ । पत्रपत्रिकामाथि परेको पहिलो दृष्टि स्वर्गीयप्रतिका समवेदना– शीर्षक, फोटा अनि तिनको उमेरतिर तानिने भएछन् । ‘व्रह्म सत्यं जगन्मिथ्या’ अध्यात्म दर्शनमा पूरा विश्वस्त बन्न सकिएन छ कि कसो हो ? जीवनको भविष्य नै आधारहीन, अन्धकारपूर्ण र भयावह लाग्ने भएछ । ज्ञान, भक्ति, कर्म कतै कुनै पनि योगसाधनामा आफूलाई समर्पित गर्न नसक्नुको पछुतोले पच्छ्याइरहन थालेछ । आफँैले भ्रम ठानी आएको अध्यात्म चिन्तनमा, बेहोसी अल्छी बन्नुको विवशताले लखेट्न थालेछ । 

“सांसारिक समस्याको जड मृत्यु होइन, मान्छे स्वयं हो” भनेका थिए– हाइडेगरले । त्यति कुरा पनि आत्मसात् गर्न नसक्नुले भित्रभित्रै खोक्रो पार्दै लगेछ । आफैँले पालेपोषेका प्रवञ्चनाहरूले काँतर बनाउँदै लगेछन् । जो भएको नाम, सुनाम, कलत्र, सन्तति, श्रीसम्पत्ति एकाएक छोडेर एक्लै जानुपर्ने आसन्न वियोग–व्यथाले मन तुल्बुलतुल्बुल हुन थालेछ । जाँदा अक्कर, अनकन्टार कस्तो बाटो लाग्नुपर्ने हो, स्वर्ग, नरक केकस्ता ठाउँहरूमा पुग्नुपर्ने हो भन्ने पत्तो नहुनुले सधैँ अवसादग्रस्त बनाउँदो रहेछ । अविदित भविष्यरूपी अन्योलले अन्धो राक्षस बनेर निरन्तर लखेट्तो रहेछ । कुहिराको काग बन्दो रहेछ सोचाइ–समझदारी जति । टाढाटाढाको अज्ञात संसारतिर कावा खाँदै उदास उदास बनेर कता कता हराइँदो रहेछ, रहेछ ।

सधँै सुतिआएको सजिलो ओछ्यान पनि प्रतिदिन झन्झन् असजिलो लाग्न थालेछ । कमलो, नरम विस्तरा उसै पनि बिझाउन थालेछ । कता जाउँ, के गरौँ, के नगरौँको अस्पटी र निसासोले छिनछिनमा चिटचिटे पसिना आउँदो रहेछ । बिनाकारणको अन्त्यहीन छटपटीमा समय बित्ने भएछ । यदाकदा दिनमै ऐंँठन हुन थालेछ । बेला कुबेला यसो आँखा लाग्दैखेरि डरलाग्दा सपना देख्न थालिएछ । भविष्यको अन्योलपूर्ण आँधीले वरपरबाट घेरा हाल्दै दबेट्न थालेछ । अज्ञात, अपरिहार्य र अविजेय असन्न विपदाले हुरी बनेर भीरपहरा हुँदो घचेट्न थालेछ, नेटो कटाएर डाँडापारि हुत्याउन थालेछ । 

खानपिनमा आफ्ना रुचि, अरुचि तथा स्वाद, बेस्वादका विषयहरू पाखा परेछन् । आपूm अलि घामट, अलि ओ¥याहा बन्दै गएको आफैँलाई पत्तो नहुँदो रहेछ । बसउठ गर्दा नयाँ सन्तान र परिवारजनको उपेक्षा मैदलकाँडा बनेर बिझाउँदो रहेछ । उता घरायसी व्यवहारमा आफू चाहिँ कहिलेकाहीँ सामान्य मर्यादा पनि भुल्न थालिएछ तर अरूले पनि त्यसै गरी आफ्नो अदब भुलिदिए लघुता र ग्लानिले आँतमा डढ्यौलो सल्किने भएछ । कहाँ आइयो, के भइयो भन्ने अन्योलको आभासले छिनछिनमा मन कुहिराको काग बन्दो रहेछ । आफैँभित्र कुण्ठित बनेर हराउँदा हराउँदै न राम्रोसँग औडाहा छुट्तो रहेछ । पोख्ने निकास नपाउँदा मनको बह आफैँभित्र उम्लिएर सकस पर्दो रहेछ । अघिसम्म बैंसालु चाँदनी लिएर खेल्ने टहटह जून पनि क्षितिजको डाँडामाथि ओर्लिंदा पहेँलो, निस्तेज बन्दो रहेछ । देख्तै टीठलाग्दो उदास, अशक्त र आफैँजस्तो असहाय लाग्दो रहेछ । बस !