• १२ मंसिर २०८१, बुधबार

नयाँ वर्षमा हाफ म्याराथन

blog

धनगढी समाचारदाता

धनगढी, चैत १८ गते । जेसिज धनगढीले वैशाख १ गते ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ। धनगढी जेसिज वर्ष–२०२३ का अध्यक्ष मोहनराज ओझाका अनुसार खेलकुदको माध्यमबाट युवालाई विकासमा प्रोत्साहन गर्ने उद्देश्यले हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको हो। 

मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार धनगढी जेसिजले २०७१ देखि नयाँ वर्षको दिन ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ। कोरोना महामारी सुरु भएपछि २०७७ बाट यो प्रतियोगिता आयोजना हुन सकेको थिएन। यसपालिको नयाँ वर्षबाट फेरि निरन्तरता दिन लागेको जनाइएको छ। 

म्याराथनको खुलातर्फका विजेताले ५५ हजार ५५५ रुपियाँ पुरस्कार प्राप्त गर्ने छन्। यसैगरी दोस्रो हुनेले ३३ हजार ३३३, तेस्रो स्थान प्राप्त गर्नेले २२ हजार २२२ रुपियाँ पुरस्कार प्राप्त गर्ने म्याराथनका संयोजक मनिष कुँवरले जानकारी दिनुभयो। खुलातर्फको दूरी २१.१ किलोमिटर रहने जनाइएको छ। खुलातर्फका प्रतिस्पर्धीले धनगढी रङ्शालाबाट दौडेर धनगढी बजार हुँदै गेटाको राजश्री फुड उद्योग पुगेर पुनः रङ्गशालामा आउने जनाइएको छ। 

कर्पोरेट/सञ्चारतर्फको पहिलो हुने प्रतिस्पर्धीले पाँच हजार ५५५, दोस्रो हुनेले तीन हजार ३३३ र तेस्रो हुनेले दुई हजार २२२ रुपियाँ पुरस्कार प्राप्त गर्ने छन्। कर्पोरेटतर्फको दौड रङ्गशालाबाट धनगढीको ट्राफिक चौराहासम्म हुने जनाइएको छ। महिलातर्फको पाँच किलोमिटर दौडको पहिलो हुनेले पाँच हजार ५५५, दोस्रो हुनेले तीन हजार ३३३ र तेस्रो हुनेले दुई हजार २२२ रुपियाँ पुरस्कार पाउनेछन्। हाफ म्याराथनमा पाँच किलोमिटरको ट्राइसाइकल दौड पनि रहने र उत्कृष्ट प्रतिस्पर्धीलाई उचित पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ।