भरतपुर समाचारदाता
भरतपुर, चैत १७ गते । लेखक गोपी सापकोटाको नयाँ उपन्यास ‘चिसो बाफ’ सार्वजनिक गरिएको छ। सापकोटाको यो दोस्रो उपन्यास हो। सम्पूर्ण किताब नारायणगढमा बुधबार गरिएको कार्यक्रममा उपस्थित भएका सम्पूर्ण अतिथिले एकै पटक पुस्तक सार्वजनिक गर्नुभएको हो।
कवि एवं समीक्षक ईश्वर कँडेलले उपन्यासमा शारीरिक रूपमा अशक्त महिला र मानसिक रूपमा अस्वस्थ पुरुष पात्रलाई कथावस्तुमा उतारेर आख्यानकारले आख्यानमा प्रयोगधर्मितालाई जोडेको बताउनुभयो। त्यस्तै साहित्यकार गोविन्दराज विनोदीले स्रष्टाको नवीन प्रयोग उपन्यासमा भेटिने बताउनुभयो।
कार्यक्रममा स्रष्टाहरू धनराज गिरी, भूपिन, सूर्यप्रकाश कँडेललगायतले लेखक सापकोटाको लेखनका बारेमा आफ्ना धारणा राख्नुभएको थियो। उपन्यासकार सापकोटाका अनुसार पुस्तक शारीरिक स्वास्थ्य बिग्रँदै गएकी एक युवती र मानसिक स्वास्थ्य बिग्रँदै गएको एक युवकबीचको प्रेम र सम्बन्धको कथा हो। कथानकमा कल्पनाशीलता र संरचनामा नवीन प्रयोग पुस्कतको विशेषता हुन्। आख्यान पढ्ने पाठकलाई यो फरक स्वादको उपन्यास हुनेछ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                