• १२ वैशाख २०८१, बुधबार

ह्विल चेयर ट्रेल निर्माण

blog

बनेपा समाचारदाता

काभ्रेपलाञ्चोक, चैत १७ गते । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१३ स्थित भैँसेपाटीमा ह्विल चेयर ट्रेल निर्माण गरिएको छ। ह्विल चेयर प्रयोगकर्तालाई बनेपाबाटै काठमाडौँ उपत्यका तथा उत्तरतर्फका करिब १४ वटा हिमालको दृश्यावलोकन गराउने उद्देश्यले ह्विल चेयर ट्रेल निर्माण गरिएको हो। 

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका पूर्वप्रमुख उद्धव केसीले भैँसेपाटी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरी अपाङ्गता भएका व्यक्ति तथा ह्विल चेयर प्रयोगकर्तालाई आकर्षण गर्न जिल्लामै पहिलो पटक ह्विल चेयर ट्रेल निर्माण गरिएको बताउनुभयो। 

उहाँले जिल्लास्तरीय पर्यटन केन्द्र बनाउने उद्देश्यले बागमती प्रदेश सरकारको सहयोगमा भैँसेपाटी क्षेत्रको पर्यटकीय गुरुयोजना निर्माण गरी बाँकी रहेको रकमबाट हाललाई आठ सय मिटर ह्विल चेयर ट्रेल निर्माण गरिएको बताउनुभयो। 

उहाँले पर्यटनको गुरुयोजना बनाउन प्रदेश सरकारले यसअघि एक करोड रुपियाँ सहयोग गरेको भन्दै प्रदेश सरकारले ह्विल चेयर ट्रेलसम्म पुग्ने सडकको पहुँच मार्ग निर्माणका लागि दुई करोड रुपियाँ विनियोजन गरेको र उक्त रकमबाट पहुँच मार्ग निर्माण गरिएको केसीले बताउनुभयो। 

उक्त क्षेत्रको पर्यटकीय विकासका लागि एक लाख लिटरको खानेपानी ट्याङ्की, झोलुङ्गे पुल, दर्शन टुप्पोलगायतका संरचना निर्माणको काम गर्न बाँकी रहेको छ। उक्त क्षेत्रको पर्यटकीय विकासका लागि करिब १३ करोड रुपियाँबराबरको गुरुयोजना बनाइएको छ।