• ८ वैशाख २०८१, शनिबार

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै मेला

blog

नवीन शिशिर विक

बागलुङ, चैत १६ गते । बागलुङको बडिगाड गाउँपालिका–४, जलजलाका ६६ वर्षीय गादरे बुढाथोकी चैत्राष्टमी मेला अवलोकन गर्न विगत ४५ वर्षदेखि निरन्तर आउने गर्नुभएको छ। कोरोना कालबाहेकका सबै मेलामा उहाँ उपस्थित हुनुभएको छ। 

बागलुङ बजारस्थित कालिका मन्दिर परिसरमा सञ्चालन हुने ऐतिहासिक मेलामा उहाँ केवल मेलाको दर्शक र मन्दिरको भक्तजन मात्रै भएर आउनुभएको होइन। गाउँमा वर्ष दिनभरि निर्माण गरिएका डाला, नाङ्ला, थुन्सेजस्ता घरायसी सामग्री लिएर बिक्रीका लागि आउनुभएको हो। 

सुरु–सुरुका दिनमा उहाँले ल्याउने बाँस तथा निगालोका सामग्री बिक्रीमा कुनै समस्या थिएन। बडिगाडदेखि बोकेर ल्याउने सामग्री बागलुङ बजारका व्यापारी काठेखोला पुगेर बाटोबाटै खरिद गरेर ल्याउने गर्थे। काठेखोला क्षेत्र बागलुङ बजारदेखि १० किलोमिटरको दूरीमा पर्छ। 

“पहिले खोसाखोस हुन्थ्यो, अहिले बसाबस छ,” चैत्राष्टमी मेलामा घरेलु सामग्री लिएर आउनुभएका बुढाथोकीले भन्नुभयो, “विगतमा जस्तो व्यापार छैन।” अहिले आउने जाने र बस्ने खाने खर्चसमेत जुटाउन कठिन भएको बुढाथोकीको भनाइ छ। घरमा त्यसै बस्नुभन्दा दुई चार रुपियाँको भए पनि बिक्री होला भन्ने हेतुले बडिगाडदेखि घरेलु सामग्री लिएर मेलामा आएको उहाँले बताउनुभयो। भरिया खोज्ने, भारी बनाउने, बाटोमा खानेबस्ने व्यवस्था गर्दा उहाँलाई महिना दिन लाग्थ्यो। बागलुङ कालिका मन्दिर परिसरमा लाग्ने चैतेदशैँ मेलामा उहाँले बुनेका चोयाका सामग्रीको खुब खोजी हुन्थ्यो। 

वर्षभरि निगालोका डाला, नाङ्ला, डोका र भकारी बुनेर बुढाथोकीले वर्षभरिको खर्च व्यवस्थापन गर्नुहुन्थ्यो। उहाँजस्तै आफ्नै श्रमले गुजारा गर्ने गाउँमा धेरै थिए । व्यापार गर्ने थलो थियो चैतेदशैँ मेला। अहिले पहिलेजस्तो मेलामा आउँदा उहाँलाई भरिया खोज्नु पर्दैन। दैलोबाटै सवारीमा डाला/नाङ्ला चढाएर मेलामा आउँदा सुविधा त भएको छ तर परिश्रमको मूल्य उठ्दैन। 

बजारमा सस्तो मूल्यमा पाउने प्लास्टिकका सामग्रीले परम्परागत रूपमा उत्पादन भएका सामग्रीले बजार पाउन थालेको ठेका व्यापारी टेकबहादुर चुँदारको भोगाइ छ। बागलुङ नगरपालिका–१२, अमलाचौर निवासी चुँदारले पनि चैत्राष्टमी मेलामा ठेका बेच्न थालेको दुई दशक भयो। पछिल्लो एक दशकयता काठका ठेकाभाँडा बिक्री हुने दर अत्यधिक घटेको उहाँको भनाइ छ। 

तीस वर्षपहिले ३० देखि एक सय रुपियाँसम्ममा बिक्री हुने डाला÷नाङ्लालाई अहिले चार सयदेखि एक हजार रुपैयाँ पर्छ तर परिश्रमको मूल्य भने नउठ्ने जलजलाका डाला/नाङ्ला व्यवसायी खगेन्द्र विकको भनाइ छ। “विदेशमा दुःख गर्नुभन्दा हस्तकलाको उपयोग गरौँ भन्ने लाग्छ। मूल्य नपाउँदा पलायन हुन मन लाग्ने,” विकले भन्नुभयो, “न हाम्रो सीपको कतैबाट संरक्षण छ, न त बनेका वस्तुको बजार।” यस पटकको चैतेदशैँ मेलाका लागि बागलुङ कालिका मन्दिर परिसर आइपुग्नुभएका उहाँहरू मेलास्थलको एक छेउमा बस्नुभएको छ। खुला आकाशमुनि डाला/नाङ्ला लिएर बस्नुभएका उहाँहरूले छाप्रोसमेत पाउनुभएन। “बिक्री होला–नहोला डाला÷नाङ्लामा सीपको प्रदर्शन गरेर भए पनि जान्छौँ।” राज्यका निकायले स्थानीय सीप र साधनको प्रयोगमा ध्यान नदिएको चुँदाराको गुनासो छ। चुँदाराले एक हजारदेखि १८ हजार रुपियाँसम्मका दारका ठेका बिक्रीका लागि राख्नुभएको छ। मेलामा फलामका भाँडा, नेपाली कागजलगायतका स्थानीय उत्पादनको कम खोजी हुन थालेको व्यवसायीको भनाइ छ।