• ७ वैशाख २०८१, शुक्रबार

लुका सकर विराट गोल्डकपको फाइनलमा

blog

सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै लुका सकर र एपीएफका खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत १५ गते । पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको केरलाको लुका सकर फुटबल क्लबले विराट गोल्डकपको फाइनलमा स्थान बनाएको छ ।

विराटनगरको शहीद रङ्गशालामा मंगलबार राति भएको दोस्रो सेमिफाइनल खेलमा लुकाले डिफेन्डिङ च्याम्पियन एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हरायो । 

निर्धारित र अतिरिक्त समयमा दुवै पक्षबाट कुनै पनि गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । पेनाल्टी सुटआउटमा लुका सकरका गोलरक्षक सनफिर नायक बन्नुभयो ।

उहाँले म्यान अफ दि म्याच घोषित हुँदै ११ हजार रुपियाँ पुरस्कार पनि पाउनुभयो । पेनाल्टीमा उहाँले एपीएफका विशाल स्याङतानको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै एपीएफलाई सुरुआती अग्रता बनाउन रोक्नुभएको थियो ।

यस्तै एपीएफका गोलकिपर राजु नगरकोटी आफैले प्रहार गरेको पेनाल्टी बारमा लागेर बाहिरिए पछि लुकालाई खेल जित्न सहज भयो । 

एपीएफका दीपेश धिमाल र सविन गुरुङले मात्र गोल गर्नुभएको थियो ।  लुकाका लागि चाल्स, मोहम्मद रफी, मोहम्मद असद र पउलले गोल गर्नुभएको थियो ।

क्यामुदिनको प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाउनु भएको थियो । उपाधिका लागि लुका सकरले  घरेलु टोली विराटनगरसँग बिहीबार खेल्नेछ । 

प्रतियोगिताको विजेताले २० लाख १५ हजार रुपियाँ र उपविजेता हुने टिमले १० लाख २५ हजार रुपियाँ प्राप्त गर्नेछ । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपियाँ प्राप्त गर्नेछन् ।