• १३ मंसिर २०८१, बिहिबार

विद्युत सर्टबाट मृत्यु भएकी बालिकाका परिवारलाई एक लाख सहयोग

blog

मृतक बालिकाको अभिभावकलाई नगद सहयोग गर्नुहुँदै तरुण दल सिन्धुपाल्चोकका सभापति सञ्जय लामा । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, चैत १५ गते । 
जुगल गाउँपालिका–३ गुम्बा गाउँमा करेन्ट लागेर मृत्यु भएकी बालिकाको परिवारलाई नेपाल तरुण दल सिन्धुपाल्चोकले आर्थिक सहयोग प्रदान गरेको छ । तरुण दल सिन्धुपाल्चोक सभापति सञ्जय लामाले पीडित परिवारलाई नगद एक लाख पाँच हजार प्रदान गर्नु भएको छ ।

बालिकाको बुबा मिक्मारदोर्जे लामालाई दलका अध्यक्ष लामा, उपाध्यक्ष जितबहादुर थिङ र सचिव निशान लामासहितको टिमले किरियाखर्चस्वरुप सहयोग रकम हस्तान्तरण गर्नुभयो । पीडित परिवारको आर्थिक अवस्था कमजोर छ ।

१४ वर्षीया बालिका नोर्जीवाङ्मु लामाको १५ फागुनमा आलुबारीमा काम गर्ने क्रममा जमिनमा छरिएका नाङ्गो तार छुँदा मृत्यु भएको थियो । बालिकाको शव सदरमुकाम चौतारास्थित अस्पतालको पोष्टमोर्टन कक्षमा एक साता राखिएको थियो । क्षतिपूर्तिको माग गर्दै परिवार र स्थानीयले जिल्ला प्रशासन र विद्युत प्राधिकरण चौतारा वितरण केन्द्रमा धर्नासमेत दिएका थिए । तर, हालसम्म प्राधिकरणले पीडितपक्षलाई कुनैपनि क्षतिपूर्ति दिएको छैन ।

निर्माणाधीन ३५ मेगावाटको सीता हाइड्रोपावर कम्पनीको ड्याम र पावरहाउसको काम गर्न नाङ्गो तारबाट विद्युत लगेको स्थानीयको आरोप छ । कम्पनीको काम गर्न खेतबारीबाट नाङ्गो तार लगेकाले दुर्घटना भएको पीडित पक्षको पनि भनाइ छ । बालिकाको मृत्युपछि आक्रोशित स्थानीयले गाउँ नजिकै रहेको पावरहाउसमा तोडफोड गरेका छन् । तर हाइड्रोपावर कम्पनीले आफ्नो कुनै दोष नरहेको दाबी गरेको छ ।

जुगल–३ का वडाध्यक्ष लक्ष्मण लामा दोङले पीडित पक्ष विपन्न रहेको तर हालसम्म सरोकारवाला निकायले कुनै पनि सहायता नदिएको बताउनुभएको छ ।