• १३ वैशाख २०८१, बिहिबार

एसीसी प्रिमियर कप : नेपाली प्रारम्भिक टोलीको घोषणा

blog

फाइल तस्बिर ।

काठमाडौं, चैत १५ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले वैशाख ५ देखि १८ गतेसम्म काठमाडौंमा आयोजना हुने एसिसी प्रिमियर कप क्रिकेटका लागि २१ सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको छ ।

क्यानले प्रतियोगिताको तयारी र बन्द प्रशिक्षणका लागि बुधबार प्रारम्भिक टोलीको घोषणा गरेको हो । मुलपानी र त्रिवि मैदान कीर्तिपुरमा आयोजना हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरब छ । यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ ।

शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।

क्यानले घोषणा गरेको प्रारम्भिक टोलीमा यू-१९ टोलीका कप्तान देव खनालले पनि स्थान बनाउनुभएको छ । खनालले सात महिनापछि सिनियर टोलीमा स्थान बनाउनुभएको हो । 

एसीसीले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिसकेको छ । तालिका अनुसार नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि मैदानमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ ओमानसँग हुनेछ ।

उक्त खेललाई एकदिवसीय मान्यता समेत रहने छ । नेपालले समूहको तेस्रो खेल वैशाख ११ गते साउदी अरब र चौथो खेल वैशाख १४ गते कतारसँग खेल्नेछ । सेमिफाइनल  वैशाख १६  र फाइनल खेल १७ गते कीर्तिपुरमा हुनेछ । 

नेपालको प्रारम्भिक टोली 

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, सन्दीप जोरा, मौसम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल ।