• १५ वैशाख २०८१, शनिबार

यू–१९ क्रिकेट

नेपाल विश्वकपमा

blog

नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टिम सनसनीपूर्ण प्रदर्शन गर्दै विश्वकपमा पुगेको छ । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपालले स्मरणीय खेल प्रदर्शन ग-यो । 

युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको अन्तिम खेलमा आयोजक यूएईलाई सात रनले पराजित गरी नेपाल शीर्ष स्थानमा रहेर सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू–१९ विश्वकपमा स्थान बनाउन सफल भयो । 

यूएईलाई जितका लागि अन्तिम १८ बलमा ११ रन चाहिँदा स्पिनर दीपेश कँडेलले ह्याट्रिक विकेट हासिल गरी नेपाललाई जित दिलाएका थिए । 

यो जितको जस जति कँडेललाई जान्छ त्योभन्दा बढी प्रशिक्षक जगत टमाटालाई जान्छ । त्यसको कारण हो उनको रणनीति । उनले बनाएको रणनीति नै अन्तिममा काम लाग्यो । 

नेपालको समग्र प्रदर्शन

नेपाल र यूएई दुवैले अन्तिम खेल खेल्नुअघिसम्म समान जित हासिल गरेका थिए । छ टिम सहभागी प्रतियोगितामा नेपालले यूएईसँग खेल्नुअघिसम्म शानदार प्रदर्शन गरेको थियो । त्यसो त यूएई पनि कम थिएन । उसले पनि सबै चार खेल जितेको थियो । यसैले पनि अन्तिम खेल जसले जित्छ उही टिम विश्वकपमा छानिने अवस्था थियो । नतिजा नेपालको पक्षमा आयो । नेपाल यूएईलाई हराएर च्याम्पियन मात्र भएन विश्वकपमै छानियो । 

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रनले हराएको थियो । दोस्रो खेलमा नेपालले कुवेतलाई २४३ रनले हरायो । तेस्रो खेलमा हङकङमाथि नेपालले नौ विकेटले जित हासिल ग¥यो । त्यस्तै चौथो खेलमा नेपालले मलेसियालाई १० विकेटले हराएको थियो । नेपाल पाँच खेलमा १० अङ्कका साथ शीर्ष स्थानमा रह्योे । 

नेपालको विश्वकप यात्रा

१९ वर्षमुनिको टिमलाई राष्ट्रिय टिमको सबैभन्दा बलियो आधार मानिन्छ । त्यही आधार तय गर्ने क्रममा नेपालले यसअघि सात पटक यू–१९ विश्वकपसम्मको यात्रा गरिसकेको छ । विशेषगरी यू–१९ विश्वकपमा देखाएको प्रदर्शनले नेपाली क्रिकेट स्थापित भएको हो । 

आगामी विश्वकप नेपाल सहभागी हुने आठौँ संस्करण हुनेछ । जगत टमाटाकै प्रशिक्षणमा नेपाल तेस्रो पटक यू–१९ विश्वकपमा पुगेको हो । यसअघि उनकै प्रशिक्षणमा नेपाल सन् २०१२ र सन् २०१६ को विश्वकपमा छनोट भएको थियो । यसले पनि प्रमाणित गर्छ कि नेपाली प्रशिक्षकसमेत कम छैनन् । 

नेपाल सात वर्षअघि टमाटाकै प्रशिक्षणमा बङ्गलादेशमा खेल्दा नेपाल दोस्रो चरणमा पुगेको थियो । 

सन् १९८८ देखि सुरु भएको यू–१९ विश्वकपमा नेपालले सन् २००० मा पदार्पण गरेको थियो । नेपालले २००० देखि २०१६ सम्म सात पटक यू–१९ विश्वकप खेलेको थियो । नेपालले २००० देखि २००८ सम्म पाँच संस्करण विश्वकप लगातार खेल्यो । त्यसपछि २०१२ र २०१६ मा यू–१९ विश्वकप खेलेको थियो ।

सन् १९९९ मा नेपाल छनोटको फाइनलमा बङ्गलादेशसँग पराजित भएर पनि विश्वकप खेल्न पाएको थियो । त्यो समय दुई टोलीले विश्वकप खेल्न पाउँथे । नेपालले सन् २००१, २००३, २००५, २००७ को एसीसी यू–१९ कप जितेर नै विश्वकप खेलेको थियो । २०११ मा नेपाल ग्लोबल क्वालिफायरको उपविजेता र २०१५ मा नेपाल ग्लोबल छनोटको विजेता बन्दै विश्वकपमा पुग्यो । 

नेपालले २०१९ को एसिया क्षेत्र छनोटमा यूएईसँग एक रनले पराजित हुँदै दुई विश्वकप खेल्न पाएको थिएन । २०२१ को एसिया छनोट नभएपछि आईसीसीले पछिल्ला पाँच छनोटको नतिजा हेरेको थियो ।

विश्वकपमा नेपालको राम्रो प्रदर्शन भनेको दोस्रो चरणमा पुग्नु हो । सन् २०१६ मा नेपाल दोस्रो चरणसम्म पुगेको थियो । सन् २००६ मा न्युजिल्यान्डलाई हराउँदै प्लेट च्याम्पियन बन्यो । २००८ मा नेपाल प्लेट च्याम्पियनसिपको फाइनलमा वेस्ट इन्डिजसँग पराजित भएको थियो ।

प्रशिक्षकमा भिन्सेन्जो

नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनिस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गत महिना भिन्सेन्जोलाई प्रशिक्षक नियुक्त गरेको थियो ।

३८ वर्षका भिसेन्जोसँग एक दशकभन्दा बढी अवधिको प्रशिक्षण अनुभव छ । भिन्सेन्जोले यसअघि बेलिजको राष्ट्रिय फुटबल टिमको प्रशिक्षक थिए ।

यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक भिन्सेन्जोले भारतीय क्लब गोकुलम केरलालाई दुई पटक आई लिगको उपाधि दिलाए । उनले इन्डियन सुपर लिगमा नर्थ इस्ट युनाइटेडको टोलीसमेत सम्हालिसकेका छन् । सन् १९८४ मा इटालीको बिस्सेग्लीमा जन्मेका उनले सन् १९९९ देखि २००४ सम्म सिनियर टिममा रहेर फुटबल खेले ।

त्यसपछि प्रशिक्षणमा लागेका उनले सन् २०१० देखि प्रशिक्षक भएर काम गर्न थाले । भारतको गुहाटीको इन्डियन सुपर लिग क्लब नर्थ इस्ट युनाइटेडको प्रशिक्षण सम्हालेपछि उनी नेपालको प्रशिक्षण सम्हाल्न आएका हुन् । 

यसअघिका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन थियो ।

रहेनन् फन्टेन 

सन् १९३० देखि सुरु भएको विश्वकप फुटबलको अहिलेसम्म २२ संस्करण मात्रै सम्पन्न भएको छ । जसको एकै संस्करणमा सर्वाधिक गोल गर्ने कीर्तिमान फ्रान्सका पूर्वस्ट्राइकर जस्ट फन्टेनको नाममा रहेको छ । उनै कीर्तिमानधारी फुटबल स्टार फन्टेनको निधन भएको छ । उनले ८९ वर्षको उमेरमा गत महिना अन्तिम सास लिए । 

उनले सन् १९५८ मा स्विडेनमा भएको विश्वकपमा छ खेल खेलेर १३ गोल गरेका थिए । यो नै विश्वकपको अहिलेसम्म एकै संस्करणमा खेलाडीबाट भएको सर्वाधिक गोल हो । उनीपछि सन् १९५४ मा हङ्गेरीका सान्दोस कोस्सिसले ११ गोल गरेका थिए । त्यसपछि सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरले १० गोल गरेका थिए । 

अहिलेसम्म कुनै पनि फुटबल खेलाडीले तोड्न नसकेको कीर्तिमान रचेका फन्टेनले सन् १९५३ देखि १९६० सम्म फ्रान्सका लागि २१ खेल खेल्दै ३० गोल गरेका थिए ।

खुट्टा भाँचिएपछि उनले सन् १९६६ मा २८ वर्षकै उमेरमा सन्न्यास लिएका थिए । खेलाडी जीवनपछि उनले प्रशिक्षकका रूपमा काम गरे । गत मार्च १ मा फन्टेनको निधन भयो ।