• १६ चैत २०८०, शुक्रबार

सम्पदा संरक्षण गर्न उत्सव

blog

तौलिहवा समाचारदाता

तौलिहवा, चैत १५ गते । पुरातात्त्विक सम्पदाको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यले प्राचीन शाक्य गणराज्यको राजधानी कपिलवस्तुमा ‘तिलौराकोट–कपिलवस्तु सम्पदा उत्सव’ आयोजना गरिएको छ। 

पुरातत्व विभाग, लुम्बिनी विकास कोष, युनेस्कोलगायतका संस्थाको संयुक्त आयोजनामा सो उत्सव आयोजना गरिएको हो। भगवान् बुद्धले २९ वर्ष बिताएको कपिलवस्तु क्षेत्र पछि परेको जनाउँदै यसको विकास तथा प्रचारप्रसारका लागि सबै एकजुट भएर लाग्नुपर्ने प्रतिनिधि सभा सदस्य अमृता अग्रहरीले बताउनुभयो। कपिलवस्तुमा सयौँको सङ्ख्यामा उत्खनन गर्नुपर्ने सम्पदा रहेको तर उत्खनन हुन नसकेको लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले बताउनुभयो। प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले कपिलवस्तुमा निकै सुस्त गतिमा उत्खनन हुँदा पुरातात्त्विक सम्पदा विनाश हुने खतरामा रहेको बताउनुभयो। 

कपिलवस्तुको विकासका सवालमा लुम्बिनी विकास कोषले गुरुयोजना तयार पारी केही महिनामा सार्वजनिक गर्ने र त्यसैका आधारमा विकासको गति अगाडि बढ्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताउनुभयो। 

पुरातात्त्विक हिसाबले अन्वेषण गर्नुपर्ने भएकाले विकासमा ढिलाइ भएको उहाँको भनाइ छ। उहाँले तिलौराकोटलाई आगामी सन् २०२४ मा विश्वसम्पदा सूचीमा सूचीकरण गर्न प्रस्ताव पेस गर्ने तयारी गरिएको बताउनुभयो। पुरातात्त्विक विभागका महानिर्देशक दामोदर गौतमले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने र उत्खनन कार्यलाई तीव्रता दिएको बताउनुभयो। कपिलवस्तुमा अझै ठूलो स्केलमा उत्खनन र देखिने गरी काम गर्नुपर्ने खाँचो रहेको उहाँले औँल्याउनुभयो। 

सम्पदा उत्सवमा दुर्हम विश्वविद्यालयका प्रोफेसर डा. रविन कनिङ्घम र पुरातìव विभागका पुरातत्व अधिकृत विष्णु पाठकले पछिल्लो पटक गरेको अनुसन्धान उत्खननबाट तिलौराकोटको विहार क्षेत्रमा बौद्धकालीन अवशेष फेला परेको जानकारी दिनुभयो। सो उत्सवमा थारू हस्तकला र कोहार समुदायले माटोबाट बनाउने विभिन्न सामग्रीको प्रदर्शन, थारू कला संस्कृति प्रदर्शन तथा विभिन्न नृत्यसमेत प्रस्तुत गरिएको थियो।