• १६ चैत २०८०, शुक्रबार

'प्रेमा' आफैँमा रङ्गीन र रोमाञ्चक छ : निर्देशक भण्डारी

blog

काठमाडौं, चैत १४ गते । आधा दर्जनभन्दा बढी फिल्ममा सह-निर्देशकको रूपमा काम गरिसक्नुभएका निर्देशक गोविन्द सिंह भण्डारीको पहिलो लेखन हो फिल्म 'प्रेमा' । निर्देशक भण्डारीको लेखनका हिसाबले ‘प्रेमा’ पहिलो फिल्म भएपनि प्रदर्शन र निर्देशनकाे हिसाबले पहिलो फिल्म ‘रणवीर’ हो ।

निर्देशक भण्डारी भन्नुहुन्छ, "फिल्म 'प्रेमा' प्रेम कथामा आधारित छ । फिल्ममा गाउँबाट काठमाडौं पसेकी एक पात्रले जीवन यापनका लागि गर्नु परेको सङ्घर्ष र नयाँ वातावरणमा आफूलाई ढाल्नका लागि गरेको मिहिनेत, आकर्षण र माया देख्न सकिन्छ ।"

निर्देशक भण्डारीका अनुसार नेपाली गीत सङ्गीतमा धेरै 'माया' शब्दको प्रयोग हुनेगर्छ । त्यस्तै साउथ तेलुगु चलचित्र क्षेत्रमा मायालाई 'प्रेमा' भन्ने चलन छ जुन शब्दले मलाई निकै प्रभावित बनायो । त्यसैले फिल्मको र्शीष पात्रको नाम 'प्रेमा' रहन गयो ।" 

"प्रेमकथाले दर्शकलाई रोमाञ्चक बनाउने र मान्छेलाई जोड्ने काम गर्छ," भण्डारी भन्नुहुन्छ, "‘प्रेमा’ वास्तविक व्यक्तिबाट प्रभावित भएर लेखिएको थियो । मैले कुनै समयमा एक युवती भेटेको थिए, जोबाट म प्रभावित भएर मैले ‘प्रेमा’ लेखेँ । यो कथा मैले हेद्राबादमा हुँदा लेखेको हो ।" 

भण्डारीले प्रेमाको वास्तविक चरित्र जुन युवतीमा पाउनुभयो त्यो चरित्रलाई समातेर आफू अघि बढ्न सक्छु भन्ने उहाँलाई महसुस भएको बताउनुहुन्छ । किनकि प्रेमा पात्र साधारण भएरपनि उसमा अरूलाई आफूतिर आकर्षित गर्ने क्षमता रहेको उहाँ सम्झिनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “प्रेमा पात्र आफैँमा शान्त र सुशील व्यक्तित्व हो । प्रेमा शब्द आफैँमा रङ्गीन र रोमाञ्चक छ । मलाई त्यो चरित्रलाई लिएर कथा भन्न मन थियो । मान्छेको जीवनमा केही घटना यस्ता हुन्छन् जुन उसले कहिल्यै बिर्सन सकिँदैन । प्रेमाको कथा पनि त्यस्तै घटनाबाट प्रभावित भएर लेखिएको हो ।’

निर्देशक गोविन्द डोभ एस-सिमेन्सबाटसमेत आफू प्रभावित भएको बताउनुहुन्छ । उहाँ भारतमा बस्दा हलिउड फिल्म निर्देशक डोभ–एस सिमेन्सको बारेमा आफूले पढेको सम्झिनुहुन्छ ।

डोभ चिनियाँ फिल्म एकेडेमीका संस्थापक, हलिउड फिल्म इनिस्टिच्युटका संस्थापक र ग्लोबल फिल्म स्कुलका डिन तथा संस्थापक हुनुहुन्छ । डोभ एस–सिमेन्सले टु डे फिल्मस् स्कुलमा सञ्चालन गरेको प्रशिक्षणको भिडियो कोर्षलाई अनलाइनमा हेरेर फिल्म मेकिङ सम्बन्धि प्रशिक्षणसमेत लिनुभएको थियो ।

यस्तै, गीतलाई कोरियोग्राफी, एक्सनलाई फाइटमास्टर राखिदिँदा निर्देशकको काम हराउने कारण कथावाचनको शैली राम्रो हुनुपर्ने सिमेन्सको सुझाव छ । यसरी चरित्र र सिमेन्सको भनाइलाई ध्यानमा राखेर प्रेमा लेखेको निर्देशक भण्डारी बताउनुहुन्छ ।

यसबाहेक 'प्रेमा' कथाले जीवनमा सही समयमा सही निर्णय लिसक्नुपर्छ र समयसँग लड्ने क्षमता राख्नुपर्छ भन्ने सन्देश दिन खोजेको निर्देशक भण्डारी बताउनुहुन्छ । यस्तै, फिल्मको स्क्रिनप्ले दर्शकको लागि नयाँ हुनसक्छ । 

आगामी चैत १७ बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म प्रेमामा शुभेक्क्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्रीको प्रमुख भूमिकामा अभिनय छ । फिल्मको तेलुगु, तमिल र हिन्दी भर्सन ओटीटीमा रिलिज हुनेछ ।