• १४ वैशाख २०८१, शुक्रबार

पार्किङका लागि निर्माण गरिएको काठमाडौं भ्यू टावर वैशाखबाट प्रयोगमा ल्याइने

blog

काठमाडौं,चैत्र १४ गते । काठमाडौंको पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं भ्यू टावर नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । 

काठमाडौं महानगरमा रहेको सवारी पार्किङको समस्यालाई समाधान गर्नका लागि निर्माण गरिएको उक्त टावर निर्माण कार्य जारी रहेपनि नयाँ सालबाट सञ्चालनमा ल्याउने तयारी भएको महानगरले जनाएको छ । 

काठमाडौं महानगरका सार्वजनिक निजी साझेदारी इकाई संयोजक महेश काफ्लेका अनुसार टावरको काम १२ तल्लासम्म सम्पन्न भएको छ । भौतिक संरचनाको काम सकिएर रंगरोगन गर्न बाँकी रहेपनि तल्लो तीन तल्लामा पार्किङ गर्न मिल्ने भएकाले खुल्ला गर्न लागिएको  काफ्लेले बताउनुभयो । पार्किङको लागि बनाइएको टावरमा दुई तल्ला अण्डरग्राउण्ड रहेको छ । 

उहाँले भन्नुभयो, “१२ तल्लो भौतिक संरचना निर्माणको काम पूर्ण रूपमा सम्पन्न भएको छ । तर केही रंगरोगन कार्य बाँकी नै रहेकाले तत्काललाई तल्लो तीन तल्लामा पार्किङ गर्न सकिने गरी व्यवस्थापन मिलाइएको छ ।”

आगामी वैशाखदेखि तीन तल्लालाई पार्किङको लागि खुल्ला गरेर बिस्तारै अन्य तल्लाहरू पनि पार्किङका लागि खुल्ला गर्दै लगिने उहाँको भनाइ छ । 

थप १२ तल्लाका लागि अध्ययन  

टावरलाई अझै १२ तल्ला थप गरी २४ तल्लाको बनाउनका लागि पुनः अध्ययन भइरहेको उहाँले बताउनुभयो । सुरुमा यस टावर २९ तल्लाको बनाउने सम्बन्धमा सम्भाव्यता अध्ययन भएको थियो । तर पछि भूकम्प गएपछि २९ तल्लाको टावर बनाउन नसकिने भएकाले यसको डिजाइन नै परिवर्तन गरेर १२ तल्लाको बनाइएको हो । 

“२०६८/०६९ सालमा यसको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तयार गरेर काम सुरु भएको थियो ।उक्त समयमा २९ तल्लाको डीपीआर स्वीकृत भएर काम सुरु भएको थियो । पछि २०७२ सालमा भूकम्प आएपछि यसको डिजाइन परिवर्तन गरी १२ तल्लाको बनाउने सहमति भएअनुसार काम भएको हो,”उहाँले भन्नुभयो ।  

अहिले निर्माण भएको १२ तल्लाको अध्ययन गर्नका लागि पुलचोक क्याम्पसलाई जिम्मा दिइएको काफ्लेले जानकारी दिनुभयो । पुलचोक क्याम्पसले सकारात्मक प्रतिवेदन दिए अझै १२ तल्ला थपिने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “१२ तल्लाको अध्ययन, अनुसन्धान गर्न पुलचोक क्याम्पसलाई जिम्मा दिइएको छ । उक्त प्रतिवेदन सकारात्मक आएको खण्डमा १२ तल्ला थप हुनेछ ।” काठमाडौं महानगरभित्र २४ तल्लासम्म बिल्डिङ बनाउन पाउने प्रावधान भएकाले अध्ययनले सकारात्मक प्रतिवेदन दिएको खण्डमा अझै १२ तला थपिने उहाँको भनाइ छ । 

काफ्लेले भन्नुभयो,“पुरानो बसपार्कमा बन्दै गरेको टावरको १२ तल्ला निर्माण कार्य सम्पन्न भइसकेको छ । अझै थप १२ तल्ला थप्न सकिने विषयमा अध्ययन भइरहेको छ । अध्ययनले प्रतिवेदन सकारात्मक दिए काम अघि बढाउनेछौँ ।” 

२०७४ सालमा निर्माण कार्य सुरु भएको यस बिल्डिङको सुरुको लागत दुई अर्ब रहेको थियो । यदि अव १२ तल्ला थपेको खण्डमा लागत भने बढ्ने उहाँको भनाइ छ ।

 “अबको डिजाइनमा लागत पनि बढ्ने छ,”उहाँले भन्नुभयो, “पहिले डिजाइन भएको भ्यू टावरको लागि दुई अर्ब रकम छुट्याइएको थियो । अव सबै सामग्रीहरूको मूल्य बढेकाले अव माथि तल्ला थप्ने निर्णय भए लागत बढेर सात अर्बको हाराहारीमा पुग्छ ।” यस टावरको निर्माण जलेश्वर स्वछन्द निर्माण कम्पनीले गरेको छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।