• १० पुस २०८१, बुधबार

डढेलो निभाउन भएन पहल

blog

रवीन्द्र उप्रेती 

बर्दिबास, चैत १० गते । केही दिनको वर्षाले नियन्त्रणमा आएको वन डढेलो मौसममा सुधार हुनासाथ फेरि सुरु भएको छ। वर्षाले जोगाएको वन क्षेत्रबाट आगोको मुस्लो दन्कँदै गएको छ। धुवाँको मुस्लोले आवागमन ठप्प बनाएको छ। 

बर्दिबास र गौशाला नगरपालिकाको दोसाँधमा रहेको गढन्तानजिकको जङ्गलमा बुधबार अपराह्न दन्केको डढेलोले माईस्थान, गौशाला, समसी सडक आवागमन करिब एक घण्टा अवरुद्ध भएको थियो। गढन्ता खोला छेउबाट उठेको धुवाँको मुस्लो र दन्केको डढेलोले सडक आरपार गर्न कठिन भएपछि सडक यात्रु आगो कम हुने प्रतिक्षामा देखिन्थे। 

डढेलो लागेको दुई सय मिटरको दुरीमा गढन्ता सबडिभिजन वन कार्यालय, प्रहरी र ट्राफिक प्रहरीको बिट छ तर नियन्त्रणमा कसैले चासो नदेखाउँदा डढेलो अनियन्त्रित हुँदै गएको हो। एउटै वनको दक्षिणतिर सागरनाथ वन विकास परियोजना र उत्तरतर्फ सरकारी वन भएकोले जिम्मेवारी लिन एकले अर्कालाई देखाउने गर्दा पनि डढेलो नियन्त्रणमा सकस भएको छ। परियोजनाका व्यवस्थापक रामकिशोर यादवले आफ्नै वन क्षेत्रमा डढेलो लागेको बारे अनभिज्ञता देखाउनुभयो। उहाँले भन्नुभयो, “म अहिले जङ्गलमै छु, तर कहाँ डढेलो लागेको हो थाहा छैन, बुझेर भन्छु।”

डढेलो लागेको क्षेत्र नजिकै परियोजनाको स्टिल टावर पनि छ। त्यहाँ आधा दर्जनभन्दा बढी कर्मचारी रहेको जनाइएको छ। तै पनि नियन्त्रणमा कसैले चासो देखाएका छैनन्। डिभिजन वन प्रमुख सन्तोष झाले डढेलो भनेको वनको प्रकोप भएकोले यसको नियन्त्रणमा सबै जुट्नु पर्ने बताउनुभयो। गढन्ता सबडिभिजन कार्यालयका जनशक्ति रातभरको वन गस्तीबाट थकित भएर आएकाले आराम गरिरहेको उहाँले बताउनुभयो।  माईस्थान सबडिभिजन वन कार्यालयका प्रमुख कृष्णकुमार पटेलले परियोजनाका कर्मचारीलाई डढेलोबारे जानकारी गराइ सकिएको बताउनुभयो। डढेलो केही कम भए पनि अझै नियन्त्रणमा आउन नसकेको जनाइएको छ।