• १४ वैशाख २०८१, शुक्रबार

‘व्यापारघाटा कम गर्न नसके आर्थिक समृद्धि आउँदैन’

blog

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ९ गते । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको व्यापारघाटा कम गर्न नसकेसम्म आर्थिक समृद्धि आउन नसक्ने बताउनुभएको छ । नेपाल-इटली उद्योग वाणिज्य सङ्घको कार्यक्रममा बिहीबार मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो । 

उहाँले देशमा सुशासन कायम गर्न नसके, पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न नसके र व्यापारघाटा कम गर्न नसके समृद्धिको जतिसुकै नारा लगाए पनि देशको अर्थतन्त्र चलायमान हुन नसक्ने दाबी गर्नुभयो । 

अर्थतन्त्रको गतिलाई अघि बढाउन र समृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नरहेको उहाँको भनाइ छ । नेपालको धेरै ठूलो व्यापारघाटा रहेको उल्लेख गर्दै व्यापारघाटा घटाउन उत्पादनको वृद्धि, आयात प्रतिस्थापनद्वारा आयात नियन्त्रण र निर्यात प्रवर्धन गर्न जरुरी रहेको उहाँले बताउनुभयो । 

मन्त्री श्रेष्ठले ऋणको ब्याजदर अहिले धेरै नै बढेको भए पनि व्यापारमा ठोस निर्णय गरेर कार्यान्वयन गर्ने बिन्दुमा सरकार नरहेको बताउनुभयो । नेपाल र इटलीबीचको कूटनीतिक सम्बन्धलाई नागरिकस्तरमा विकास गर्दै दुई मुलुकबीच एक अर्काका उत्पादन आदानप्रदान गर्ने र नेपालमा इटालीका पर्यटक भित्र्याउने काम गर्नुपर्ने उहाँको भनाइ छ ।

नेपालले इटलीमा वार्षिक १ अर्ब १४ करोडको सामान निर्यात गर्नेगरेको र इटलीसँग नेपालको व्यापारघाटा २ अर्ब ९६ करोड रुपियाँ रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।