• ७ चैत २०८२, शनिबार

कैलाश घुमेर दसौँ दिनमा घर

blog

पशुपतिनाथको दर्शनपश्चात् यात्रा मिलाइएको थियो । २०८२ जेठ २४ बिहान मानसरोवर कैलाश यात्राका लागि घरबाट निस्कियौँ– हामी अर्थात् बुढाबुढी । 

बिहानको मौसम भएकाले चिसो हावा, बागमतीको कलकल आवाजले मन साह्रै प्रफुल्लित थियो । यात्रा सम्झेर मनमा उत्साह बढ्दै गयो । पशुपतिनाथ क्षेत्र पार गर्दै चाबहिल, माछापोखरी हुँदै टोखा बजार पुग्दा तीर्थालु बोकेको अर्को बस आइपुग्यो । अब हामी दुई वटा बसमा करिब ४०/४५ जना जति तीर्थालु मानसरोवरका लागि अघि बढ्यौँ ।

टोखाको बाटो हुँदै बस अघि बढ्दै गयो । बिहानको समय सडकको दुवैतर्फ प्राकृतिक मनोरम दृश्यको आनन्द लिँदै गन्तव्यतर्फ बढ्न थाल्यौँ । सडकको दायाँबायाँ मकैबाली देखिन्थ्यो । कतिपय स्थानमा चैतेधान मनै लोभ्याउने गरी झुलिरहेको देखिन्थ्यो । नुवाकोटको विदुरमा खाना खाएपछि बेत्रावती, रसुवाको कालिकास्थान, राम्चे, धुन्चे हुँदै रसुवाको स्याँफ्रुबेँसीमा पहिलो बास बस्यौँ । भोलिपल्ट करिब दुई घण्टाको चुनौतीपूर्ण सडक पार गर्दै भोटेकोशीको किनारैकिनार हुँदै रसुवागढी नाकामा अवस्थित नेपालको अध्यागमन कार्यालयमा पुग्यौँ तर नेपालको अध्यागमन कार्यालय धेरै अव्यवस्थित रहेछ । मुख्य गरेर जनशक्ति र भौतिक संरचना ज्यादै कमजोर अवस्थामा रहेछन् । यसमा पनि उक्त कार्यालयको व्यवस्थापकीय कमजोरी ज्यादै नै लाजलाग्दो स्थितिमा देखियो । करिब तीन घण्टाको पर्खाइपछि मात्र राहदानीको अभिलेखीकरण तथा भिसामा छाप लाग्ने काम भयो । 

रसुवागढीको मितेरी पुलतर्फ हामी लाग्यौँ । मितेरी पुलमा चीनको अध्यागमन पार गर्न लाइनमा बस्नुपर्ने रहेछ साथै जाँचको समयमा आफूले लगाएको चस्मा तथा क्याप खोल्नुपर्ने जानकारी चिनियाँ सुरक्षाकर्मी प्राप्त भयो । अध्यागमन कक्षमा बायोमेट्रिक र राहदानीको अभिलेखीकरणपछि आफ्नो सामान जाँच गराउँदै उक्त स्थानबाट बाहिर निस्कियौँ । अब हाम्रो यात्रा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ अघि बढ्ने गरी तय भयो । यसै कार्यलाई सहजीकरण गर्न नेपालको एजेन्सीले नै पूर्ववत् व्यवस्था गरिसकेकाले तिब्बती गाइडले हाम्रो समूहमा रहेका सबै यात्रुलाई तीन वटा छुट्टाछुट्टै बसमा राख्ने व्यवस्था मिलाएको रहेछ । सोही अनुरूप हामी बसमा केरुङतर्फ लाग्यौँ । केरुङतर्फको यात्रा पनि थप अविस्मरणीय नै रह्यो । यसमा मुख्य गरेर केही समय नदीको किनारैकिनार जानुपर्ने रहेछ । त्यसपछि बिस्तारै पहाडको बाटो आउने रहेछ । करिब तीन घण्टाको यात्रापश्चात् ७ बजेतिर दोस्रो दिन करिब एक हजार ८९६ मिटर उचाइमा अवस्थित केरुङ सहर पुगियो ।

केरुङ पुगेपछि आआफ्नो कोठाको साँचो लिई कोठामा आराम गरियो । केही समयपछि बाहिर केही आवाज आएको महसुस भयो । उक्त आवाज तिब्बतीले गरेको नाचगान र रमाइलो रहेछ । हामी पनि उक्त रमाइलोको आनन्द लिन त्यसतर्फ गयौँ । यसमा मुख्य गरेर तिब्बती संस्कृति र संस्कार अनुसारको नाचगान रहेछ । यस नाचगानमा सबै उमेर समूहका केटाकेटी, अधबैँसे, तरुणतरुणी, बुढाबुढी नाचगान गर्दै आनन्द लिने परम्परा रहेछ । 

भोलिपल्ट आफू सुतेकै कोठाबाट बिहान करिब ५ बजेतिर झ्यालको पर्दा खोली हेर्दा झ्यालनजिक हिमाल देखियो । उक्त क्षणलाई मोबाइल क्यामरामा कैद गर्दै हिमालको सुन्दरतालाई नजिकबाटै अनुभव गर्ने अवसर प्राप्त भयो । सोही दिन बिहानको ९ बजेतिर मानसरोवरका निम्ति पुनः यात्रालाई निरन्तरता दियौँ । केरुङ सहरबाट करिब एक घण्टाको यात्रापछि अति नै प्राकृतिक मनोहर भएको स्थानमा बस रोकियो । उक्त स्थानमा ठुलो झरना रहेछ, झरनामा जानका लागि भ¥याङसमेत बनाइएको रहेछ । सबैले त्यस ठाउँको दृश्यलाई आआफ्नो क्यामरामा कैद गरे । यात्राका क्रममा नै तिब्बतको करिब चार हजार छ सय मिटरमा अवस्थित साँगा भन्ने सहर पुग्यौँ । प्रायः धेरै जना त्यही सहरमा बास बस्ने रहेछन् । हामीलाई चाहिँ करिब चार हजार ४२५ मिटरमा अवस्थित ‘न्यु डेजु’ भन्ने सहरमा तेस्रो दिनको बास बस्ने गरी व्यवस्था गरिएको रहेछ । 

‘न्यु डेजु’ सहरमा पुगेपछि चिसो बढेको अवस्था रह्यो । साथै टाउको दुख्ने, केही वाकवाक आउने र बोल्न मन नलाग्ने लक्षण देखा पर्न थाल्यो तर लसुनको सुप र तातोपानी तथा सिटामोल खाएपछि दुःखाइ केही कम भयो । चौथो दिनको यात्रा बिहानबाटै सुरु गरियो । चौथौ दिनको यात्रा मनसरोवरतर्फ रह्यो । त्यस दिनका यात्रा झन् रोचक रह्यो किनकि 

‘म्यायम पास’ मा रहेको टनेलबाट यात्रा गर्न पाइयो । दिउँसो प्याकिङ गरेको खाना मनमोहक नदीको किनारामा बसेर खाने अवसरसमेत मिल्यो । 

मानसरोवरमा पुगेपछि जलस्नान गरी अद्वितीय प्राकृतिक छटा र अनुपम सौन्दर्य बोकेको कैलाशतिर हेर्दै आस्थाका फूल चढाई यात्रा सफल रहोस् भन्ने प्रार्थना गरी आफ्ना मनका कुरासमेत प्राप्तिको कामना गरियो । समुद्री सतहबाट चार छ सय मिटरको उचाइमा रहेको यो मानसरोवर सिन्धु, सतलज, ब्रह्मपुत्र र कर्णाली नदीको उद्गम स्थल पनि रहेछ । करिब ३२० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको मानसरोवर करिब एक सय मिटर गहिरो शुद्ध पानीको ताल रहेछ । यो विशाल ताल मुचु, नाइमु, रिरी, लिमी लाप्चा, बासेजुली, सिङकुङ, गजेलाङ्वा जस्ता पहाडको हिउँ पग्लेर बनेको रहेछ । 

कैलाशपति महादेवले राजहंसका रूपमा यही तालमा जलक्रीडा गरेको धार्मिक जनविश्वास रहिआएको छ । कैलाश पर्वतका चार वटा पाटामा अलग अलग समयमा अलग अलग आकृति र रङ देखिने रहेछन् । वास्तवमा सृष्टिकालमा ब्रह्माजीले आफ्नो मनले बनाएको हुनाले मानसरोवर भनिएको र राजा मान्धाताले पत्ता लगाएको हुनाले उनैको नामबाट मानसरोवर नाम राखियो भन्ने चलन पनि रहेछ । पहिला विष्णु शेष शय्यामा रहँदा यही तालमा बसेका, यसैलाई छिरसागर भनिने र महादेव, पार्वती, विष्णु र ब्रह्माजी स्वर्णरूपी हाँस भएर जलविहार गरेर उनीहरूको चुच्चाले चार दिशाबाट चार वटा नदी प्रवाहित गरेको कथा पनि रहेछ । मानसरोवरनजिकै रहेको २२४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको राक्षसतालको अवलोकन बसबाटै गरियो । भोलिपल्ट पाँचौँ दिन बिहानै स्नान गरी सबै पितृको उद्धारका लागि मानसरोवरमा श्रद्धा गरेपश्चात् करिब चार हजार ६६० मिटर उचाइमा अवस्थित दार्चेन सहरतर्फ अघि बढ्यौँ । दार्चेन सहर कैलाश पर्वत जाने मुख्य केन्द्र रहेछ । यस केन्द्रमा कैलाश पर्वतको परिक्रमा अर्थात् तिब्बतीय भाषामा ‘कोर्रा’ परिक्रमा गर्न नस्कने यही बसेर अरू साथीलाई पर्खने रहेछन् ।

काठमाडौँबाट हिँडेको छैटौँ दिन दार्जेनबाट कैलाश परिक्रमा गर्ने कार्यको तय भयो । कैलाश परिक्रमा गर्दा करिब पाँच सय ६३० मिटरको उचाइमा रहेको डोल्मा पास गर्नुपर्ने भएकाले त्यसतर्फको यात्रालाई स्थगन गरियो । तथापि हामीमध्येका केही साथी त्यसतर्फ लागे तर हामी चार सय नौ सय मिटरमा अवस्थित यामद्वारसम्म गई उक्त यामद्वारमा पुनः पितृको उद्धारका लागि सबै पितृको तस्बिर सोही यामद्वारमा राखी आस्थाका फूल ब्राह्मण वाचनमार्फत चढाउने अवसर प्राप्त भयो । पुनः दार्चेन सहरमा नै कैलाश परिक्रमा गर्ने साथीलाई पर्खेर बसियो ।

हिन्दु, बौद्ध, बोन र जैनको आस्था र विश्वासको केन्द्रका रूपमा रहेको पवित्र कैलाश पर्वत र मानसरोवर यात्रा महत्वपूर्ण र आकर्षण रह्यो । सुन्दर तिब्बती पठारमा वरिपरि पहाडले घेरेको समथर मैदानमा चौँरीगाई तथा भेडा चरिरहेका देख्दा मन ज्यादै आनन्दमय रह्यो । 

काठमाडौँबाट टिमुरे, दोस्रो दिन टिमुरेबाट केरुङ, तेस्रो दिन केरुङबाट साँगा र चौथो दिन साँगाबाट मानसरोवर पुगिने रहेछ । पाँचौँ दिन मानसरोवरबाट दार्चेन, छैटौँ दिन दार्चेनबाट बस चढी करिब सात किलोमिटर पर यमद्वार पुगिन्छ । कैलाश कोर्रा वा परिक्रमा गर्न नचाहनेहरू यहीँबाट तीन पटक परिक्रमा गरी फर्किएर दार्चेन बस्ने रहेछन् । परिक्रमा गर्नेहरू यमद्वारबाट देरापुक चार हजार नौ सय मिटरतिर लम्कन्छन् । कतिपय असमर्थ यात्रु देरापुकबाट पनि दार्चेन फर्कन्छन् । हुन त देरापुकबाट डोल्माला पाससम्म घोडामार्फत जान सकिन्छ । यसका निम्ति ८० हजार रुपियाँ जति लाग्दो रहेछ । सातौँ दिन देरापुकबाट दार्चेनतर्फको बाटो हुँदै दुई उकालो नाघेपछि डोल्माला पाँच हजार ६३० मिटरको सर्वाधिक उचाइ पार गरी गौरीकुण्ड दर्शन गरी जुधुलपुक चार हजार ७९० मिटरमा आइने रहेछ । आठौँ दिन जुधुलपुकबाट चार/पाँच घण्टा बसमार्फत दार्चेन हुँदै साँगा र क्रमशः केरुङ भई १० औँ दिन नेपाल फर्किन सकिने रहेछ ।

अन्त्यमा

जीवनमा मानसरोवर कैलाशको यात्रा गर्नु अति उत्तम हुने रहेछ भन्ने अनुभव बटुलेर घर फर्कियौँ ।