• १५ चैत २०८०, बिहिबार

जलवायु परिवर्तनसँग जुध्न प्रभावकारी कदम चाल्न विज्ञको सुझाव

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवा

 काठमाडौं, चैत ९ गते । वातावरणीय प्रभावका असरहरू नेपालमा द्रुतगतिमा देखिन थालेको भन्दै विज्ञहरूले सरकार र निजी क्षेत्रले यसको नियन्त्रणमा हातेमालो गरेर अघि बढ्नु पर्ने बताएका छन्।

प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाको सचिवालयले बिहीबार राजधानीमा आयोजना गरेको ‘जलवायु परिवर्तन : प्रभाव र विश्वव्यापी प्रतिक्रियाहरू’ सम्बन्धी अन्तरक्रियामा बोल्दै यस क्षेत्रका विज्ञहरूले वातावरण प्रभावको रोकथाममा चनाखो हुनुपर्ने समय आएको बताएका हुन्।

कार्यक्रममा बोल्दै डा. देउवाले जलवायु परिवर्तनको मुद्दा तत्काल सम्बोधन गर्नुपर्ने मुद्दा भएको बताउँदै तत्काल अन्ताराष्ट्रियय समुदायसमक्ष आवाज उठाउनु पर्ने बताउनु भयो । 

उहाँले जलवायु परिवर्तनमा नेपालको विधिहरू वातावरणमैत्री नै भए पनि अझै धेरै काम भने गर्न बाँकी रहेको छ भन्नुभयो । डा. देउवाले भन्नुभयो, ‘‘हामी जलविद्युतमा उदाहरणीय छौ‘, जलवायु परिवर्तनका बारेमा सार्वजनिक सचेतना फैलाउने काम हामीले तत्काल सुरु गर्नुपर्ने छ । यसका लागि राजनीतिक दल, सञ्चार माध्यमलगायत सबैले हातेमालो गरेर अघि बढ्नु पर्छ।’’

डा. देउवाले हामीले खानपिन, यातायात र विकासको मोडललगायतका क्षेत्रमा तत्काल सुधार गरेर वातावरणमैत्री बनाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो । ‘वातावरण र वन मन्त्रालय मात्रै होइन, सबै मन्त्रालयले वातावरणमैत्री नीति अवलम्बन गर्नुपर्छ‘, ‘‘तपाईँहरू सबै सांसदज्यूहरूलाई म अनुरोध गर्न चाहन्छु, स्थानीय र प्रदेश सरकारले जलवायु परिवर्तनका क्षेत्रमा के काम गरिरहेको छ ? त्यसमा हामीले वाचडकको काम गरौँ ।’’

वातावरणविद् डा. माधव कार्कीले जलवायु परिवर्तनको पछिल्लो विश्व रिर्पाटले धेरै सचेत हुनुपर्ने सन्देश दिएको बताउनु भयो ।

वातावरणविद् डा. माधव कार्कीले  ‘पेरिस सम्झौताले अनुमान गरेकोभन्दा धेरै छिटो विश्वको तापक्रम बढेको छ । यसले धेरै ठूलो असर गर्न सक्ने अनुमान वैज्ञानिकहरूले गरेका छन्, हिमालयको परिवर्तन बढ्दै गएको छ, यसले हाम्रा हिम नदिहरु सुक्दै जाने र जलविद्युत परियोजनामा पनि असर पुग्न सक्छ ।’’

‘काठमाडौं विश्वकै प्रदूषित सहरको रूपमा विभिन्न प्रतिवेदनमा उल्लेख भएको छ’, डा. कार्कीले भन्नुभयो, ‘‘यसको मुख्य कारण काठमाडौं उपत्यकामा सवारी साधनहरूले फाल्ने कालो कार्बन र मिथेनले हो, त्यसैले ग्रिन इनर्जितर्फ जानुपर्छ  ।’’

डा. कार्कीले ईपीसीसीको भर्खर सार्वजनिक भएको रिपोर्टले पेरिस सम्झौताले अनुमान गरेकोभन्दा निकै द्रुतगतिमा विश्वको तापक्रम बढेको देखाएको बताउँदै नेपालले पनि त्यसका आधारमा वातावरणीय प्रभावका क्षेत्रमा काम गर्नुपर्ने बताउनु भयो । उहाँले सरकार र निजी क्षेत्रको साझेदारीमा वातावरणीय प्रभावका रणनीति र कार्यक्रमहरू अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।

रुढुक नेपालका राष्ट्रिय निर्देशक डा. कृष्णकुमार श्रेष्ठले नेपालमा वातावरणका जोखिमहरुका विषयमा धारणा राख्दै अनियमित पानी पर्ने, दिउँसोको तापमान बढ्दो र रातीको तापमान घट्दो छ, यसले कृषि उत्पादनमा असर गरेको चर्चा गर्नुभयो । 

रुढुकले प्रकोपको पूर्वतयारी मार्फत जलवायु परिवर्तनका प्रभावहरूसँग लड्ने परियोजना सुदूरपश्चिमको महाकालीमा गरिरहेको बारेमा पनि जानकारी गराएका थिए ।

डेनमार्कका पूर्व उपसभामुख रासमस हेल्भेग पिटर्सनले डेनमार्कले वातावरण प्रदूषण र कार्बन घटाउन धेरै विधिहरू लागू गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘‘वातावरणीय प्रभावका चुनौतीहरू हामीले सामाना गर्नै पर्छ । त्यसका लागि वातावरणमा असर गरेका हाम्रो व्यवहार र विधिहरू परिवर्तन गर्नुपर्छ, यसमा डेनमार्कले केही उदाहरणीय काम गरेको छ ।’’

उहाँले डेनमार्कले फोहोरलाई ऊर्जामा रुपान्त्ररण गर्ने र कार्बन उत्सर्जनलाई ५० प्रतिशतसम्म घटाएको दाबी गर्नुभयो । उहाँले डेनमार्कले सुरु गरेको वातावरणीय प्रभाव घटाउने विधिहरू नेपालले पनि अवलम्बन गर्न सक्ने सुझाव पनि दिनुभयो । 

नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले ठूला मुलुकले उत्सर्गन गर्ने कार्बनले नेपाल जस्ता साना मुलुकले समस्या भोग्नु परेको छ भन्नुभयो ।  ‘नेपालको संविधानका वातावरण प्रभावका विषयहरू उठान डा. आरजु राणा देउवाकै नेतृत्वमा सम्भव भएको हो’, उपाध्यायले भन्नुभयो, ‘‘हाम्रा सेता हिमालहरू कालो हिमालमा परिवर्तन हुँदै जना थालेका छन्, त्यसैले पनि हामी वातावरण परिवर्तन रोक्ने विधिहरू लागू गर्न सबै पक्ष सजग हुनुपर्छ ।’’