• ७ वैशाख २०८१, शुक्रबार

मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

blog

राममणि दाहाल

हेटौँडा, चैत ८ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट बुधबार विश्वासको मत लिने हुनुभएको छ। 

प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलले मङ्गलबारसम्म नेकपा माओवादी केन्द्रको सरकारलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गरेका छैनन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट हटेसँगै मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सभाबाट यही बुधबार विश्वासको मत लिन लाग्नुभएको हो। गत पुस २५ गते एमाले, राप्रपा, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको समर्थनमा जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।

केन्द्रमा रहेको यसअघि गठबन्धन परिवर्तन भएकोले एमालेले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने वा नदिनेबारे अझै कुनै निर्णय गरेको छैन। प्रदेश सरकारका प्रवक्ता एवं एमाले बागमती प्रदेश संसदीय दलका जगन्नाथ थपलियाले मुख्यमन्त्रीमा जम्कट्टेललाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय भई नसकेको जानकारी दिनुभयो। आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले भन्नुभयो, “केन्द्रमा के निर्णय हुन्छ त्यहीअनुसार यहाँ निर्णय गर्ने हो, विश्वासको मत दिने दिनमा निर्णय गर्छौँ।”

पछिल्लो गठबन्धनमा सहभागी दलले विश्वासको मत माग्नुपूर्व छलफल नभएको भन्दै असन्तुष्टि जनाएका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिनु सत्तामा भागबन्डालगायतका विषयमा दलसँग छलफल नै नगरेको आरोप छ। माओवादी केन्द्रका नेता एवं प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल केन्द्रमा भएको सत्ता गठबन्धनअनुसार यहाँ पनि विश्वासको मत पाउने बताउनुहुन्छ। 

उहाँले भन्नुभयो, “केन्द्रमा सत्ता समीकरण परिवर्तन भएकोले सोहीअनुसार विश्वासको मत पाउनेमा ढुक्क छौँ।” कांग्रेस बागमती प्रदेश सभाका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पार्टीले विश्वासको मत दिने नदिने बारेमा कुनै औपचारिक निर्णय नगरी सकेको जानकारी दिनुभयो। सातै प्रदेशको एकमुष्ट केन्द्रले नै निर्णय गर्ने पनि उहाँले बताउनुभयो। उहाँले आफूहरूले विश्वासको मत लिने मिति सार्न मुख्यमन्त्रीलाई आग्रह गरेको जानकारी दिनुभयो।

यस्तै राप्रपाले समेत विश्वासको मत दिने वा नदिने बारेमा निर्णय गरेको छैन। राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले विश्वासको मत दिन मुख्यमन्त्रीले मागे पनि पार्टीले कुनै निर्णय नगरेको भन्दै बुधबार नै निर्णय गरिने बताउनुभयो।

नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रदेशका पूर्वमन्त्री कृष्णप्रसाद शर्मा खनालले विश्वासको मत दिने वा नदिने बारेमा छलफल नै नभएको जनाउँदै पार्टीभित्र र गठबन्धनमा रहेका दल बसेर आवश्यक निर्णय गरिने बताउनुभयो।

मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ। मुख्यमन्त्री जम्कट्टेलले यसअघि गत माघ ३ गते प्रदेश सभाबाट विश्वासको मत लिनुभएको थियो।