• ८ वैशाख २०८१, शनिबार

नेपाललाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्छ : प्रशिक्षक देसाई

blog

मोन्टी देसाई ।

काठमाडौं, चैत ७ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाललाई भारतमा क्रिकेट खेल्ने वातावरण बनाउनु पर्ने बताउनुभएको छ ।

आईसीसी विश्वकप लिग–२ मा सानदार प्रदर्शन गर्दै विश्वकप छनोटमा स्थान बनाएपछि नेपाली क्रिकेटको चर्चा विश्वभर चुलिएको छ । नेपाल विश्वकप छनोटमा पुगेपछि केही समय आराम गर्न भारत जानुभएका प्रशिक्षक देसाईले विश्व चर्चित क्रिकेट अनलाइन ‘क्रिकबज’सँग कुराकानी गर्दै नेपाललाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्ने बताउनुभएको हो । 

उहाँले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई पनि नेपालको विषयमा ध्यान दिन अनुरोध गर्नुभएको छ । ‘मैले आईसीसी, बीसीसीआई र एसियन क्रिकेट काउन्सिल (एसीसी) लाई पनि नेपालको विषयमा भनेको छु । स्कटल्यान्ड र आयरल्यान्डले इङ्ल्यान्डमा खेलिरहेका छन् । यदि नेपाललाई भारत र रणजी ट्रफी मात्र खेल्न दिए धेरै राम्रो हुनेछ । यस्तो गरियो भने नेपालले चार वर्षमा टेस्ट खेल्ने हैसियत राख्छ । नेपाली खेलाडी क्षमतावान् छन्,’’ देसाईले भन्नुभयो ।

भारतको पहिलो श्रेणीको ठूलो क्रिकेट प्रतियोगिता रणजी ट्रफीमा ३८ टोलीबीच प्रतिस्पर्धा हुने गर्दछ ।यस प्रतियोगिता खेल्ने खेलाडीले दैनिक ६० हजार भारु पाउनछन् ।

देसाईले नेपाली टोलीको प्रशिक्षण सम्हालेपछि नेपालले लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटमा स्थान बनाएको हो । दसाईको प्रशिक्षणमा नेपालले पछिल्लो १२ खेलमा ११ जित निकालेको थियो ।