• २० जेठ २०८०, शनिबार

भोलिदेखि सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ : प्रधानमन्त्री प्रचण्ड

blog

विश्वासको मत लिनुभएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : सुजन गुरुङ

काठमाडौं, चैत ६ गते। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलिदेखि नै सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुने बताउनुभएको छ।  प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि उहाँले संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो।

प्रधानमन्त्रीले सञ्चारकर्मीसँग भन्नुभयो, “भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ। अब जो–जो दलसँग गठबन्धन भएको छ, सहमति भएको छ, ती सबैसँग बसेर दुई, चार दिनभित्रै टुङ्ग्याउने गरी काम सुरु हुन्छ।”

प्रधानमन्त्री प्रचण्डले अबको गठबन्धन सरकार आरामसँग चल्ने र विकास निर्माणको काम अघि बढ्ने बताउनुभयो। “त्यस्तो केही हुँदैन। अब आरामसँग सरकार चल्छ। अब विकास निर्माणको काम अघि बढ्छ”, उहाँले भन्नुभयो।

सोमबारको प्रतिनिधि सभाको बैठकमा उपस्थित २६२ मध्ये प्रधानमन्त्री प्रचण्डको पक्षमा १७२, विपक्षमा ८९ मत परेको छ।  

त्यसैगरी, प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत् विश्वासको मत दिएकोमा प्रतिनिधि सभाका संसदप्रति आभार व्यक्त गर्नुभएको छ । सोमबार विश्वासको मत पाए लगत्तै उहाँले आभार व्यक्त गर्नुभएको हो । उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतीज्ञासमेत गर्नुभएको छ । 

यो पनि पढ्नुहोस

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्चालमा लेख्नुभएको छ, ‘‘सरकारलाई विश्वासको मत प्रदान गर्नुहुने प्रतिनिधि सभाका माननीय सदस्यज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु। तपाईहरूले दिनुभएको विश्वासलाई ऊर्जामा परिणत गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतीज्ञा गर्दछु।’’