अर्जुन काफ्ले
स्याङ्जा, चैत ६ गते । बिरुवा गाउँपालिकाले आयोजना गरेको छैटौं अध्यक्ष कप अन्तरपालिका पुरुष भलिबलको उपाधि कालीगण्डकी गाउँपालिकाले उचालेको छ ।
वडा नंं. ७ बलेउमा रहेको सम्झना युवा क्लबको खेलमैदान भएको प्रतियोगितामा कालीगण्डकीले आयोजकलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधिसहित एक लाख ५० हजार रुपियाँ कप, मेडल र प्रमाणपत्र हात पारेको हो ।
पोखरा महानगरपालिकासहित ६ पालिकाको सहभागिता रहेको प्रतियोगितामा आयोजक बिरुवाले उपविजेता बन्दै एक लाख रुपियाँ प्राप्त गरेको छ । तेस्रो भएको वालिङ नगरपालिकाले ५० हजार रुपियाँ प्राप्त गरेको छ ।
प्रतियोगितामा कालीगण्डकीका हरि पाण्डे बेष्ट प्लेयर, सुदीप राना बेष्ट सेटर, अविजित नेपाली बेष्ट डिफेण्डर, देव राना बेष्ट ब्लकर तथा बिरुवाका संजोक परियार बेष्ट स्पाइकर र वालिङका प्रितम गुरुङ बेष्ट सर्भर हुनुभयो ।
उत्कृष्ट सबैले तीन तीन हजार रुपियाँ पुरस्कार प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष सूर्य कुँवरले जानकारी दिनुभयो ।