फडिन्द्र अधिकारी
लेखनाथ, पुस २ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश राजधानी पोखराको विकासमा सरकारले विषेश ध्यान दिएको उल्लेख गर्नुभएको छ । पोखरा महानगरको ६७ औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित समारोहमा मुख्यमन्त्री पाण्डेले पोखराको फेवातालको मापदण्डमा परेका संरचना चाँडै हटाइने उल्लेख गर्नुभयो ।
‘फेवातालको क्षेत्र निर्धारण भइसकेको छ, छिट्टै आदेश (सर्वोच्चको आदेश) कार्यन्वयन हुन्छ,” उहाँले भन्नुभयो, “पहिलो चरणमा मापदण्डमा बनेका सरकारी संरचना हटाउँछौँ, दोस्रो चरणमा अतिक्रमित संरचना हटाउँदै त्यसपछि मुआब्जा दिनुपर्नेलाई वितरणका लागि सङ्घलाई आग्रह गर्छाँ।” सर्वोच्च अदालतले फेवातालको सीमाबाट ६५ मिटर मापदण्ड कायम गरी त्यहाँ रहेका सबै संरचना हटाएर हरियाली क्षेत्र बनाउन आदेश दिएको थियो ।
पोखरालाई पर्यटन राजधानी प्रदेश र महानगर मिलेर घोषणा गरेको स्मरण गर्दै उहाँले त्यसपछिका गतिविधिमा पनि सहकार्य हुने उल्लेख गर्नुभयो । “अतिक्रमित फेवाताललाई हरियालीसहितको, हेर्न लायकको ताल चाँडै बनाउँछौँ,” उहाँले भन्नुभयो । यही वर्ष फेवाताल शिरानको मुग्रेबगरमा सेल्फीब्रिज र रुपातालमाथि सिसाको पुल बनाउन प्रदेश सरकारले बजेट विनियोजन गरेको उहाँको भनाइ छ।
नेपालको संविधानबमोजिम प्रदेश र स्थानीय तहबिचको सहकार्य र समन्वय पोखरा र गण्डकी सरकारले इमान्दारितापूर्वक निर्वाह गरेको जनाउँदै उहाँले भविष्यमा पनि त्यसलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो । पोखरा महानगरवरिपरि ११ स्याटलाइट गन्तव्य पहिचान गरिएको जानकारी दिँदै उहाँले हिमाल र ताललाई नजोडी पोखराको पर्यटन प्रभावकारी नहुने उल्लेख गर्नुभयो ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले भूगोलका हिसाबले राजधानी काठमाडौंभन्दा १० गुणा ठूलो पोखरालाई समृद्ध र विकसित बनाउन योजनावद्ध रुपमा काम भइरहेको उल्लेख गर्नुभयो । उहाँले पोखरालाई अहिलेको पोखरा बनाउन योगदान गर्नेहरुलाई नवरत्नका रुपमा सम्मान गरिएको बताउनुभयो ।
“व्यक्तिगत स्वार्थबाट माथि उठेर पोखरा र समाजका लागि काम गर्ने अग्रजहरुलाई सम्मान गरिएको छ,” उहाँले भन्नुभयो । वि.सं.२०१६ साल पुस २ गते पोखरा नगरपालिकाका रुपमा स्थापना भएको पोखरा २०१७ सालमा नगर पञ्चायत र २०४७ सालमा फेरि पोखरा नगरपालिका बनेको थियो । २०५२ सालमा उपमहानगरपालिका घोषित पोखरालाई २०७३ सालमा साविक लेखनाथ नगरपालिका गाभेर पोखरा लेखनाथ महानगरपालिका बनाइएको थियो । यसलाई २०७५ सालमा फेरि पोखरा महानगरपालिका नामकरण गरिएको हो ।
महानगर प्रमुख आचार्यले विकास साझेदारका प्रतिनिधि, नेपाल र विदेशका भगिनी सम्बन्ध भएका नगरहरुका प्रतिनिधिसहित नगरबासीको उपस्थितिमा उत्सवमय रुपमा स्थापना दिवस मनाउने चलन सुरु गरिएको उल्लेख गर्नुभयो ।
वार्षिकोत्सवमा समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने नौ जनालाई पोखरेली नवरत्न सम्मान प्रदान गरियो भने ११ कर्मचारीलाई पनि सम्मान गरिएको छ । महानगरले उत्कृष्ट करदाताका रुपमा सबैभन्दा बढी कर तिर्ने मणिपाल शिक्षण हस्पिटल, होटल ग्रान्ड प्रालि र होटल लेकसाइडका प्रोपाइटर महेश भट्टराईलाई सम्मान गरेको छ ।
महानगरले यहाँका सबैभन्दा ज्येष्ठ दुई जनालाई महानगर मातापिताका रुपमा सम्मान गरेको छ । पोखरा–२८, आरुपाटाकी एक सय चार वर्षकी झ्याउरी तिमिल्सिना र पोखरा–३२, डाँडाखर्कका काशीनाथ पण्डित(१०४ वर्ष)लाई महानगर मातापिता घोषित गर्दै सम्मान गरिएको हो ।
हरेक नयाँ आर्थिक वर्षमा करको कारोबार सुरु भएको पहिलो दिन नै कर तिर्नेहरुमध्ये धीरज अर्याल, रामबाबु घिमिरे र राधा तिमिल्सिना पनि सम्मानित बने । दिवसको अवसरमा बुधबार बिहान पोखराको चिप्लेढुङ्गाबाटसांस्कृतिक झाँकी, र्यालीसहितको प्रभातफेरी पोखरा सभागृहमा आएर स्थापना दिवस मूल समारोहमा परिणत भएको थियो । दिवसकै अवसरमा मङ्गलबार भएको रक्तदानमा ८० पिन्ट रगत सङ्कलन भएको थियो ।