• २६ वैशाख २०८१, बुधबार

दूधमा ठगी

blog

काठमाडौँ, चैत ६ गते । दुग्ध विकास संस्थान (डीडीसी)ले स्ट्यान्डर्ड दूध (नीलो पोका)को प्रतिलिटर ९७ रुपियाँ निर्धारण गरेको छ । बजारमा पाइने उपलब्ध एक पोका (आधा लिटर)को मूल्य ४८ रुपियाँ ५० पैसा तोकिएको छ तर उपभोक्ताले यसलाई ५० रुपियाँ तिर्नु परिरहेको छ ।

काठमाडौँ, बुद्धनगरकी कविता थापाले भन्नुभयो, “डीडीसीको दूध गुणस्तरीय हुन्छ भनेर दिनमा दुई प्याकेट (एक लिटर) खरिद गर्छु । पसलेले एक सय रुपियाँ नै लिन्छन् ।” 

थापा त एक जना प्रतिनिधि मात्र हो । आमउपभोक्ता दूध खरिद गर्दा बढी पैसा तिर्न बाध्य छन् । डीडीसीले खुद्रा मूल्य पोकामा लेख्ने गरे पनि उपभोक्ता खुद्रा व्यापारीबाट ठगिने गरेका छन् । दूध वितरण गर्ने बुथले पनि खुद्रा मूल्य ५० नै लिने गरेको छ । 

खुद्रा बिक्रीमा उपभोक्ता ठगिने गरेका हुन् । उपत्यकामा एक हजार दुई सयवटा बुथबाट दूध वितरण हुने गर्छ । दूध वितरणका लागि बुथलाई डीडीसीले प्रतिलिटरमा पाँच रुपियाँ कमिसन दिने गर्छ तर बुथले समेत खुद्र बिक्रीमा बढी मूल्य लिई ठग्ने गरेको उपभोक्ताको गुनासो छ । 

बजारमा वितरण हुन प्रशोधित दूधमा दिनहुँजसो उपभोक्ता ठगिने गरेका छन् । खुद्रा व्यापारीले दुग्ध विकास संस्थानले (डीडीसी)ले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्य लिई उपभोक्ता ठग्ने गरेका हुन् । 

स्ट्यान्डर्ड दूध (नीलो पोका) र गाईको दूध (पहेँलो पोका)मा उपभोक्ता ठगिने गरेको पाइएको छ । गाईको दूध आधा लिटरको प्याकेटमा ५८ रुपियाँ मूल्य निर्धारण गरिए पनि खुद्रा व्यापारीले ६० रुपियाँ मूल्य लिने गरेको उपभोक्ताले गुनासो छ  । 

डीडीसीले बजारमा स्ट्यान्डर्ड प्रतिलिटर ९७ रुपियाँ, आधा लिटरको ४८ रुपियाँ ५० पैसा, क्रिम मिल्क प्रतिलिटर १३०, आधा लिटरको ६५ रुपियाँ रहेको छ । गाईको दूध प्रतिलिटर ११६ रुपियाँ र आधा लिटरको ५८ रुपियाँ मूल्य निर्धारण छ । यस्तै कम चिल्लो पदार्थ भएको प्रतिलिटर दूधको मूल्य ९० रुपियाँ र आधा लिटरको मूल्य ४५ रुपियाँ निर्धारण गरिएको छ ।

उपत्यकामा सबैभन्दा बढी खपत हुने प्रशोधित स्ट्यान्डर्ड दूध वितरण हुने गर्छ । आधा लिटरको प्याकेटमा मात्र दूध वितरण हुने गर्छ । निजी डेरी उद्योगले प्रतिलिटर एक सय रुपियाँ निर्धारण गरेका छन् तर डीडीसीले उपभोक्तालाई राहत दिन प्रतिलिटरमा तीन रुपियाँ मूल्य कम गरी ९७ रुपियाँ निर्धारण गरे पनि त्यसको फाइदा भने उपभोक्ताले नभई खुद्रा व्यापारीले लिने गरेका छन् । 

वार्षिक छ करोडभन्दा बढीको ठगी

डीडीसीले बालाजु दुग्ध विकास आयोजनाबाट दैनिक ७० देखि ७५ हजार लिटर दूध वितरण गर्ने गरेको जनाएको छ । यसमा दैनिक स्ट्यान्डर्ड दूध ५० हजार लिटर, क्रिम दूध १० हजार लिटर, गाईको दूध १० हजार लिटर र कम चिल्लो पदार्थ भएको दूध तीन हजारदेखि पाँच हजार लिटर बिक्री वितरण गर्ने गरेको जनाएको छ । 

डीडीसीले दैनिक स्ट्यान्डर्ड दूध ५० हजार लिटर वितरण गर्छ । स्ट्यान्डर्ड दूध प्रतिलिटरमा खुद्रा व्यवसायीले तीन रुपियाँ (एक पोकामा डेढ रुपियाँ)का दरले उपभोक्ताबाट असुल्दा दैनिक एक लाख ५० हजार रुपियाँ ठगी भइरहेको छ । गाईको दूध (पहेँलो पोका) प्रतिलिटरमा खुद्रा व्यवसायीले दुई रुपियाँ उपभोक्ताबाट बढी लिँदा दिनमा २० हजार रुपियाँ असुल्ने गरेका छन् । 

यो मूल्यअनुसार स्ट्यान्डर्ड दूध र गाईको दूधमा मात्रै दैनिक झन्डै दुई लाख, मासिक ५१ लाखभन्दा बढी र वार्षिक सवा छ करोड रुपियाँभन्दा बढी ठगी हुन्छ । 

अनुगमन हुन्छ, ठगी भए कारबाही

डीडीसीका निमित्त उपप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले बुथले तोकिएको एमआरपी (अधिकतम खुद्रा बिक्री मूल्य)भन्दा बढी मूल्यमा दूध बिक्री गरेको पाइए कारबाही गरिने बताउनुभयो । उपत्यकामा एक हजार दुई सय बुथमार्फत दूधको वितरण भइरहेकाले खुद्राबाट नभई बुथबाट उपभोक्तालाई दूध खरिद गर्न उहाँले आग्रह गर्नुुभयो । 

राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन खुद्रा पसलसँगै दूध वितरण गर्ने बुथले समेत चानचुन पैसा छैन भनेर बढी मूल्य लिई उपभोक्ता ठग्ने गरेको बताउनुभयो । खुद्रा पैसा लिएर आउनु भनी उपभोक्तालाई बुथले भन्ने गरेको उहाँले बताउनुभयो । कतिपय पसलले फ्रिजमा राखेको भनेर अतिरिक्त रकमसमेत लिने गरेका छन् । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईले खुद्रा व्यवसायीले दूधमा तोकिएको मूल्यभन्दा बढी लिन नपाइने बताउनुभयो । “पसलले एमआरपीभन्दा बढी मूल्य लिनु गैरकानुनी हो, बढी मूल्य लिएको पाइए कारबाही गर्छौं,” उहाँले भन्नुभयो । 

डीडीसीको खर्च ३२ रुपियाँ

सरकारले किसानले पाउने दूधको मूल्य प्रतिलिटर ६५ रुपियाँ मूल्य तोकेको छ । किसानले कम मूल्य पाउने र बजारसम्म आइपुग्दा उपभोक्ताले तिर्नुपर्ने मूल्य भने प्रतिलिटर कम्तीमा ९७ रुपियाँ तोकिएको छ । यसबीचको ३२ रुपियाँ मूल्य सहकारी सञ्चालन खर्च, प्रशोधन खर्च र बजारीकरणमा जाने गरेको डीडीसीले जनाएको छ । 

डीडीसीका अनुसार सहकारी संस्था सञ्चालन खर्च पाँचदेखि सात रुपियाँ, सहकारीबाट कारखानासम्म ढुवानी खर्च प्रतिलिटर नौ रुपियाँ, प्रशोधन खर्च सात रुपियाँ, प्याकेजिङ खर्च एक रुपियाँ ५० पैसा, बजारसम्म ढुवानी खर्च दुई रुपियाँ, डिलर कसिमन एक रुपियाँ र बुथ म्यान कमिसन प्रतिलिटरमा पाँच रुपियाँ निर्धारण गरिएको छ । 

संस्थानले स्थानअनुसार दूधको मूल्य फरकफरक निर्धारण गरेको छ । प्रशोधित स्ट्यान्डर्ड दूध प्रतिलिटरको बिक्री मूल्य काठमाडौँ, विराटनगर, जनकपुर, हेटौँडा क्षेत्रमा ९७ रुपियाँ र बुटवल क्षेत्रमा प्रतिलिटर ९४ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ९२ रुपियाँ मूल्य निर्धारण गरेको छ ।