• १३ वैशाख २०८१, बिहिबार

साढे सोह्र हजार पशुपन्छीलाई खोप

blog

हुम्ला समाचारदाता

हुम्ला, चैत ५ गते । सिमकोट गाउँपालिकामा साढे १६ हजारभन्दा बढी पशुपन्छीको उपचार गरिएको छ । आठवटै वडामा एक महिनासम्म सञ्चालन गरेको बृहत् खोप कार्यक्रमबाट पशुबस्तुलाई खोप लगाउनुका साथै विभिन्न रोगको उपचार गरिएको हो । 

गाउँपालिका पशु स्वास्थ्य शाखाका प्राविधिक विष्णु बुमीले एक महिनासम्म सञ्चालन भएको शिविरबाट पशु, कुखुरा र कुकुर गरी १६ हजार ७४० वटालाई खोप लगाएको जानकारी दिनुभयो । यति धेरै परिणाममा पशुपन्छीलाई खोप लगाएको यो पहिलो पटक हो । 

हिमाली क्षेत्रका पशुमा बढी देखिने भ्यागुते, चर्चरे रोगका लागि तीन हजार ८४५ वटा गाईगोरु, बाच्छाबाच्छी, झोपा र जुमालाई खोप लगाइएको बताउनुभयो । त्यसैगरी १० हजार ६०८ भेडाबाख्रा र पाठापाठीलाई पीपीआर खोप लगाइएको छ भने दुई हजार २५२ कुखुरालाई रानीखेत रोगविरुद्धको खोप लगाइएको हो । गाउँपालिकाभरिका ३५ वटा कुकुरलाई रेबिजविरुद्धको खोप पनि लगाइएको छ । 

उहाँले चैत ५ गतेदेखि सुरु भएको बृहत् शिविर सम्पन्न भएको जानकारी दिँदै यसका लागि प्राविधिक टोली वडा र बस्तीस्तरमा पुगेर एक महिनासम्म खटिएको बताउनुभयो । 

उहाँले रोग लाग्ने समय भएका कारण गाउँपालिकाभरि रहेका सबै बस्ती र खर्कमा प्राविधिकको टोली पुगेर खोप लगाउने कार्य पूरा भएको बताउनुभयो ।