• १२ वैशाख २०८१, बुधबार

राप्रपा संसदीय दलको उपनेतामा तामाङ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ । शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । 

बैठकले पार्टीको संसदीय दलको विधान पनि टुङ्गो लगाएको छ । सरकारले कृषि मलमा कटौती गरेको अनुदानविरुद्धमा बैठकले सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बैठकले संसदीय दलको विधान पारित गरेको र विधानअनुसार संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई मनोनयन गरेको बताउनुभयो । 

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा फरक मत राख्ने बताउनुभयो । उहाँले यो विधेयक एकपक्षीय रहेको विद्रोही पक्षको लागि मात्रै भएको आरोप लगाउनुभयो । उहाँले द्वन्द्वको अर्को पक्षको बारेमा सम्बोधन नभएकाले राप्रपाले यो विधेयकमा संसद्मा आफ्नो धारणा राख्ने बताउनुभयो । 

पार्टीले सङ्घीय र प्रदेश सांसदलाई संसद्मा उपस्थिति जनाउने बारेमा प्रशिक्षण दिने निर्णय  गरेको उहाँले जानकारी दिनुभयो । संसद्लाई बढीभन्दा बढी बिजनेस दिन पनि सो दलले माग गरेको छ । 

“बेपत्ता व्यक्ति र सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा राजनीतिक दल विशेषको विषय होइन, यो राष्ट्रिय विषय हो” उहाँले राजनीतिक दलका विषयमा मतान्तर नभएको बताउनुभयो ।