• १३ असोज २०८१, आइतबार

उपराष्ट्रपतिको मतदानमा को-को भए अनुपस्थित ?

blog

उपराष्ट्रपति पदका तीन जना उम्मेदवार झा, शाक्य र यादव । तस्बिर : केशव गुरुङ

काठमाडौं, चैत ३ गते। मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो।

 निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ सांसद र प्रदेश सभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता छन्। मतदानमा तीन सय ११ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो। 

संघ (राष्ट्रियसभा र प्रतिनिधिसभा) तर्फका जम्मा तीन सय ३४ सांसदमध्ये रवि लामिछानेको पद रिक्त भएको र टेकबहादुर गुरुङ निलम्बनमा पर्नुभएकाले दुई पद रिक्त छ। आजको मतदानमा सङ्घतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदुर किसान पार्टीका एक जना सांसद मतदान नगरी तटस्थ बस्नुभयो। 

यसैगरी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको तथा सांसदहरु चन्द्र भण्डारी, वर्षमान पुन र मनोरमा शेरचन बिरामी भएकाले उपस्थित हुनुभएन। साथै सहनाज रहमानको निधन भएको थियो भने लक्ष्मी महतो कोइरीको मुद्दाका कारण  मतदानमा अनुपस्थित हुनुहुन्थ्यो।  

 प्रदेशसभा सदस्यतर्फ राप्रपाका २८ र नेमकिपाका तीन सदस्य मतदान नगरी तटस्थ बस्नुभयो भने जसपाका एक सदस्य अनुपस्थित रहनुभएको निर्वाचन आयोगले जनाएको छ। आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको छ। 

नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झा उम्मेदवार हुनुहुन्छ। 

उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ। संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम छ।