कपिल ज्ञवाली
सिद्धार्थनगर,चैत्र ३ गते । युवा युवतीलाई रोजगारीमा जोड्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘वृत्ति मार्ग निर्देशन’ र ‘रोजगार सूचना मेला’ गर्ने भएको छ । औद्योगिक तथा व्यावसायिक क्षेत्रमा भएको जनशक्ति अभावलाई पूर्ति गर्ने उद्देश्यले नगरपालिकाले चैत ४ गते १ दिने रोजगार सूचना मेला आयोजना गर्न लागेको हो ।
युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेका कारण जनशक्ति अभावको समस्या रहेको र बेरोजगार युवायुवतीलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै रोजगार सृजना गर्ने मेलाको उद्देश्य रहेको तिलोत्तमा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा रोजगार मेलाका संयोजक गणेश पाठकले जानकारी दिनुभयो । उहाँले तिलोत्तमा नगर क्षेत्रका युवायुवतीलाई स्वदेशमै रोजगारी दिने नीति अनुरुप रोजगार मेला हुने बताउनुभयो ।
रोजगार मेलाले तिलोत्तमा नगर क्षेत्रका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने, सीप भएर पनि जागिर नपाएर विदेशिन बाध्य नागरिकलाई स्वदेशमै राख्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको संयोजक पाठकको भनाइ छ । मेला भलबारीस्थित रामजानकी मन्दिरको मैदानमा हुनेछ ।
रोजगार मेलामा विभिन्न रोजगार दाताका ४० बढी स्टल रहने र मेलामै विभिन्न सीप भएका व्यक्तिहरुलाई रोजगार दिलाइने तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले बताउनुभयो । मेलामा रहने स्टल नगरपालिकाले निर्माण गर्ने र मेलाका लागि कुनै शुल्क नलाग्ने बताइएको छ ।
नगरपालिकाले तिलोत्तमा नगर क्षेत्रमा रहेका रोजगार दाता तथा व्यावसायिक सङ्घसंस्थासँग सहकार्य गरेर यो मेला आयोजना गर्न लागेको हो । स्टलहरुमा सहभागीहरुले मेलामा पुगेका दर्शकलाई उनीहरुको रुची, क्षमता र चाहना अनुसारका रोजगारीको ग्यारेन्टी गरिनेछ भने उनीहरुलाई करियर काउन्सिलिङसमेत गरिनेछ ।
मेलामा सीपमूलक तालिमको अवसरहरुको जानकारी, वृत्ति परामर्शसम्बन्धी सेवा, सीपको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरका बारेमा जानकारी गराउनुका साथै रोजगारीका लागि सहजीकरण गर्ने मेलाका उपसंयोजक रवि सेन्चुुरीले बताउनुभयो ।
रोजगार मेलाले रोजगारीको खोजीमा रहेका युवायुवती र रोजगारदातालाई जोड्न पुलको काम गर्ने अपेक्षा गरिएको छ ।