• ८ वैशाख २०८१, शनिबार

उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूतको भेट

blog

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नुहुँदै बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरी । तस्बिर : मन्त्री श्रेष्ठको निजी सचिवालय

काठमाडौं, चैत २ गते । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले भेटवार्ता गर्नुभएको छ । बिहीबार मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत चौधरीबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले दूरीका हिसाबले बङ्गलादेश नेपालको तेस्रो नजिकको छिमेकी मित्रराष्ट्र भएको बताउनुभयो । उहाँले दुवै कम विकसित राष्ट्र भएकाले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले कतारमा भएको अति कम विकसित मुलुकको सम्मेलनका क्रममा बङ्गलादेशका प्रधानमन्त्रीसँग आफूले भेटवार्ता गरेको पनि स्मरण गर्नुभयो । उहाँले बङ्गलादेश र नेपाल नजिकका र पुराना मित्रराष्ट्र भएको उल्लेख गर्नुभयो ।

भेटवार्ताका क्रममा राजदूत चौधरीले पनि नेपाल आफूहरूको नजिकको मित्रराष्ट्र भएको उल्लेख गर्नुभएको थियो । आफू नेपालमा राजदूत भएर आएको दुई वर्ष भइसकेको उल्लेख गर्नुहुँदै राजदूत चौधरीले त्यस क्रममा नेपाल र नेपाली आफूलाई धेरै मन परेको बताउनुभयो ।

उहाँले बङ्गलादेशको राष्ट्रिय दिवस (नेसनल डे) को अवसरमा २० मार्चमा हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह पनि गर्नुभयो । उक्त कार्यक्रम नेपालस्थित बङ्गलादेशी दूतावासले आयोजना गर्ने उहाँले जानकारी दिनुभयो ।