बाजुरा समाचारदाता
बाजुरा, चैत २ गते । साँफे–मार्तडी राजमार्गअन्तर्गत पर्ने बल्दे–अम्कोट वैकल्पिक मार्ग अम्कोटको गाउँमै पुगेपछि त्यहाँका स्थानीयवासीमा खुसीसँगै चिन्ता बढेको छ।
अम्कोटवासीलाई राजमार्गदेखि झन्डै एक किलोमिटर भारी बोकेर घरमै पुग्न यो वैकिल्पक मार्गले केही सहज भए पनि एक्साभेटरले सडक खन्दा कतै गाउँमै पहिरो लाग्ने हो कि भन्ने डरसमेत बढेको छ।
बूढीगङ्गा नगरपालिका–१, अम्कोटका मनिराम पाध्यायले यसअघि गाउँभन्दा झन्डै एक किलोमिटर तल साँफे–मार्तडी राजमार्गमा गएको पहिरोले अहिले अम्कोट बस्ती नै जोखिम पर्दै गएको बताउनुभयो। यतिबेला फेरि डोजर लगाएर सडक खन्न थालेपछि अब गाउँ नै सखाप हुने हो कि भन्ने चिन्ता बढेको पाध्यायले बताउनुभयो।
गाउँमा अहिले १०६ घरपरिवार बसोबास गर्दै आएका छन्। यी परिवारलाई अन्य सुरक्षित स्थानमा राखेर सडक खन्ने काम सुरु गर्नुपर्ने हो तर त्यो नगरी पहिला नै गाउँबाट वैकल्पिक मार्ग खन्ने काम गरिएको उहाँले बताउनुभयो।
साँफे–मार्तडी सडकअन्तर्गतको बल्दे द्वारी सडकमा गएको पहिरोले बर्खाको समयमा बाटो बन्द हुँदा मार्तडी जाने गाडी सधँै बल्देमै रोकिने गर्दछन्। जिल्ला प्रशासन कार्यालय बाजुराको पहलमा यो वैकल्पिक मार्गले बर्खाको समय गाडी मार्तडी नियमित गर्न सम्भावना देखिएपछि अम्कोटका स्थानीयकै सहमतिबाट अम्कोटको गाउँबाट नै बल्दे–अम्कोट वैकल्पिक सडक खन्ने काम सुरु गरेको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।
अम्कोट स्थानीयलाई सुरक्षित ठाउँमा घर निर्माण गर्ने भने बस्ती व्यवथापन कार्यक्रम सुरु गरेका छौँ। अहिले अम्कोट झन्डै ८५ घरपरिवारले घर व्यवस्थापन गर्ने गरेर पहिलो किस्ता रकमसमेत लिइसकेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताउनुभयो।