भैरहवा समाचारदाता
भैरहवा, चैत १ गते । रुपन्देहीको सिद्धार्थनगर भैरहवाका १९ वटा सडक छ वर्षदेखि सम्पन्न हुन सकेका छैनन्। सङ्घीय आयोजना कार्यान्वयन एकाइ भैरहवाअन्तर्गत सघन सहरी विकास कार्यक्रममा सडक विस्तार तथा स्तरोन्नतिका लागि छनोट भएका ती सडक २०७४ असार २९ गते १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएका थिए।
२०७५ पुस २८ गते सम्पन्न गर्ने गरी निर्माण कम्पनी पप्पु कोसी एन्ड न्यौपाने शिवशक्ति जेभीले सम्झौता गरे पनि अहिलेसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती भोग्नु परेको छ। ५५ करोड ७१ लाख रुपियाँ लागत अनुमानमा ठेक्का भएको उक्त सडक ३३ करोड ३१ लाख रुपियाँमा सम्पन्न गर्ने जिम्मा निर्माण कम्पनीले लिएको थियो। १७ प्रतिशत कम मूल्यमा ठेक्का लिएको कम्पनीले अहिलेसम्म ८४ प्रतिशत भौतिक प्रगति गरेको छ भने सोही अनुपातमै करिब ८५ प्रतिशत रकम भुक्तानी लिइसकेको छ।
कालोपत्रे र ढलाइसहित निर्माण गर्नुपर्ने १२ किलोमिटर ३४ मिटरको सडकमध्ये अहिलेसम्म मेउडिहवादेखि फुलपुरको सडक क्षेत्र साइट क्लियर नभएर रोकिएको छ। नगरभित्रका विभिन्न १० वटा (दुई हजार ३४८ मिटर) सडक आरसीसी पद्धतिबाट र नौवटा (करिब १० किलोमिटर) कालोपत्रे गर्नुपर्नेमा आरसीसीमध्येका सडक निर्माण भए पनि पूर्ण रूपमा सम्पन्न भएका छैनन्।
त्यस्तै नौवटा कालोपत्रेकामध्ये तीनवटाको सडक कालोपत्रे भएको, चारवटा सडकमा बेससम्मको काम भएको र मेउडिहवादेखि सिसवाको सडक अधुरो निर्माण भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय भैरहवाले जानकारी दिएको छ। निर्माण सम्पन्न गर्न नसकेको भन्दै निर्माण कम्पनीले पाँच पटक म्याद थपसमेत गरिसकेको छ।
पहिलो पटक बन्द, हडताल र निर्माण सामग्रीको अभाव देखाउँदै १५ महिना २०७६ चैत २८ गतेसम्मका लागि म्याद थप गरेको थियो। दोस्रो पटक साइट उपलब्धमा ढिलाइ भएको भन्दै नौ महिना २०७७ पुस २४ गतेसम्मका लागि, तेस्रो पटक पहिलो लकडाउनलगायतका कारण देखाउँदै छ महिना २०७८ असार २४ गतेसम्मका लागि, चौथो पटक दोस्रो लकडाउन भन्दै नौ महिना २०७८ चैत १ गतेसम्मका लागि र पाँचौँ पटक निर्माण सामग्रीको मूल्य अभिवृद्धिलगायतका कारण देखाउँदै २०७९ पुस मसान्तसम्म म्याद थप पाएको थियो। सो म्याद पनि सकिएको दुई महिना बित्दासम्म निर्माण काम अझै सम्पन्न हुन सकेको छैन।
पाँच पटक म्याद थप पाइसकेको निर्माण कम्पनीले छैटौँ पटक म्याद थपका लागि निवेदन दिएको छ। १८ महिनामा सम्पन्न हुनुपर्ने सडक निर्माणका लागि ४८ महिना म्याद थप हुँदा पनि सडक पूर्ण रूपमा सम्पन्न भएको छैन। चैत मसान्तसम्म तीन महिना म्याद थप मागेको कम्पनीले भने भुक्तानी नपाएको, कार्यक्रम नभएको जनाएको छ।
सङ्घीय आयोजना कार्यान्वयन एकाइ भैरहवाका प्रमुख विदुर खड्काका अनुसार निर्माण कम्पनीले प्रतिदिन हर्जनासहित ती सडक निर्माण सम्पन्न गर्नका लागि दुई सय दिनसम्मका लागि म्याद थप्न पाउने व्यवस्था छ। “निर्माण कम्पनीसँग अब योजना सम्पन्न गर्नुको विकल्प नै छैन, निर्माण सम्पन्न गर्नका लागि अबको अन्तिम विकल्प नै शून्य दशमलव शून्य पाँच प्रतिशत हर्जनासहित म्याद थप गर्न हुन सक्छ,” कार्यालय प्रमुख खड्काले भन्नुभयो।