• ११ मंसिर २०८१, मङ्गलबार

अस्थिरताले अस्तित्वमै प्रहार

blog

‘तपाईंको व्यवहार कालान्तरमा चरित्रमा बदलिन्छ।’

–अल्बर्ट आइन्स्टाइन


नेकपा एमालेको नेतृत्वमा केपी शर्मा ओली स्थापित हुनुभएको एकदशक पुग्न केही महिना बाँकी छ। २०७० को असार मसान्तमा भएको नवौँ महाधिवेशनबाट झिनो मतले अध्यक्षमा अविजित ओलीले दशौँ महाधिवेशनमा आफ्ना स्पर्धी नै बाँकी राख्नु भएन। पार्टीका वरिष्ठ नेताहरू पाखा लागेकाले ओलीसँग प्रतिस्पर्धामा उत्रनु भएका समकालीन नेता डा. भीम रावल अध्यक्षमा पराजित हुनु भए पनि उहाँलाई दोस्रो वरियताको ‘वरिष्ठ नेता’ समेत बनाउने ‘झ्याउँलो’ ओलीले बोक्न चाहनु भएन। प्रतिद्वन्द्वीरहित एमाले बनाउने ओलीको व्यवहार दशौँ महाधिवेशनपछि अरू ‘देवत्वकरण’ गरियो। 

२०५३ असोज ४ गते महाकाली सन्धिमा हस्ताक्षर नभएको भए पनि नेकपा एमाले विभाजन हुने पक्कापक्की थियो। यद्यपि हस्ताक्षर गर्दा पनि एमाले विभाजन भयो। ‘राष्ट्रघात’ जस्तो अपराध गर्दै देशप्रति गद्दारी भयो भनेर त्यतिखेर सहाना प्रधान, वामदेव गौतमहरूले एमाले विभाजन गरेर ‘माले’ ब्युँताउनुभयो। त्यो विभाजनको सूत्राधार भने त्यतिखेर पनि ओली नै हुनुहुन्थ्यो। महाकाली सन्धिमा हस्ताक्षर नभए एमाले विभाजनसम्मको तयारी ओली पक्षधरको थियो। धेरै दुःख गरेर पार्टी बनाएकाले माधवकुमार नेपालले विभाजनको भयले महाकाली सन्धिमा हस्ताक्षर गर्नुभयो भन्नेहरू अहिले पनि एमाले र नेकपा (एकीकृत समाजवादी) दुवैमा शीर्षस्थ लाइनमै हुनुहुन्छ। महाकाली सन्धिजस्तो राष्ट्रघात भन्दै राष्ट्रवादी नेता बनेका नेता वामदेव अहिले दुवै पार्टीको तानातानमा हुनुहुन्छ, कता जाने भन्नेमा दोधारमा देखिनु हुन्छ। 

महाकाली सन्धिजस्तै तत्कालीन एमालेमा अर्को सङ्कट आएको थियो २०६४ को संविधान सभा निर्वाचनपछि। निर्वाचनमा पराजयपछि नैतिकताका आधारमा पार्टी महासचिवबाट राजीनामा दिनुभयो माधवकुमारले। राजनीतिक परिस्थिति फेरिँदै गयो। कम चर्चामा रहेका माओवादी नेता झक्कु सुवेदीसँगै पराजित माधवकुमार पुनः सांसद बनाइनु भयो। तत्कालीन माओवादी नेतृत्वलाई नेपालको अपरिहार्यता खड्कियो। उहाँ सांसदसँगै पछि प्रधानमन्त्री हुनुभयो। प्रधानमन्त्री भए पनि उहाँको यात्रा लामो रहेन, १३ महिना प्रधानमन्त्री भएपछि उहाँले राजीनामा दिनुभयो २०६८ असार १६ गते। यद्यपि सरकारमा नेपालको पक्षमा बहुमत थियो। २२ राजनीतिक दलको समर्थनमा बनेको सरकारको नेतृत्व गरिरहँदा नेपाललाई सबैभन्दा बढी प्रहार माओवादीबाटै भयो। माओवादी आन्दोलनमा होमियो। राष्ट्रका नाममा सम्बोधन गरिरहँदा नेपालको सङ्केत थियो, ‘शान्ति प्रक्रियाले पूर्णता पाओस्।’

जब प्रधानमन्त्रीबाट राजीनामा दिनु भयो, त्यसपछिको यात्रा चाहिँ सात महिनाभन्दा बढी लम्बियो। अर्को सरकार बन्न सहज भएन। राजनीतिक परिदृश्य त्यस्तै बन्यो कि, कामचलाउ प्रधानमन्त्रीका हिसाबले लामो समयसम्म नेपाल प्रधानमन्त्री रहनु भयो। पार्टी स्थायी कमिटी बैठकले नेपाललाई सरकारबाट फिर्ता हुनु नै उचित हुने गरी दबाब दियो। पार्टीमा बहुमतमा रहनु भएका नेपाल यसरी स्थायी कमिटी आफ्नाविरुद्ध तयार भएको भेउसमेत पाउनु भएन। त्यतिखेर उहाँले पार्टी विभाजन गर्न पनि सक्नुहुन्थ्यो। दोस्रो पटक प्रधानमन्त्री भएपछि स्थायी कमिटी बैठक नै नबोलाउनु भएका तत्कालीन नेकपाका अध्यक्ष ओलीले पहिलो संविधान सभाको निर्वाचनपछि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा नै यस्तो अभ्यास भइसकेको अनुभव लिइसक्नु भएको थियो। त्यही भएर ओलीले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा स्थायी कमिटी बैठक बोलाउन नचाहनु भएको नजिर नेपालको उदाहरणबाटै बुझ्नु भएको थियो। बहुमत केन्द्रीय कमिटी सदस्य लिएर पार्टी विभाजन गर्दै प्रधानमन्त्री रहिरहन पनि सक्नुहुन्थ्यो। संसद्मा बहुमत थियो। २२ दलको समर्थन थियो। अर्को सरकार बनाउने दौडमा नेपालको दौड कम अङ्कगणितको पनि हुने थिएन। उहाँले आफ्ना निकटहरूसँग परामर्श गर्दा स्थायी कमिटीले भनेको मान्नु उचित भन्ने सुझावपछि राजीनामा दिनुभयो। त्यतिखेर पनि उहाँलाई यसरी स्थायी कमिटीमा पेल्ने पात्रहरू अपरिचित र नवआगन्तुक हुनहुन्थेन। राष्ट्रका नाममा गरिएको सम्बोधनमा नेपालले भन्नुभएको थियो, ‘अनपेक्षित दिशा र स्थानबाट पनि आए।’ 

एमाले विभाजन गरेर वामदेव, नेपाली कांग्रेस विभाजन गरेर शेरबहादुर देउवा अनि अनेकौँ विभाजनको सिकार हुँदै सत्तामा पुगेको राप्रपालगायत पछिल्लो पटकका मधेशवादी दलको एउटै नजिर थियो– क्षणभरको सत्तास्वार्थले विभाजनमा पुगे पनि अन्ततः पुनर्मिलन अपरिहार्य छ। त्यसमाथि कम्युनिस्ट शक्ति एक बनाउने अभियान चलिरहँदा पार्टी विभाजनको कल्पना वामदेवको उदाहरणबाट पनि ‘अप्रमाणित’ भइसकेको थियो। पार्टी स्थापनादेखि नै अनेकौँ फुटको सिकार भएको अनुभव सँगाल्दै नेपालले २०६७ सालमा एमाले फेरि विभाजनको अभ्यास गर्नुभएन। वामदेवले पार्टी विभाजन गर्दा ‘पिलो’ निको भयो भन्ने नेतृत्व अहिले उहाँ गौतम एकीकृत समाजवादीमा जानुहोला कि भन्ने भयले बेलाबखत बेखबर ‘चिया पिउन’ पुग्नुभएको छ। 

 २०७७ असारमा तत्कालीन प्रधानमन्त्री ओली एक्लो पर्नुभएको थियो। पार्टीका पूर्वप्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार, झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओलीविरुद्ध पार्टीमा मोर्चाबन्दीमा हुनुहुन्थ्यो। त्यतिखेर ओलीले आफ्ना पक्षमा ४० प्रतिशत सांसद नभएकाले अध्यादेश ल्याएर त्योभन्दा कम प्रतिशत बनाएर पनि पार्टी फोर्न सक्नुहुन्छ भन्नेसम्मको आकलन थियो। अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनमा केपी शर्मा ओलीको ‘ढिपी’ शैली मात्र थिएन, व्यवहार मात्रै रहेन। बिस्तारै यो चरित्र बन्दै गइरहेको थियो। पार्टीमा सधैँ ‘सके पेल्ने, नसके खेल्ने’ व्यवहारलाई नै राजनीतिक चरित्र बनाउनु भएका ओलीले पार्टी विभाजनको माहोल देख्नु भएन। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार मिलेर ओलीविरुद्ध आन्दोलन र सत्ताबाट लखेट्ने अभ्याससमेत भएपछि दुई तिहाइको छेउछाउमा पुगेको तत्कालीन नेकपा सर्वोच्च अदालतमार्फत एमाले र माओवादीको अंशवण्डामा पुग्यो। तर पनि ओलीको एकदशक राजनीतिक यात्रा सधैँ ‘विवादास्पद चरित्र’ भन्दामाथि पुग्न सकेन। विगतमा नेतृत्वमा पुग्न गर्नुभएको व्यवहार बिस्तारै चरित्र, राजनीतिक मूल्यमान्यतामा विकसित हुँदा ‘अनुकूल’ नहुनेबित्तिकै बदलिने चरित्र उहाँले स्थापित गर्नु भयो। झलनाथ र माधवकुमार नेतृत्वमा पार्टी र सरकारविरुद्ध ओलीले प्रहार गर्नुभएको सम्बोधन एमाले मुख्यालय र गुगलमा अहिले पनि होलान्। जब उहाँ नै नेतृत्वमा पुग्नु भयो, त्यसपछि पनि उहाँको व्यवहार उस्तै रह्यो।

२०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ स्थापना गरेर अन्य कम्युनिस्ट पार्टीका युवासङ्घलाई पनि एकीकृत गर्दै राष्ट्रिय राजनीतिमा २०७० पछि एकछत्र स्थापित हुन ओलीले कुनै कसर बाँकी राख्नु भएन। माओवादीप्रति कठोर आलोचक ओलीले निर्वाचनमा कांग्रेसविरुद्ध मोर्चाबन्दी गर्न माओवादीलाई नै सारथि बनाउनुभयो। झलनाथ र माधवकुमारले कम्युनिस्ट एकताको कुरा गर्दा ‘माओवादी’ सँग हुन्न भन्ने ओलीले उहाँहरूलाई पनि थाहा नदिई गर्नुभएको एकता ‘अभूतपूर्व’ मात्र होइन नेपाली कम्युनिस्ट आन्दोलनमा ‘कोशेढुङ्गा’ साबित हुने अनुमान आफैँले कागज गरेर कार्यान्वयन नगरेको अढाइ वर्षीय प्रधानमन्त्रित्वमा टुङ्गियो। यो गल्तीले कम्युनिस्ट पार्टीको वर्चस्व सकियो भनेर आकलन भइरहँदा पाँच वर्षलाई प्रतिपक्षीमा धकेलिएको नेपाली कांग्रेस तीन वर्ष नपुग्दै एमालेबाहेकका कम्युनिस्टको बुई चढेर सत्तामा पुग्यो। निर्वाचनमा पहिलो दल बन्यो। 

निर्वाचनपछि फेरि कम्युनिस्ट पार्टीहरू एक बनाएर सरकार र प्रदेश सरकार निर्माणमा ‘सुध्रिएको’ अनुभूत गराउन खोज्नु भएका ओलीको हठले लामो समय काम गरेन। र, यतिखेर पुरानै गठबन्धन एक मात्र भएको छैन, अरू साना दल पनि जोडिएका छन्। राष्ट्रपति र प्रधानमन्त्री दुवै खोज्ने कांग्रेसले प्रधानमन्त्री र सभामुख गुमाए पनि अरू सबै पदमा आफूले रोजेर लिने र अरूलाई मिलाएर दिने हैसियतमा पुगेको छ। 

दुई महिनाअघि मात्रै ओलीले आफ्नो चरित्र बदलेर नेपाली राजनीतिमा एक कदम पछि हटेको अनुभूत गर्दै निर्वाचनपछि जोडिएका र जोडिन खोजेका कम्युनिस्ट मनहरूलाई पुनः पुरानै व्यवहार दोहो-याएर निरास पारिरहँदा अबको प्रतिपक्षी कस्तो होला भन्ने अनुमानसमेत नेपाली जनताले गर्न सकेका छैनन्। किनभने ‘राष्ट्रपति एमालेले लिएर प्रधानमन्त्री कांग्रेसलाई दिन तयार छौँ, अब एमाले कांग्रेस बोक्न हतारिएको छ’ जस्ता भ्रमपूर्ण राजनीतिक गफ गरेर एमाले अहिले ओलीजस्तै अनि ओलीले चाहेजस्तै एमाले निर्माण भएको छ। यो राजनीतिक संस्कार ‘काशी जाने कुत्तीको बाटो’ झैँ बनेको छ। कम्युनिस्ट पार्टीमा लागेर सिङ्गो जीवन सकाएकाहरू, जेलनेल परेकाहरू एमालेको बाटोमा काँडा भएका छन्। अवसरवाद, प्रशंसावाद, अनुकूलका तर्कना र जालझेलयुक्त मिलेमतो तथा आलोचकलाई हेलोहोचोको संस्कृतिमा पर्याय बनेको छ एमाले। विभाजनपछि भूलसुधार, पश्चात्ताप, आत्मालोचना र पुनर्एकीकरण कम्युनिस्टको सिद्धान्त भए पनि एमाले नेतृत्वबाट यो सम्भव देखिएको छैन। र, त, एक भएका कम्युनिस्ट शक्ति दुई महिनामै टुटेका छन्। सयौँ नेताको व्यवस्थापन भताभुङ्ग भएको छ। हजारौँ कार्यकर्ताको अवसरमा लात हानिएको छ। लाखौँ सङ्गठित सदस्यकै आस्थामा प्रहार भएको छ। एमाले ‘क्षमायाचना’ गर्न पनि तयार देखिँदैन।

लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ।