लेक्पानी वर्षन लाग्यो दाउरा बाल तारु
मन् अरैइ मन्दिर जसो जोवन राख्यै फारु ।
नेपाल कृषिप्रधान देश हो । हामी किसानका सन्तान हौँ । काम विशेषले वर्तमानमा हामी आफ्नै मुलुकमा कोही सहरवासी भएका छौँ, कोही भने परदेशमा छौँ । असार महिनाको कृषि कार्यको व्यस्त समयले हामीलाई आआफ्नो जन्मभूमि र माटोको याद दिलाउँछ । अझ असार १५ लाई नेपाल सरकारले धान दिवस भनी घोषणा गरेपछि हामी जहाँ जहाँ बसे पनि रोपाइको याद आउँछ । मानु रोपी मुरी उमार्ने महिना असार महिनाले विशेष महìव राख्छ ।
ऐतिहासिक देउडा गीत पनि यसकै सेरोफेरोमा रचना गरिएको हो । घनघोर पानी परेका बेला एकातिर किसान आआफ्ना खेतमा बल्ल (गोरु) जोतिरहेका हुन्छन्, महिला वर्ग छुपुछुपु धानको बिउ रोपिरहेका देखिन्छन् । आपसमा रमाइलो मानी देउडा गीतका मिठामिठा भाकामा गीत पनि गाइरहेका हुन्छन् । जिन्दगीको त्यो रमाइलो क्षणको स्वाद कमैले चाख्न पाउँछन् । एकातिर खेत रोप्दाको ऐतिहासिक क्षण, अर्कोतिर घरको मालिक परदेसिएको पीडा । यी दुवैको सङ्गम रहेछ जिन्दगी । परदेशबाट आफ्नी जीवन सङ्गिनीलाई मन्दिर जस्तो मन राख्नु, यौवन साँचेर राख्नु असोज महिनामा धान काट्ने, थन्क्याउने बेला धन कमाएर घरदेशमा फर्कने छु भन्दै आश्वासन र रैवार दिन्छ पतिदेवले परदेशबाट जीवन सङ्गिनीलाई ।
माटोको सुगन्धबाट उम्रेका देउडाका विविध भाकाले सुदूरपश्चिम र कर्णाली प्रदेशका बस्ती बस्ती उज्यालो पारेको छ । जसरी यहाँ किसान दाजुभाइ दिदीबहिनीले असारमा धान रोप्ने, हलो जोत्ने, बाउसी (कोदालो) खन्ने काम गर्छन्, संस्कृतिप्रेमीले पनि मनमनमा गीतका भाका रोप्ने गर्छन् । प्रकृतिमा गीतसङ्गीतको महìव किसानले जति बुझेका हुन्छन् त्यति अर्थ र गीतको महìव अरूले बुझेका हुँदैनन् । रोपाइँ गर्दा महिलाले धान रोप्दै सामूहिक रूपमा गाएका देउडा गीतका भाका अरू बेलाका भन्दा पृथक् र मर्मस्पर्शी हुन्छन् ।
न पुग्या माइतहै ल्याउल्ली घर्खा चेली घर्खा
साईको मेरो भिट् हुँदैन लागि गयो वर्षा ।
आफ्नो कर्मभूमिमा पुगेपछि काम नगरी कहिल्यै बस्नु हँुदैन, अझ रोपाइँको बेला ‘दिनकी दिन्याणी रातकी रत्याणी’ गर्नु पर्छ छोरी । यति गर्दा पनि पेटभरी खान पुगेन भने माइती छौँ, चिन्ता न मान । बाबुले आफ्नी छोरीलाई दिएको अर्तीमय गीत हो माथिको । वर्षामा भेट न भए त के भो, असोज कात्तिकका उज्याला दिनमा त भेट होला भनी भरोसा दिलाउने गीत पनि हो माथिको । यी र यस्ता हजारौँ देउडा गीतले असार महिनाको मानिसको जनजीवनलाई प्रभावित पारेको हुन्छ, काम गर्दा प्रेरणा दिलाएको हुन्छ । त्यसैले देउडागीत किसानका भावनाका गीत हुन । प्रत्येक नवपिढीले यस्ता गीतलाई केवल वनजङ्गलमा मात्र होइन खेतखेतमा काम गर्दा प्रयोगमा ल्याइरहेका हुन्छन् ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको जनजीवन, गीतसङ्गीत, भाषा–संस्कृति, स्वर शैली भिन्न छ । केन्द्रीय राजधानीबाट ती प्रदेशलाई हेर्ने दृष्टि फरक छ । कतिपयले काली कर्णालीको भाषा बुझ्दैनन्, संस्कृति फरक छ भन्ने गर्छन् । नेपाली भाषाको उत्पत्ति जुम्लाको सिञ्जा उपत्यकाबाट भएको हो । देवनागरिक लिपिमा लिपिबद्ध छन्, यहाँ बोलिने अक्षर । अनि कसरी नबुझिने भन्नु र ? कर्णाली र सेती महाकाली प्रदेशका नागरिक गरिब छन् पनि भन्ने गरिन्छ केन्द्रबाट । त्यसमा सत्यता छैन । यी प्रदेशका हामी नागरिक हरेक क्षेत्रमा सबल छौँ, सक्षम छौँ ।
मार्सी धान फल्ने, अन्जना, बास्मती धान फल्ने काली कर्णालीका जिउलाको दृश्यावलोकन न गरेको व्यक्तिको मात्र भनाइ हो माथिको । जल जमिन, जङ्गल जडीबुटीको राजधानी पनि हो सुदूरपश्चिम र कर्णाली प्रदेश । अझ हालै पत्ता लागेको दैलेखको ग्यास भण्डारले निकट भविष्यमा हामी आर्थिक पक्षमा सबल हुने छौँ ।
रोपी खानु धनगढीमा गोडी खानु गर्खा
म पारी तराईदे पन सेती नदी पर्ख ।
सुदूरपश्चिमका बझाङ, बाजुरा, दार्चुला, बैतडी, अछाम जिल्लाका दुर्गम बस्तीलाई स्थानीय भाषामा गर्खा भनिन्छ । पाखो जमीन केही बढी भएकाले धान कोदो गोड्ने गरिन्छ । गाईवस्तुको मलका कारण उब्जनी भने प्रशस्तै हुन्छ । वर्षामासमा किसान धान कोदो गोड्नमा व्यस्त रहन्छन् । माथिको गीतले यी कुराको सङ्केत गर्छ । कवि र गीतकारले वर्षाको उर्लिरहेको सेती नदीलाई एकछिन भए पनि रोकेर मलाई पारी तराइदेऊ भनी अनुरोध गरेका कुरा पनि बताइएको छ । यी र यस्तै किसिमका वर्षामासका गीतले कतै प्रेमका कतै मिलन र विछोडका अनि कतै प्राकृतिक प्रकोपका कारण जनधनको नोक्सानी भएका वस्तुपरक विषय समेटेको पाइन्छ । कताकता संस्कृतका आदिकवि कालीदास, भारवीका अमर कृतिमा उल्लेख गरिएका मेघदूतका शैली भेटिन्छन् देउडा गीतमा पनि ।
देशका अन्य प्रदेशमा झैँ सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका जिउला (प्रशस्त धान फल्ने मलिला फाँट) मा रोपाइँ भइरहेका रैवार (खबर) छन् । कतै प्रशस्त पानी परिरहेकाले रोपाइँ गर्न सहज भएकोे, कतै भने पानी न परेकाले रोपाइँ गर्न कठिन भएको रैवार सुनिन्छ । जसलाई प्रकृतिको विशेषता नै मानिन्छ ।
बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलाई नयाँ मुलुक पनि भनिन्छ । अन्नका भण्डार मानिएका यी जिल्लाका मलिला फाँटमा जनसङ्ख्याको वृद्धिका कारण प्रत्येक वर्ष घर निर्माण भइरहेछन् । भविष्यमा कृषिमा आत्मनिर्भर हुन मुस्किल पर्छ । वर्तमानमा पनि बजारमा छिमेकी मुलुक भारतलगायतबाट चामल, दाललगायतका खाद्यान्न सामग्री आयात भएबाट नेपाली मुद्रा बिदेसिएको देखिन्छ । यही अवस्थालाई सम्झेर देउडाको आँसुकवि यसो भन्छन्–
पराई देशको चामल भन्दा आफ्नै देशको निको
रोग लाग्दछ शोक आउँदछ पराई देशको सिको ।
हुन पनि आफ्नो देशका तराईका मलिला फाट देखि पहाडी भूमिका नदी किनाराका मलिला खेतीयोग्य जमिनमा वर्षामासमा धान, कोदो, मास्र्या, फापर लगाए हिउँदमा लटरम्म बाला झुलेको देख्दा किसानको मन दङ्ग हुन्छ । खाद्यान्न अभाव हुँदैन । काली कर्णालीका मलिला भूमिलाई नेपाल सरकारले उचित संरक्षण गर्नु वाञ्छनीय देखिन्छ । बझाङका मलिला फाँट देवल, सुवेडा, पडेस, खेइरा, पिखेत, जुजी, छान्ना, थलारा, बुङ्गल, तम्तोली, बाजुरा जिल्लाका जिउला बुढीगङ्गा नगरपालिका ५ स्थित नुवाघर, बाबैजिउला, मार्तडीको बाउनी जिउला, जुगाडाको भौन्यारा, कोल्टी, बाह्बीस, सायल, माल्ता, यसै गरी अछामका उर्वर जिउलाहरू साँफेबगर, कालीमाटी, रामारोसन क्षेत्रका जिउला धान खेतीका लागि प्रख्यात मानिन्छन् । डोटीका दिपायल वान्डुरीसैन, तीखा, पूर्वी चौकी, गड्सेरा, डडेलधुरा जिल्लाका भागेश्वर, बगरकोट बैतडीका पाटन क्षेत्रलगायतका उर्वर भूमि हुन्, जसलाई अन्नका भण्डार मानिन्छन् । जहाँ प्रकृति र संस्कृतिप्रेमी किसानले असार महिनाभित्र मानु रोपेर मुरी उमार्ने काम गर्दछन् ।
डडेलधुरा बैतडीका बीचमी पाटन
हातकी रुमाल दिउला, सौरणी साँटन ।
वर्षामा घनघोर पानी पर्ने कामको चापले बेफुर्सदिलो पार्ने हुँदा चेलीबेटी माइत जान पाउँदैनन् । वर्तमानमा जस्तो सडकको सुविधा नभएकाले घनघस्याको उकालो, तेल्याको लेक, अनारखोलीको अनकन्टार जङ्गलको बाटो भएर दुवै जिल्लाका चेलीलाई माइतीघर पुग्न त्यसबेला कठिन हुने गथ्र्यो । सौरणी (गहिरो सम्झना) साट्नका लागि हातको रुमाल भए पनि रैवार कागसँग पठाइदिउला भनेर एक जना चेलीले माइतीलाई सुनाएको मिठो देउडा गीत हो माथिको ।
कुनै बेला कैलाली कञ्चनपुरलाई भावर प्रदेश भनिथ्यो । हिमाली भेगलाई हिमाल र भावर प्रदेशलाई माल पनि भन्ने गरिन्छ अहिले पनि । भावरको ४४ डिग्री तापमानको प्रवाह नगरी त्यसबेला पहाडी र चौधरी थारू महिला आआफ्ना शैलीका गीत गाउँदै धान रोपिरहेछन् खबर पठाउनुभएको छ– भीमदत्त नगरपालिका कञ्चनपुरबाट संस्कृतिकर्मी अफिलाल जोशी । जो अहिले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीका प्रमुख स्वकीय सचिवका रूपमा पनि सेवारत छन् । दोधारा चाँदनी नगरपालिकालगायत भीमदत्त पालिकाका बेलौरी, पुनर्बास, बेलडाडी, हल्दुरवाल, उल्टाखाम, तिलकपुरमा रोपाइँको रमाइलोले सबै जना दङ्ग पर्दै देउडा गीत गाइरहेका छन् ।
कैलाली जिल्लाको टीकापुर, चौमाला, पहलमानपुर, बनभिडा, मुढा, सत्ती, लम्की, चुहा, मुढा आदि मलिला फाँटमा गर्मीको प्रवाह न गरी विविध देउडा गीत गाउँदै हिलो छ्याप्दै, मुन्टोमा धानको बिउको भुरुणी लगाउँदै रमाइलो मानी खेत रोपिरहेका देखिन्छन् हाम्रा किसान दाजुबहिनी र आमाबुबा ।
यसैगरी कर्णाली प्रदेशको जुम्ला सदरमुकाम र सिञ्जा उपत्यकामा यस पटक समयमा नै धान रोप्ने काम भयो र हुँदै पनि छ भनी देउडा गायनका आदिपुरुष स्व. महाशङ्कर देवकोटाका पुत्र भानु देवकोटाले बताउनुभयो । मार्सी धान उत्पादन गर्ने कर्णाली प्रदेश दक्षिण एसियामा नै नमुनाको क्षेत्र मानिन्छ । कालीकोटका धान फल्ने जिउला रासकोट, मेहलमुढी, थिर्पु, बदालकोट, राम्नाकोटमा रोपाइँको रौनकले बस्ती उज्यालिएको देखिन्थ्यो कुनै बेला । अहिले पनि देउडा गीतमा सवाल जवाफ गर्दै रोपाई गरिरहेका छन् बैकिनी– भन्छन् कवि तथा पुराना गायक मोतिराज बम ।
दार्मजिउलो बाझै रैग्यो चङ्खेली छायाले
मौरी घुम्छ रस्का थोपा म घुम्छु मायाले ।
कुनै बेला १ को नोटमा हुम्लाको चङ्खेली हिमाल प्रकाशित गरेको थियो । चिसोका कारण दार्मजिउलोमा धानखेती न हुँदा जिल्लावासी दुःखित छन् । मुगु जिल्लाको सौरु भेग र खत्याड भेगमा पनि रोपाइँका बेला गीत गाउने मिठो खानेकुरा बाँडेर खाने, देवतापितृको भजन गाउने प्रचलन कायम छ ।
रोप्न्यारी बाइचौण राम्णी हलि राम्णा लुल
बान्नु त चिन्या कै होला पानी ल्याउन्या कुला ।
दैलेख र सुर्खेतका धान फल्ने जिउलामा देउडाको महìव बेग्लै छ । धानखेतीका लागि दैलेखका जिउलाको महìव जति छ, त्यति नै महìव सुर्खेतका रोप्न्यारी र हलीको छ भनी व्याख्या माथिको गीतले गरेको देखिन्छ । काठमाडौँ उपत्यका, नुवाकोट, धादिङ, रामेछाप, सिन्धुपाल्चोक दोलखालगायतका जिल्लामा असारे भाका र घासे गीतको महìव जति छ रोपाइँका बेला पूर्वाञ्चलका जिल्लामा गाइने संस्कृतिमय गीतको महìव त्यति नै छ भनी जनसांस्कृतिक महासङ्घका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी बताउनुहुन्छ ।