• ४ जेठ २०८१, शुक्रबार

धनकुटामा खानेपानीको समस्या

blog

साना सहरी खानेपानी आयोजनाअन्तर्गत पानी फिल्टर गर्न धनकुटा नगरपालिकामा बनाइएको च्याम्बर ।

कबिराज घिमिरे 

हिले, फागुन २९ गते । लामो समयसम्मको खानेपानीको समस्या समाधान गर्न २०७२ सालमा करिब २३ करोड रुपियाँको लागतमा धनकुटामा साना सहरी खानेपानी आयोजना सञ्चालन गरियो । जस अन्तर्गत निबुवा खोलाबाट करिब ४ किलो मिटर लिफ्टिङ्ग गरी पानी सङ्कलन गरी विभिन्न स्थानबाट बजारमा वितरण भएको हो । 

सुरुमा २४ सै घण्टा नगरवासीलाई पानी उपलब्ध गराउने भनिए पनि अहिले प्रतिसेकेण्ड ८ लिटर पानीको आपूर्ति भइरहेको छ । यस बाहेक धनकुटामा मुलको पानी प्रतिसेकेण्ड ४ लिटर र डिप बोरीङ्गबाट प्रतिसेकेण्ड १ लिटर गरी जम्मा १३ लिटर प्रतिसेकेण्ड उपलब्ध हुँदै आएको छ । तर धनकुटामा पानीको माग प्रतिसेकेण्ड २४ लिटरभन्दा बढी रहेको छ । मागको आधा मात्र पानी उपलब्ध हुँदा धनकुटामा पानीको समस्या उस्तै छ ।

बर्खामा आइहाले धमिलो पानी आउने तथा हिउँदमा पानीको समस्यासँग जुध्नु धनकुटा नगरपालिका वासीको वर्षौँ अघिदेखिको समस्या अहिले पनि उस्तै छ । धनकुटामा खानेपानी व्यवस्थापन गर्न भन्दै विभिन्न योजनाअघि सारिए पनि तर पानीको समस्या भने जस्ताको तस्तै छ । पानीको सही तरीकाले व्यवस्थापन हुन नसक्दा बर्सेनि समस्या भोग्दै आएको धनकुटा नगरपालिका वडा नम्बर ३ का खेम थापा बताउनुहुन्छ । नगर खानेपानीले खानेपानीको लागि राम्रोसँग काम नगरेको गुनासो उहाँको छ । 

“केही वर्ष अघिसम्म पानी सहजै थियो तर ४/५ वर्ष यता हिउँदमा पानीको चरम समस्या हुन थालेको छ,” थापा भन्नुहुन्छ ।

धनकुटा बजारमा अहिले दैनिक खानेपानी कुनैपनि लाइनमा आउँदैन । कतै तीन चार दिनमा एक पटक आउँछ भने कनै हप्ता दिनमा एक पटक मात्र आउँछ । 

खानेपानी सहज हुन नसके पछि दुई वर्षअघि धनकुटाका नगरपालिकाले उपभोक्ता समिति मातहतमा रहेको नगर खानेपानीलाई आफ्नो मातहतमा ल्यायो र खानेपानी सहज गर्न भन्दै नगरका विभिन्न ५ स्थानमा डिपबोरीङ्ग गर्‍यो । तर दुई स्थानका डिपबोरीङ्गमा प्रतिसेकेण्ड एक एक लिटर बाहेक अन्य ३ स्थानका डिपबोरीङ्गबाट पानी आउन सकेन। 

मूल, डिपबोरीङ्ग, लिफ्टिङ्ग गरी जम्मा १२ लिटर प्रतिसेकेण्ड मात्र पानी उपलब्ध हुँदै आएको छ । तर माग भने २४ लिटर प्रतिसेकेण्ड रहेको छ । मागभन्दा आधा मात्र पानी उपलब्ध हुँदा धनकुटामा अहिले पानीको हाहाकार जस्तै भएको धनकुटा नगरपालिका वडा नम्बर ५ का स्थानीय शम्भु प्रधान गुनासो गर्नुहुन्छ । पटक पटकका योजनाबाट खानेपानी पर्याप्त हुन नसकेपछि यसको दीर्घकालीन विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ । भएका मुहान संरक्षण, थप मुहान व्यवस्थापन तथा नयाँ मुहानको खोजी गर्नुपर्ने स्थानीयको माग छ ।

लिफ्टिङ्ग खानेपानीमा तथा डिपबोरीङ्गमा भनेजस्तो पानी नआएर समस्या भएको भन्दै खानेपानीको समस्या समाधान गर्न नगरपालिकाले भने तमोर नदिबाटसमेत तान्ने योजना बनाएको छ । पहिले सञ्चालन भएका योजनाबाट भने जसरी पानी आएन अब नयाँ योजनमार्फत जनतालाई पानी खुवाउने व्यवस्था गर्नुपर्ने धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङको भनाइ छ ।

धनकुटा नगर खानेपानी अन्तर्गत अहिले करिब तीन हजार छ सय ४० घर धुरी छन् । सम्पूर्ण घरधुरीमा खानेपानीको अवस्था उस्तै छ । पानीको स्रोत घट्नु तथा उपभोक्ता बर्सेनि बढ्दै जाँदा धनकुटामा खानेपानीको अवस्था झनै विकराल बन्दै गएको छ ।