• १४ वैशाख २०८१, शुक्रबार

भण्डारी–पौडेल भेटवार्ता

राष्ट्रपति भण्डारीको बिदाइ पौडेलको शपथ आज

blog

काठमाडौँ, फागुन २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालको अन्तिम दिन आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाइ ग्रहण गर्नुभयो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीलाई आइतबार औपचारिक रूपमा बिदाइ गरिएको हो ।

उहाँ सोमबार शीतल निवासबाट आफ्नो निवासमा सर्नुहुनेछ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपतिको कार्यभार सम्हाल्नुहुनेछ । 

प्रथम राष्ट्रपति डा. रामवरण यादव झन्डै आठ वर्ष र राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो र तेस्रो कार्यकालका लागि सात वर्ष गरी १५ वर्ष राष्ट्र प्रमुखको दायित्वमा रहनुभयो । १५ वर्षसम्म राष्ट्रपति संस्था, राष्ट्रपतिमा आउनुभएका दुई जनाको भूमिकाबारे प्रशंसा र आलोचना हुँदै आएका छन् । 

राष्ट्रपतिको भूमिका कस्तो हुनुपर्छ भन्ने जिज्ञासामा प्रथम राष्ट्रपति डा. यादवले बुँदागत सुझावसहित अभिभावकीय भूमिकाप्रति उच्चतम नैतिकता प्रस्तुत गर्न आग्रह गर्नुभएको छ । उहाँले संविधान निर्माणपछि राष्ट्रप्रमुखको दायित्वलाई राम्ररी बुझ्ने व्यक्तिले यो जिम्मेवारी पाएकाले आफू आशावादी रहेको बताउनुभयो । 

उहाँले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको आआफ्नै भूमिका हुने बताउँदै लोकतन्त्रको उच्चतम अभ्यासका रूपमा यसलाई स्वीकार गर्नुपर्ने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “म जन्मिनुभन्दा पहिल्यै नेपाली जनताले फाँसीको तख्तामा चढेको बलमा अहिले लोकतन्त्र आएको हो । राष्ट्रपति भनेको राष्ट्रप्रमुख हो, यसमा ‘स्किल’ चाहिन्छ । लोकतान्त्रिक व्यवस्थाका लागि लडेकै व्यक्ति राष्ट्रपति संस्थामा बसेकाले यो व्यवस्था अगाडि जान्छ भन्नेमा म विश्वस्त छु ।”

‘राष्ट्रपति संस्था निष्पक्ष हुनुपर्छ’

डा. यादवले आफ्नो कार्यकालमा पनि विवाद आएको स्वीकार्नुभयो । तर आगामी दिनमा यस्ता विषयप्रति सचेत हुनुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “म जुन बेलामा राष्ट्रपति भएँ, त्यति बेला बृहत् शान्ति सम्झौता गरेर अगाडि बढेको परिस्थिति थियो । सात पार्टी र तत्कालीन नेकपा माओवादीबीच समझदारी भए पनि सङ्क्रमणकाल थियो । त्यसबेला दुईवटा सेना थियो । शान्ति प्रक्रिया पूर्णता दिनुपर्ने चुनौती थियो । त्यसैले केही विवाद भए । अब त्यस्तो हुनुहुँदैन ।”

डा. यादवले राष्ट्रपतिको भूमिका निष्पक्ष हुनुपर्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा राजनीतिक दलहरू र आफूले गरेका कामको पनि इतिहासमा समीक्षा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “मैले के गरेँ ? दलहरूको सहयोग कस्तो रह्यो भन्ने इतिहासको समीक्षा होला । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाको पनि इतिहासमा समीक्षा हुन्छ र हामीले अध्ययन गर्ने हो । तर कहाँ कहाँ केकस्ता गल्ती भए, तिनको समीक्षा गरेर अघि बढ्नुपर्छ ।”

संविधान रक्षा मेरो दायित्व : पौडेल

प्रथम राष्ट्रपति डा. यादवले राष्ट्रप्रति निष्ठावान् रहेर निष्पक्ष र उच्च नैतिकता प्रस्तुत गर्नुपर्ने सुझाव दिइरहँदा नवनिर्वाचित राष्ट्रपति पौडेलले आफ्नो चिन्ता देश र व्यवस्थाप्रति रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक स्थायित्व, संविधानको स्थायित्वप्रति म निष्पक्ष रूपमा जिम्मेवारी पूरा गर्नेछु । इतिहासबाट सिकेर देशको भविष्य निर्माणमा दलहरूलाई अभिप्रेरित गर्नेछु ।”

उहाँले मुलुकलाई सही दिशा दिँदै व्यवस्था बचाउने, सुदृढीकरण गर्ने, स्थिरता दिएर देशलाई उन्नति गर्ने अवसर ल्याउन अभिभावकीय भूमिकामा रहने बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई सत्ताभन्दा व्यवस्थाको चिन्ता छ । सबै मिलेर न्यायोचित निर्णय गरेर देशलाई निकास दिनुपर्छ भन्ने मेरो आग्रह हो ।” उहाँले संविधान, लोकतान्त्रिक गणतन्त्र र समावेशी व्यवस्थालाई जोगाउन र सुदृढ बनाउन क्रियाशील रहने र आफ्नो भूमिका निष्पक्ष रूपमा पूरा गर्ने प्रष्ट पार्नुभयो ।

राष्ट्रपति भण्डारीको कार्यकाल

राष्ट्रपति विद्यादेवी भण्डारी भने आफ्नो कार्यकालबारे कुरा गर्न उपलब्ध हुनुभएन । भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले उहाँको सात वर्षे कार्यकाल गौरवपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्माननीय राष्ट्रपतिज्यूको कार्यकाललाई गौरवशाली अवधिका रूपमा लिन्छु ।”उहाँले राष्ट्रपति संस्थाको विषयमा केही पक्ष सुधार्दै लानुपर्ने भए समय क्रममा त्यसलाई परिमार्जन गर्ने भनाइ राख्नुभयो । 

भण्डारी–पौडेल भेटवार्ता 

राष्ट्रपति विद्यादेवी भण्डारी र नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीको निमन्त्रणामा नवनिर्वाचित राष्ट्रपति पौडेल शीतल निवास जानुभएको हो । 

उहाँहरूबीच आइतबार भएको भेटमा समसामयिक राजनीतिका सन्दर्भमा कुराकानी भएको छ । भेटमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालको अनुभव सुनाउनुभएको थियो । नवनिर्वाचित राष्ट्रपति पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले राष्ट्रपति भण्डारीले पौडेललाई शीतल निवास बोलाउनुभएको र समसामयिक विषयमा कुराकानी भएको बताउनुभयो ।  राष्ट्रपति भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफलसँगै बिदाइ भेट गर्नुभएको छ।

उहाँले प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभयो। भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति भण्डारीको कार्यकाल सम्पन्न भएकोमा बधाई दिनुभयो। राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरूसँग भेट गर्नुभएको छ। 

राष्ट्रपतिका प्रेस विज्ञ टीकाप्रसाद ढकालका अनुसार राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गर्न सहयोग गर्ने विभिन्न कार्यकालका प्रधानमन्त्रीहरू, राजनीतिक नेतृत्व र सम्बद्ध सबैलाई धन्यवाद दिनुभयो।