• ११ फागुन २०८०, शुक्रबार

हाम्रो सम्पदा

च्याउकोटको सिद्धबाबा मन्दिर

blog

सिन्धुली, फागुन २७ गते । प्रख्यात सिद्ध बाबाको मन्दिर सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ४ स्थित च्याउ कोट डाँडा अर्थात् सिन्धुलीगढीमा अवस्थित रहेको छ ।

काठमाडौँबाट बिपी राजमार्ग हुँदै सिन्धुली जाँदा करिब १३८ किमीको दुरीमा रहेको ऐतिहासिक स्थल सिन्धुलीगढी फोर्टको ठुलो गढी जाँदा सुरु मै बायाँतर्फ करिब ५ मिनेट ओरालो हिँडेपछि प्रख्यात सिद्धबाबाको पुरानो मन्दिर रहेको छ। 

सिन्धुलीगढीको मर्मत सम्भारको कार्य गर्दा उकालो सिँढी कै बायाँतर्फ नजिकै सिद्धबाबाकै नाममा नयाँ मन्दिर निर्माण गरिएको छ । तर यो मन्दिर भने पुरानो सिद्धबाबाको मन्दिर होइन। यही मन्दिर भएर ओरालोमा पुरानो सिद्धबाबाको मन्दिर अवस्थित छ।

प्राकृतिक सम्पदाले भरिपूर्ण यस सिद्धबाबाको मन्दिरदेखि पूर्वतर्फ सिध्देश्वर बाबा गएर बसेको धरम पानीको पहाड देखिन्छ भने, पश्चिमतर्फ सिद्धबाबा स्नान गर्ने पोखरीको आकारको वरिपरि हरियाली डाँडा, गाउँवस्तीको रमणीय फाँट आदी यहाँबाट देखिन्छ। उत्तरतर्फको उकालोमा ऐतिहासिक स्थल सिन्धुलीगढीको महाभारत टापु र दक्षिणतर्फ हरिया डाँडाहरूको दृश्यावलोकन गर्न सकिन्छ।

सिद्ध बाबाको स्थापना वि.स. १८१२ भन्दा अगाडी भएको भनाई यस मन्दिरमा रहेको घण्टमा लेखिएको अभिलेखबाट पनि अनुमान गर्न सकिन्छ। किम्बदन्ती अनुसार सिद्धबाबाको उत्पत्ति सम्बन्धमा सुनकोसी नदीले यसै ठाउँबाट महाभारत पहाड फोरेर ग्वाँगखोला भएर तराईको फाँटलाई नष्ट गर्न खोज्दा महादेवको खुट्टाले सिन्धुलीगढी र अर्को खुट्टाले यस मन्दिर भएको स्थान च्याँउकोटमा टेकी नदीलाई फर्काएको र शिव भगवानले टेकेको ठाउँमा सिद्धबाबाको स्थानको स्थापना गरिएको हो भन्ने रहेको छ। 

जनविश्वास अनुसार ब्रिटिस सेनाहरू कप्तान किनलोकको नेतृत्वमा आएका सैनिकहरू, गोर्खाली फौजसँग यही सिद्ध बाबाको शक्तिले गर्दा युद्धमा परास्त भई फिर्ता हुनु परेको भन्ने समेत छ।  

साथै, यही स्थलमा गौतम ऋषिले तपस्या गरेर सिद्धि प्राप्त गरेको हुँदा, यो स्थल सिन्धुलीमाढीको च्याउ कोट “ सिद्धबाबा” को स्थापना गरेको हुनुपर्दछ भन्ने पनि  छ। स्थानीयवासीको अनुसार यस मन्दिरमा फुकेको शङ्खको आवाज जनकपुरको जानकी मन्दिरसम्म पनि सुनिन्छ भन्ने पनि छ। 

यस सिद्ध बाबाको मन्दिरमा पूजा अर्चना गर्नाले आफूले चिताएको कुरा पुग्ने जनविश्वास समेत रहेको छ। मन्दिर परिसरमा रहेका पुराना इनार, शिलाहरू आदीले पनि यस सिद्ध बाबाको मन्दिर पुरानो भएको प्रमाणित समेत हुन्छ।  


Author
राजेश ढुंगाना

ढुंगाना गोरखापत्र संस्थानका पूर्व प्रमुख फोटो सम्पादक तथा हाल स्वतन्त्र फोटो पत्रकार हुनुहुन्छ ।