• १३ असोज २०८१, आइतबार

मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न स्वीकृति दिइएको छैन : प्रधानमन्त्री प्रचण्ड

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, फागुन २३ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको बताउनुभएको छ। नेकपा (एमाले) अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएको आरोप लगाइरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो जवाफ दिनुभएको हो। 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अहिले मुस्ताङको विषयमा बडो चर्चा भइरहेको उल्लेख गर्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालय भन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाइरहेको स्पष्ट पार्नुभयो। एमाले अध्यक्ष ओलीको नाम नलिई प्रधानमन्त्री प्रचण्डले आफूले सो चर्चाको विषयमा कसैलाई आरोप/प्रत्यारोप गर्ने पक्षमा नरहेको बताउनुभयो। 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘अहिले मुस्ताङको विषयलाई लिएर बडो चर्चा/परिचर्चा हुने गरेको छ। मुस्ताङमा विश्वविद्यालय खोल्ने रे ! मुस्ताङमा अलि धेरै मान्छेको ध्यान छ। मुस्ताङको बारेमा धेरै पहिलेदेखि चर्चा, परिचर्चा हुने गरेको छ। मुस्ताङमा अमूल्य खनिज पदार्थ छन्।  त्यो खनिज पदार्थको उत्पादन र उत्खनन् त्यसको प्रक्रिया मात्रै हामीले ठिक ढंगले गर्न सक्यौ भने सयौं वर्षका लागि नेपालीहको आर्थिक स्थिति संसारकै उच्च बनाउन सकिन्छ भन्ने चर्चा छन्। मुस्ताङको विषयमा हिजोआज एउटा चर्चा तपाईहरुले सुन्नु भएको छ। मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्ने कुरा भन्ने पनि आयो। पक्कै पनि त्यहाँ स्थानीय तहबाट कलेज खोल्ने चर्चा धेरै पहिलेदेखि भएको रहेछ। तर नेपाल सरकारले स्वीकृति दिएको स्थिति होइन।’’ 

प्रधानमन्त्री प्रचण्डले मुस्ताङमा भएको खनिज पदार्थबारे स्वदेशमा भन्दा पनि विदेशी बढी जानकार रहेको आफूले सुनेको बताउनुभयो। उहाँले मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठिक ढंगले उपयोग गर्न सके मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने बताउनुभयो। 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘मैले कसैलाई अरोप र प्रत्यारोप गर्न खोजेको होइन। मुस्ताङको चर्चा आउने बित्तिकै अलि बढी हामी नेपाली संवेदनशील किन हुने गर्छौं भन्दा हाम्रो प्रकृतिको मार्गभित्र धेरै यस्ता वस्तु र खनिज छन्। जसलाई हामीले ठिक ढंगले अध्ययन गरेर उत्खनन् गर्यौ‌ भने त्यसले नेपालमा एउटा आमूल परिवर्तन ल्याउन सक्छ भन्ने कुराको प्रमाण हो। मुस्ताङमात्रै होइन। देशका विभिन्न भागमा विभिन्न किसिमका स्रोत छन्। पेट्रोल र तेल उत्पादनको सम्भावनामा पनि हामी धेरै अगाडि बढेका छौं।’’

प्रधानमन्त्री दाहालले मुस्ताङ मात्रै नभएर मुलुकको विभिन्न भागमा विभिन्न किसिमका प्राकृतिक स्रोतहरु रहेको बताउनुभयो।