गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २२ गते । सहिद शुक्र माध्यमिक विद्यालय परिसरमा शनिबार कला शिक्षकको सहभागितामा ‘कला कार्यशाला’ सम्पन्न भएको छ । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले काठमाडौँ महानगरको शहीद शक्र माध्यमिक विद्यालयले शिक्षासँगै सिप कार्यक्रम र विद्यार्थीलाई सिर्जनशील क्षेत्रसँग जोड्न सञ्चालन गरेको कला विषयको अध्ययनले नयाँ/नयाँ कलाकार जन्माउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले काठमाडौँ महानगरका विद्यालयमा कला विषयका अध्यापनमा संलग्न शिक्षकलाई सम्मान गर्दै आगामी दिनमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रतिष्ठानसँग जोडेर कलाकारिता क्षेत्रमा नाम र दाम कमाउने वातावरण बनाइने बताउनुभयो । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले ललितकला क्याम्पसपछि कला विभाग नै राखेर कक्षा ११ र १२ का विद्यार्थीलाई कला विषयको अध्यापन गराउने सहिद शुक्रमा कला विषयको अध्यापन गर्ने कुराले कला शिक्षकमार्फत पनि प्रचार हुने विश्वास व्यक्त गर्नुभयो । प्राध्यापक राधेश्याम मुल्मीले राजधानीमा सञ्चालित सामुदायिक विद्यालयले सहिद शुक्र जस्तै विद्यार्थीलाई सिपसँग जोड्न कला विषयको अध्यापन गराउनुपर्ने बताउनुभयो । सहिद शुक्र विद्यालयका प्रधानाध्यापक शैली सिंह राठौरले महानगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमध्ये विद्यार्थीलाई जीवनोपयोगी सिपसँग जोड्न कला विषयको अध्यापन गराउने एक मात्र सामुदायिक विद्यालय भएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस ढुङ्गेलले सहिद शुक्र माविले शिक्षासँगै सिर्जना, सिपसँग जोड्न विसं २०७९ देखि कला विभाग राखेर अध्यापन गराइँदै आएको जानकारी दिनुभयो । व्यवसायी कलाकार सङ्घका अध्यक्ष प्रेमलाल श्रेष्ठले कला क्षेत्रसँग विद्यार्थीलाई जोड्नु भनेको नयाँ कलाकार उत्पादनका लागि अवसर दिनु हो, भन्नुभयो । कला शिक्षक केशवराज खनालको संयोजकत्वमा आयोजित कला शिक्षक सम्मान तथा कला कार्यशालामा सुरेम देशार, विपना महर्जन, मनहरा प्रजापति, रेणुका महर्जन, राजकृष्ण महर्जन, डिबी यम्फु, सुमन श्रेष्ठ, दीपक कुँवर र राजु पिठाकोटेलगायत २५ जना कला शिक्षकको सहभागिता रहेको थियो ।