• १२ मंसिर २०८१, बुधबार

दार्चुलामा जिप दुर्घटना : एकको मृत्यु, नौ घाइते

blog

दार्चुलामा भएको जिप दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरिदै । तस्बिर : लोकेन्द्र जोशी

लोकेन्द्र जोशी

दार्चुला, फागुन २३ गते । दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनुभएकी भारतको पिथौरागढ जिल्लाको धार्चुला सिमखोलाकी ६० वर्षीया कालीदेवी नेगीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य तीन जनालाई उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयले जानकारी दिनुभयो । 

मङ्गलबार मधेस प्रदेश ०३–००–०३४० नम्बरको जिप महाकाली नगरपालिका –४ बांगाबगर खानेपानी ट्याङ्कीनजिक लास्कु खोलामा खसेको उहाँले बताउनुभयो । उहाँहरु डुङरी मन्दिरमा पूजापाठ गर्न आएको बताइएको छ । 

जिप दुर्घटनामा महाकाली नगरपालिका –२ बुढिचौराका २४ वर्षीय जिपचालक मोहनसिंह लोथ्याल, भारतीय नागरिक ७ वर्षीया विमलादेवी नेगी, ५५ वर्षीय मख्खनराम नेगी, ६ वर्षीया किरणकुमारी आग्री, ३८ वर्षीय शान्तिदेवी नेगी, वर्ष ४७ का दिवान आग्री, ७ वर्षीय जोतविरसिंह कुवँर, २७ वर्षीया अन्जुदेवी कुवँर र ५ वर्षीय गुरुजोत सरदार घाइते भएको उहाँले बताउनुभयो । 

मख्खनराम नेगी, किरणकुमारी आग्री र ७ वर्षीया बालिका विमलादेवी नेगीलाई थप उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको छ । अन्य घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । जिपमा चालकसहित १० जना सवार थिए ।