• ११ मंसिर २०८१, मङ्गलबार

केदारको ‘ओलो’ का कारण होली नखेल्ने गाउँ

blog

होली नखेलिने ग्वाल्लेक गाउँ । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, फागुन २३ गते । बैतडीका अधिकांश गाउँमा रङ्गको पर्व होली खेलिए पनि बैतडीको गाल्लेक गाउँमा सदियौँदेखि होली खेलिदैंन । ग्वाल्लेक केदार धामको ‘ओलो’ (देवताको इच्छा) का कारण दशरथ चन्द नगरपालिका–९, ग्वाल्लेकमा होली खेल्ने परम्परा छैन । 

साबिकको गाल्लेक गाविसका पुराना नौ वडा (हाल: दशरथ चन्द नगरपालिका–९) का १७ वटा गाउँ-टोलका करिब पाँच हजार जनसङ्ख्या देउताका कारण गाउँमा होली मनाउँदैनन् । 

देउताका कारण गाउँमा रङ्ग खेल्ने, बाजा बजाउने र होली गाउने परम्परा नभएको वडा अध्यक्ष मोहनदेव जोशीले बताउनुभयो । ग्वाल्लेक गाउँका मानिस बाहिर गएर भने होली खेल्ने गरेको उहाँले बताउनुभयो । 

ग्वाल्लेकमा २०२४ मा खेलिएको थियो होली 

ग्वाल्लेक गाउँमा विक्रम संवत् २०२४ सालमा होली खेलिएको इतिहास छ । स्थानीय भाषा पाठशालामा पढाउन भारतबाट आएका शिक्षकले विद्यार्थी जम्मा गरेर होली खेलेको जानकारले बताएका छन् । यद्यपि होली खेल्दा अनिष्ट भएको किंवदन्ती छ । ग्वाल्लेक केदारका मुखिया शिवराज जोशीका अनुसार भारतको पिथौरागढ घर भएका शिक्षक गाउँको भाषा पाठशालामा शिक्षक हुनुहुन्न्थो । उहाँले हेली खेल्दा गाउँमा असिना परेर अनिकाल भएको भनाई छ । होली खेल्ने शिक्षकको कोठामा आगलागीसमेत भएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो,“ २०२४ सालमा एक पटक मात्रै होली खेलियो । त्यसअघि र पछि गाउँमा कहिल्यै होली खेलिएको इतिहास र परम्परा छैन । मानिस मर्दासमेत ग्वाल्लेकको तिताखोली गाउँमा रातो कात्रो ओढाइँदैन । रातो कपडा किने पनि घाटमा पुग्ने बेला मात्रै कात्रो ओढाइन्छ ।” 

गाल्लेकसहित बैतडीमा तीन केदार 

चार केदारमध्ये बैतडीमा तीन केदार रहेका छन् । ग्वाल्लेककेदार, श्रीकेदार र रौलकेदार बैतडीमा छन् भने ध्वज केदार भारतको पिथौरागढको ओखला र अस्कोटमा अवस्थित छन् । बैतडीको ग्वाल्लेकबाट ध्वजकेदार देख्न सकिन्छ । केदारलाई हिन्दुको आराध्यदेव मानिन्छ । बैतडीका स्थानीयवासी चार धाममध्ये गङ्गोत्री, यमनोत्री र बद्रीनाथको मात्रै दर्शन गर्छन् । चार केदार यहीँ भएकाले केदारनाथको दर्शनका लागि जाने परम्परा नरहेको ग्वाल्लेक केदारका मुखिया शिवराज जोशीले बताउनुभयो । 

ग्वाल्लेकमा बोल्ने ढुङ्गाको पूजा 

ग्वाल्लेक केदारमा बोल्ने ढुङ्गाको रुपमा स्थानीयले “धज्या ढुङ्गा”को पूजा गर्दै आएका छन् । गाउँमा कुनै अनिष्ट भए धज्या ढुङ्गा बोल्छ भन्ने जनविश्वास  । धज्या ÷ धाद, धदिन्या को अर्थः स्थानीय भाषामा बोलाउने भन्ने हुन्छ । 

धज्या ढुङ्गामा  विवाह भएर ग्वाल्लेक गाउँमा आएका नवदुलहीले आफूले पहिरेको पोतेबाट दाना निकाले ढुङ्गामा चढाउने परम्परा रहेको स्थानीय महेशदत्त जोशीले बताउनुभयो ।  धज्या ढुङ्गा रहेको स्थानलाई पोते हाल्ने सैनीका नामले चिन्ने गरिन्छ । 

“धज्या ढुङ्गा”को बारेमा भारतीय लेखकले यात्रा संस्मरणमा उल्लेख गरेको तथ्यसमेत फेला परेको      छ । नेपाली मूलका भारतीय लेखक भवानीदत्त जोशी “पारखी”ले सन् १९७९ मा “स्वर्गादपी गरियसी” नामको यात्रा संस्मरणमा “धज्याढुङ्गा”को बारेले लेख्नुभएको छ । हिन्दी भाषामा लेखिएको उक्त संस्मरणमा जोशीले लेख्नुभएको छ, “ मेरो जन्मस्थान नेपालको बैतडी पुग्दा मेरी आमाले मलाई त्यो पहाड देखाउनुभयो जहाँ, “धज्या ढुङ्गा” छ । धज्या ढुङ्गा अन्यायमा परेको बेला बोल्ने जनविश्वास छ । 

ग्वाल्लेक केदार संरक्षित वन  

ग्वाल्लेक क्षेत्र धार्मिक हिसाबले जति महत्त्वपूर्ण छ पर्यावरणीय दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण रहेका कारण नेपाल सरकारले ग्वाल्लेकलाई संरक्षित वनका रूपमा कार्ययोजना अघि बढाएको छ । समुद्री सतहबाट दुई हजार सात सय मिटर उचाइमा रहेको ग्वाल्लेक केदार क्षेत्रलाई पवित्र धार्मिक तीर्थस्थल मानिन्छ । यहाँ नेपाल र भारतबाट तीर्थालु आउने गरेका छन् । 

ग्वाल्लेक संरक्षित वनमा संसारबाट लोप भइसकेको र नेपालमा मात्र पाइने सिलङ्गोलगायत सतुवा, पाँचऔंले, पाखनवेद, सुगन्धवाल, चिराइतो, कौ–कौ, सिमजडी, बोजोलगायत ६५ भन्दा बढी जडीबुटी पाइन्छन् । ग्वाल्लेक क्षेत्रमा बाघ, कालो भालु, तित्रा, च्याखुरा, कालिजको वासस्थान रहेको डिभिजन वन कार्यालय बैतडीले जानकारी दिएकाे छ ।