• ११ मंसिर २०८१, मङ्गलबार

भाषा, संस्कृति साहित्य र बसोवास

blog

भाषा मानव जीवन सञ्चालनका एउटा मुख्य माध्यम हो । भाषाबिना हाम्रो दैनन्दिनी चल्न सक्दैन । भाषा नै मानव जीवन सञ्चालनको मेरुदण्ड हो । यस्तै मानव इतिहासका पाना पल्टाउने एउटा मुख्य साधन भाषा नै हो । जति बेलादेखि मानवले भाषाको प्रयोग जान्यो त्यति बेलैदेखि मानव संस्कृतिको प्रादुर्भाव भएको हो । संस्कृति मानव सभ्यताको प्रमुख आधार हो । संस्कृतिले नै मानव कति विकसित छ भन्ने निक्र्योल गर्छ । सभ्य रूपले विकसित मानवको संस्कृति पनि विकसित र शिष्ट हुन्छ । मानव सभ्यता कत्तिको विकसित र सभ्य छ भन्ने छुट्याउने वा दाँज्ने आधार नै संस्कृति हो । भाषिक र सांस्कृतिक रूपले समृद्ध समाजमा नै साहित्य सिर्जनाको थालनी हुन्छ । साहित्य बौद्धिक समाजको ऐना हो । साहित्यले समाजमा भएका विकृति, विसङ्गति, उत्थान, अवनति, युद्ध, मनोरञ्जन, मनोह्लाद र बौद्धिक, दार्शनिक, सांस्कृतिक अनि भाषिक विकासलाई लिखित वा मौखिक रूपमा समाजसामु छर्लङ्ग पारिदिन्छ । साहित्य र इतिहासबाट नै पहिलेका मानिस र उनीहरूको सभ्यताका बारेमा हामीले थाहा पाउँछौँ । अहिले यहाँ लेखिँदै गरेको भाषा बोल्ने मानिसको बसोवासलाई मुख्यतः दुई भागमा बाँड्न सकिन्छ । पुरानो बसोवास र नयाँ बसोवास क्षेत्र । पुरानो बसोवास क्षेत्रलाई पनि भुटान, म्यान्मार, नेपाल, भारतका सिक्किम, आसाम, बङ्गाल, मणिपुर, बनारस, आदि स्थान समेट्न सकिन्छ भने नयाँ बसोवास क्षेत्रका रूपमा अमेरिका, क्यानेडा, अस्ट्रेलिया र युरोपका विभिन्न देशलाई लिन सकिन्छ ।

बसोवास र भाषा

मानिस जहाँ बस्छ त्यही बसाइका आधारमा उसको भाषा विकसित हुन्छ । बसेका ठाउँको मौसम, जाडो, गर्मी, विकटता अनि अन्य जाति र समुदायसँगको हेलमेलले भाषा प्रभावित हुन्छ । मानिसले जीवन जिउनका लागि विभिन्न इलम गर्छ । त्यही इलम गराइले भाषालाई विकसित गराउन भूमिका खेल्छ । कसैको घुमन्ते जीवनवृति हुन्छ, कसैको खेती, कसैको सिकार अनि कसैको वस्तु विनिमय वा व्यापार जीवनवृत्ति हुन्छ । यी सबै वृत्ति गराइले मानिसको भाषा कस्तो बनिने भन्ने निक्र्योल गर्छ । त्यस्तै सुखी अर्थात् खान लाउन पुग्ने ठाउँका मानिसले मात्र समृद्ध भाषाको विकास गर्न सक्छ ।

बसोवास र संस्कृति

मान्छे सचेत प्राणी भएकाले खायो अनि गजधम्म बसेर दिन काट्न वा समय बिताउन सक्दैन । उसलाई दिन काट्न र समय बिताउन, मनोरञ्जन गर्नुपर्छ वा केही न केही नयाँ खानुपर्छ, खेल्नुपर्छ, उत्सव आयोजना गर्नुपर्छ । अनि त्यसका लागि कला, साहित्य, नृत्य, गायन आदि विकसित गर्नुपर्ने हुन्छ । यी सबै कुराको समष्टिलाई नै संस्कृति मानिन्छ । संस्कृति कस्तो बनिन्छ भन्ने कुरा मानिसको बसोवास कहाँ अनि कस्तो ठाउँमा छ भन्ने कुरामा निर्भर हुन्छ । खानलाउन प्रशस्त पुग्ने ठाउँमा बसोवास गर्ने मानव जातिको संस्कृति पनि समृद्ध हुन्छ । समाज सुखी नभई संस्कृतिको विकास हुन सम्भव नै छैन । त्यसैले संस्कृतिको विकासको मुख्य आधार समृद्धिलाई मान्न सकिन्छ । 

बसोवास र साहित्य

साहित्य समाजको ऐना मानिन्छ । समाजको जे–जस्तो विकास, उन्नति र अवनति हुँदैछ त्यो साहित्यमा छर्लङ्ग देखिन्छ । खानलाउन टम्म पुगेर अलिकति पर सार्न पुग्ने समाज बनिएपछि अनि सांस्कृतिक रूपमा दर्बिलो बनेको मानव समाजमा साहित्य सिर्जना हुन थाल्छ । बोलेर वा लेखेर मनका भाव, समाजका विसङ्गति, उद्वेग र आवेगलाई कलात्मक ढङ्गले अरूलाई सुनौँसुनौँ पढौँपढौँ लाग्ने गरी व्यक्त गरिएको कलात्मक सिर्जनालाई साहित्य भनिन्छ । यिनै साहित्यका आधारमा उहिलेको समाज र संस्कृति कस्तो थियो भन्ने अहिले जान्न पाइन्छ । 

बसोवासी अन्तर्विरोध

सृष्टिकै बेलादेखि मानवले बसोवासका लागि अन्तर्विरोध सहँदै आएको हो । आफ्नो हुलको वा बथानको सुरक्षाका लागि सिकारको क्षेत्र, खेतीको क्षेत्र गौचरनको क्षेत्र र वस्तुविनिमय वा व्यापारको क्षेत्रलाई जोगाउनका लागि अन्तर्विरोध गर्दै वा झेल्दै आएको मान्छेको इतिहास छ । हाल आएर आफ्नो स्वत्व, भाषा, संस्कृति, जाति र इतिहास जोगाउन पनि अन्तर्विरोध गर्दै र झेल्दै गरेको देखिन्छ । यसैगरी आफ्नो राजनीतिक अभीष्ट साध्न र कसैलाई सधाउन, चखाउन अनि घुँडा टेकाउन पनि दुष्ट, स्वार्थी राजनीतिक र सामाजिक व्यक्तिद्वारा मिलेर बसेका विभिन्न धर्म, संस्कृति, राष्ट्रियता र भाषा भएका जनसमूहलाई जुधाएर भेटिस् ! खुच्चिङ ! भनेर रमाउनका लागि पनि द्वन्द्व वा अन्तर्विरोध सिर्जना गरिन्छ । बसोवासको अन्तर्विरोध वा द्वन्द्वले गर्दा आज विश्वमा लाखौँ शरणार्थीले शरण खोज्नु परिरहेको छ । यसैगरी भल, पहिरो, भूकम्प, सुनामीजस्ता प्राकृतिक आपत्, युद्ध, राज्यको कुदृष्टि, र अत्याचार, दमन र पक्षपातले पनि बसोवास क्षेत्रको अन्तर्विरोध वा द्वन्द्व सिर्जित भएको पाइन्छ । 

खानपान र भासंसा (भाषा, संस्कृति र साहित्य)

मानिसले निम्मे जे खान्छ र जेजस्ता पेयपदार्थ पिउँछ तिनले उसको रूप रङ, बोली, जिउडाल र भाषिक, सामाजिक, सांस्कृतिक र साहित्यिक विकासलाई प्रभावित पार्छ । भोजनले नै मानिसको बोली, भाषा र भाषिक वर्णको संरचना पनि कस्तो हुने भन्ने निर्धारण गर्छ । मानिसको खानपानले नै भाषा, साहित्य र संस्कृति कस्तो हुनेछ भन्ने खुट्याउँछ । किनभने समाजको खानपान राम्रो वा समृद्ध छ भने भाषा, संस्कृति र साहित्य पनि उत्कृष्ट हुन्छ । खानपान राम्रो नहुने समाजको भाषा साहित्य र संस्कृति क्लिष्ट, खज्मजिएको र सीमित हुन्छ । भाषाभित्र पनि शब्द र वर्णहरूको सङ्ख्यामा कमी, भाषामा क्लिष्टता अनि बहुअर्थी शब्दको बाहुल्य हुन्छ । समृद्ध समाजको भाषामा यसको ठीक विपरीत हुन्छ । 

रहनसहन र भासंसा

मानिसको लवाइ, व्यवहार र परम्परा आदिको ढाँचा वा जीवन निर्वाह पद्धति कस्तो छ त्यसका आधारमा उसको भाषा संस्कृति र साहित्य निर्माण हुन्छ । सारै लेक वा हिमाली क्षेत्रमा बस्नेको भाषा, संस्कृति र साहित्य बेँसीमा बस्नेका तुलनामा फरक हुन्छ । त्यस्तै पानी धेरै पर्ने ठाउँ, पानी कम पर्ने क्षेत्र, भूकम्प बढी आउने क्षेत्र, मरुभूमि, समुद्री तट र ठूला नगरमा बस्ने मानिसको रहनसहन फरकफरक हुने भएकाले त्यसको प्रभाव भाषा, संस्कृति र साहित्यमा पनि पर्छ ।

भौगोलिक सुगमता, दुर्गमता र भासंसा

भौगोलिक रूपमा सुगम र धेरै मानिसको समागम हुने ठाउँमा सुगमता र जनसम्पर्कले बौद्धिकता बढ्ने हुँदा भाषा, संस्कृति र साहित्यको सजिलै विकास हुन्छ । अब जो मान्छे अति दुर्गम ठाउँमा बस्छ, उसको धेरै मानिससँग सम्पर्क नै हुँदैन । अरू समाजमा के कस्तो विकास र प्रगति भइरहेको छ थाहै नहुने हुँदा सङ्कुचित भएर भाषा, संस्कृति र साहित्यको विकास हुन सक्दैन ।

धर्म र भासंसा

जुन समाजमा जस्तो धर्म मानिन्छ त्यहीअनुसारको भाषा, संस्कृति र साहित्य सिर्जित हुन्छ । भाषाले उन्नति गर्ला, संस्कृति फस्टाउला तर साहित्य समृद्ध हुनलाई भने त्यो धर्म उदार हुन जरुरी हुन्छ । अनुदार धर्मका परिधिमा बसेर साहित्य सिर्जित हुँदैन । धेरै उदार वा निषेधात्मक समाज वा राजनीतिक व्यवस्था भएका ठाउँमा र कुनै विशेष धर्म अनुयायी समुदायमा साहित्य सिर्जना नगन्य भएको पाइन्छ ।

समाज र भासंसा

समाज जस्तो छ त्यस्तै प्रति रूप भाषा, संस्कृति र साहित्यको पनि हुन्छ । समाज मनोरञ्जनप्रिय बहिर्मुखी छ भने त्यस समाजमा भासंसाको विकास क्रमागत रूपमा हुन्छ । यसलाई अझ स्पष्ट भन्नुपर्दा– मनोरञ्जनप्रिय समाजले बेलाबेला पर्व, उत्सव, मेला र खेलकुद आयोजना गर्छ । यस्ता आयोजनले मानिस मानिसबीच हेलमेल बढाउँछ । हेलमेल बढेपछि बोल्नु प¥यो, जसले गर्दा भाषाको विकास भयो । यसैगरी माथि उल्लेख गरिएका आयोजनाले कला, साहित्य र संस्कृतिलाई विकास गर्छ । त्यस्तै बर्हिमुखी समाज छ भने समाजको उदारताले गर्दा कला साहित्य संस्कृति र भाषाको विकास हुन आधार बनिन्छ र टेवा पुग्छ ।

राजनीति र भासंसा

कुनै पनि देशको राजनीतिले त्यस देशमा बस्ने नागरिकको भासंसामा धेरै नै ठूलो प्रभाव पार्छ । यसको उदाहरणका रूपमा इन्डिया, भुटान र नेपाललाई लिन सकिन्छ । इन्डियामा सबभन्दा पहिला आएर शासन गर्ने विदेशीमा पर्सियन (इरानी) हरू पर्छन् । अहिले पनि इन्डियाका भाषामा पर्सियन भाषा, संस्कृति र साहित्यको प्रभाव रहिरहेको छ । नेपालमा पर्सियनले शासन नगरे पनि प्रशस्तै पर्सियन शब्द प्रयोग गरिन्छ । भुटानमा एक जमानामा नेपाली बोल्ने जनसङ्ख्या ५३ प्रतिशत थियो । 

आज पनि लगभग ३३ प्रतिशत नेपाली भाषी, लगभग ४५ प्रतिशत छाङ्ला, १२ प्रतिशत जोखाभाषी अनि १० प्रतिशत अन्यभाषी छन् र पनि १२ प्रतिशत हुने जोङ्खा राष्ट्रभाषा छ । इन्डियामा मुसलमान शासकले शासन गरे अनि अरबी भाषाका शब्द, संस्कृति र त्यसैअनुरूपको साहित्य लादेर गए । अङ्‍ग्रेजले त झन् धेरै भासंसामा प्रभाव पारेर गए । हाल नेपालमा पनि विदेशी हस्तक्षेपले भासंसामा धेरै प्रभाव पर्न थालेको पाइन्छ ।

विभिन्न अतिवाद र भासंसा

राजनीतिक, धार्मिक, भाषिक, सामाजिक र सांस्कृतिक अतिवादले भाषा, संस्कृति र साहित्यलाई प्रभाव पार्छ । यस्ता अतिवादले या त भासंसाको विकासै हुन दिँदैन या सीमित पारिदिन्छ । अतिवादले, देश, समाज, धर्म, भाषा संस्कृति र साहित्यलाई विकास हुन दिँदैन र समाजको उन्नति प्रगतिमा नै बाधक भइदिन्छ । यी सबै अतिवादका उदाहरण अफ्गानिस्तान, पाकिस्तान, इरान, भुटान र बर्मा आदि देशलाई लिन सकिन्छ ।

भासंसिक विचलन

हामी भाषा प्रयोग गर्दा, संस्कृति मनाउँदा र साहित्य लेख्दा अर्काको भाषा, अर्काको संस्कृति र अर्काको कला साहित्यलाई मात्रै राम्रो हो भन्ने मानसिकतामा पुगेका छौँ । हामी भुटानमा बसौँ, इन्डियामा बसौँ, नेपालमा बसौँ वा बर्मामा बसौँ सबैको भासंसिक विचलनमा एउटै अवस्था छ । हामी इङ्लिस नमिसाई आफ्नो मातृभाषा नै बोल्दैनौँ । हामी आफ्ना नानीहरूलाई हौस्याउनु प¥यो । विचलनले हाम्रो जीवन पद्धति नै बदल्न थालिसकेको छ । हामी अर्काको दास बन्ने बाटामा अग्रसर छौँ ।

राधसिक (राजनीति, धर्म, समाज) विचलन

हाल हरेक क्षेत्रमा राजनीतिक, धार्मिक र सामाजिक विचलन भइरहेको पाइन्छ । यो राधसिक विचलनले हाम्रो जातिलाई दुर्गतितिर लैजाँदैछ । हामी जहाँ बसेका भए पनि स्थानीय रूपमा आफ्ना सामूहिक हित, भाषिक संस्कृतिक र साहित्यिक हित जोगाउन छोडेर अरू समूहको हित हुने तर आफू निमिट्यान हुने गरी व्यवहार गरिरहेको पाउँछौँ । राजनीतिका नाममा आफूलाई मेटाएर अरूको भलो गर्ने र रमाउने प्रवृत्ति जहीँतहीँ छ । त्यसैगरी आफ्नो परम्परागत धर्म छोडी अरू तिलस्मी धर्म मनाउँदा अरूका पछि लागेर आफ्नै मूल घरलाई गाली गरिरहेको अवस्था छ । त्यस्तै सामाजिक रूपमा पनि ठिम्मरीकृत भएर आफ्नो स्वत्व बिर्सिएको अवस्था छ । स्वास्थ्य जनसङ्ख्यामा मात्र होइन मानसिकतामा पनि विचलन आएको छ । ‘निमको रूख रोपेर कहाँ फल्दछ कागती’ भनेझैँ इङ्लिस संस्कृति सिकाएर हाम्रो हिन्दु संस्कृति खोज्दा कहाँ पाइन्छ ? अनि हो यस्ता मानसिक विचलनले भाषा, संस्कृति र साहित्यको विकासमा अवरोध आइपर्छ ।

अवसानतिर हामी

भाषा, संस्कृति, साहित्य, राजनीति, धर्म, समाज, रहनसहन र खानपानमा विचलन र बसोवासी अन्तर्विरोधले गर्दा हामी अवसानतिर लम्कँदै गरेको स्पष्ट अनुभूति गराउँछ । राजनीतिक, सामाजिक र धार्मिक अतिवादले जनसङ्ख्यामा र मानसिकतामा विचलन ल्याएको छ । अवसानोन्मुख हामीले बेलैमा माथि उल्लिखित सबै समस्यालाई समाधानको बाटोतिर डो-याउन सक्यौँ भने हाम्रो भविष्य उज्ज्वल बन्न सक्छ । नभए हामी बिस्तारै मासिन्छौँ वा अर्को कुनै जातिमा विलय हुनेछौँ । 

विषय अवसान

हाम्रो बसोवास कस्तो सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, भाषिक र साहित्य परिवेशमा भइरहेको छ त्यसैअनुरूप हाम्रो समाजको विकास हुन्छ । समाजलाई विकासका बाटामा डो-याउन आफ्नो भाषा, संस्कृति र साहित्य जोगाउनु र विकसित गर्नुपर्छ । भाषा, संस्कृति र साहित्य जोगाउन र विकसित गर्न सकिएन भने विस्तारै हाम्रो समाज पनि मासिनेछ । त्यसरी हामी मासिएपछि हामी अर्काका अधीनमा हुनेछौँ । आफ्नो भन्ने केही हुने छैन । भाषा अर्कैको बोल्न थालिसक्यौँ; विस्तारै संस्कृति पनि अँगाल्दैछौँ; रहनसहन र खानपान पनि सिक्दैछौँ; अनि अब यस्तो हाम्रो प्रवृत्तिले हामीलाई कहाँ पु-याउला दैवकै जिम्मा छोड्छु । 

लेखक भुटानमा भाषा संस्कृतिसम्बन्धी अध्येता हुनुहुन्छ ।