• १२ मंसिर २०८१, बुधबार

सुदूरपश्चिम डायरी

पानी र खानीको बैतडी

blog

गोकर्ण दयाल

बैतडी, फागुन १९ गते ।  शहीद दशरथ चन्द जन्मेको बैतडी जिल्ला सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला हो । पूर्वमा सेती नदी र पश्चिममा महाकाली नदीले फन्को मारेर अपार जलसम्पदाले घेरिएको बैतडीको भूगोलले पूर्वमा डोटी र बझाङ, उत्तरमा दार्चुला, दक्षिणमा डडेल्धुरा र पश्चिममा भारतको उत्तराखण्ड राज्यको पिथौरागढ र चम्पावत जिल्लालाई छोएको छ । एक सङ्घीय निर्वाचन क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तहका ८४ वडा छन् । नेपाल सरकारले बैतडीलाई साक्षर जिल्ला घोषणा गरेको छ । यहाँको साक्षरता ९६.५ प्रतिशत रहेको छ । 

जलसम्पदा र जडीबुटी

चर्चित पञ्चेश्वर बहुउद्देश्यीय परियोजना र पश्चिम सेती परियोजना बैतडीमै छन् । त्योबाहेक चमेलिया जलविद्युत् र सुर्नया नदीबाट लघु जलविद्युत् उत्पादन हुने गरेको छ । तर यहाँका ४५ हजार घरधुरीमध्ये हाल १२ हजार घरधुरीमा मात्रै विद्युत् पुगेको छ । 

यहाँ कृषि मल बन्ने फस्फोरस खानीसमेत रहेको छ । बैतडीको सिगास गाउँपालिका र पुरचौडी नगरपालिकामा फलाम खानी रहेका छन् । दशरथचन्द नगरपालिकाको ग्वाल्लेक संरक्षित वन र सिगास गाउँपालिकाको सिगास संरक्षित वनमा लौठसल्ला, सुगन्धवाल, पाँचऔँले, पाखनवेदलगायत ६५ भन्दा बढी जडीबुटी र स्वच्छ खानेपानीका मुहान छन् । ग्वाल्लेक संरक्षित वनको पानीले बैतडी सदरमुकामको खानेपानी आपूर्ति गरेको छ । प्रदेश सरकारले यहाँको संरक्षित वनको रेखदेख डिभिजन वन कार्यालयमार्फत गर्दै आइरहेको छ । ग्वाल्लेक र सिगास संरक्षित वनमा क्यान्सर रोग निको पार्न प्रयोग हुने औषधीय गुण भएको लौठसल्लासमेत पाइने डिभिजन वन कार्यालयको तथ्याङ्क छ । 

चौरासी प्रतिशतलाई खानेपानी 

बैतडीका ८४ प्रतिशत घरधुरी खानेपानीको पहुँचमा पुगेका छन् । खानेपानीको पहुँच पुग्न बाँकी १६ प्रतिशत घरधुरीमा खानेपानी पु¥याउन १४४ वटा खानेपानीका क्रमागत योजना चालू अवस्थामा छन् । खानेपानी पहुँचबाट टाढा रहेका घरपरिवारका लागि जिल्लामा आठवटा लिफ्टिङ प्रविधिका गरी १४४ वटा खानेपानी योजना निर्माणाधीन अवस्थामा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले बताउनुभयो । बैतडीको मेलौली नगरपालिका, सिगास गाउँपालिकाको मैनलामा लिफ्टिङ प्रविधिबाट यसै वर्ष सबै घरधुरीमा धारा पु¥याउने लक्ष्यसाथ काम भइरहेको उहाँले बताउनुभयो । 

सतबाँझ–श्रीभावर सडक 

बैतडीको सतबाँझ–श्रीभावर–हाट हुँदै दार्चुलासम्म पुग्ने प्रदेश गौरवको ९७ किलोमिटर सडकखण्ड कालोपत्रे सुरु गरेको छ । चालू आर्थिक वर्षभित्र सतबाँझ–श्रीभावरखण्डको ३० किलोमिटर र श्रीभावर–हाटसम्मको २२ किलोमिटर सडक कालोपत्रे सुरु भएको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ । सो सडकमा ३१ करोड खर्च हुने बताइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो गौरवको योजनामा समेटेर कालोपत्रे अघि बढाएको छ । 

फेरियो बुहारी नपाउने गाउँ 

खानेपानी समस्याका कारण ‘बुहारी नपाउने गाउँ’मा प्रदेश सरकारले सात करोड रुपियाँको लिफ्ट खानेपानी योजना दिएपछि सिगास गाउँपालिका–३ मा खानेपानी आइपुगेको छ । सिगास गाउँपालिका–३ का लगन, ठूलीसैनी, मझभ्वा, परचाल गाउँका स्थानीय पानीका लागि दुई घण्टा टाढा हिँडेर छिमेकी डडेल्धुराको नवदुर्गा गाउँपालिकाबाट पानी बोकेर जीविका चलाउँदै आएका थिए । प्रदेश सरकारको सात करोड रुपियाँमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीको प्राविधिक सहयोग तथा उपभोक्ता समितिको अगुवाइमा गाउँमा खानेपानी पुग्दा खुसियाली छाएको उपभोक्ता सुन्दरसिंह धामीले बताउनुभयो । 

बैतडीमै विशेषज्ञ डाक्टर 

‘प्राइमरी अस्पताल’ले दिने सेवा सुविधामध्ये बैतडी अस्पताल देशकै दोस्रो अस्पतालमध्ये पर्छ । १५ शøयाको जिल्ला अस्पतालले हाल नयाँ भवनबाट ३७ शøयाको उपचार सेवा दिँदै आएको अस्पतालका चिकित्सक निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. धीरज जैसवालले बताउनुभयो ।

जिल्ला अस्पताल बैतडीमा हाल पाँच जना विशेषज्ञ डाक्टरसहित १२ जना चिकित्सकले उपचार सेवा दिन थालेपछि अस्पतालमा दैनिक १५० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले बैतडी अस्पतालमा विशेषज्ञ डाक्टर पठाएपछि उपचारका लागि भारत जाने बिरामीले जिल्लामै उपचार गर्न पाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो । यसअघि उपचारका लागि भारत जानुपर्दा हजारौँ रुपियाँ खर्च हुने गरेकोमा अहिले सरकारी अस्पतालबाट विशेषज्ञ चिकित्सकीय सेवा पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । हर्निया र एपेन्डिसाइटिसको शल्यक्रिया बैतडी अस्पतालमै हुन थालेको छ । यसअघि एम्बुलेन्सबाट धनगढी र नेपालगञ्ज जाँदा एपेन्डिसाइटिसका बिरामीको ७० हजार रुपियाँभन्दा बढी खर्च हुने गरेको थियो । 

बैतडी अस्पतालमा सङ्घीय सरकारको डेढ करोड रुपियाँ र सुदूरपश्चिम प्रदेश सरकारको ८० लाख रुपियाँमा अक्सिजन प्लान्ट जडान भएपछि उपचार सेवा थप प्रभावकारी बनेको डा. थानेश्वर न्यौपानेले बताउनुभयो । यसका साथै बैतडी अस्पतालमा अत्याधुनिक ल्याब सेवा सञ्चालन गरेर ब्लड कल्चर (रक्त परीक्षण) सेवा सुरु भएको उहाँले बताउनुभयो । 


नमुना विद्यालय बढ्दै 

बैतडीमा चार वर्षअघि दुईवटा मात्रै नमुना विद्यालय थिए । अहिले नमुना विद्यालयको सङ्ख्या चार पुगेको छ । नमुना विद्यालयलाई सङ्घीय सरकारले वार्षिक एक करोड रुपियाँका दरले बजेटसमेत दिने गरेको ज्ञानेश्वर नमुना विद्यालयले जनाएको छ । नेपाल सरकारले नमुना विद्यालय घोषणा गरेपछि ज्ञानेश्वर मावि, विजयपुरले निकै राम्रो शैक्षिक प्रगति गरेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । 

बैतडीमा विक्रम संवत् १९७६ सालमा विद्यालय स्थापना भएर शैक्षिक गतिविधि अघि बढेको देखिन्छ । बैतडी सदरमुकामको गढीमा बैतडी भाषा पाठशालाका नामबाट स्थापना भएको हालको दशरथचन्द आधारभूत विद्यालय बैतडीकै पहिलो विद्यालय भएको तथ्याङ्क छ ।  शिक्षा विकास तथा समन्वय एकाइ बैतडीको तथ्याङ्कअनुसार यहाँ हाल १३३ वटा मावि, १०४ वटा निमावि र ३२५ आधारभूत विद्यालय र सातवटा निजी संस्थागत विद्यालय गरी ५६९ विद्यालय छन् । उच्च शिक्षाका लागि बैतडीमा १४ वटा क्याम्पससमेत रहेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो । बैतडीको साक्षरता ९६.५ प्रतिशत पुगेपछि नेपाल सरकारले बैतडीलाई २०७६ सालमा साक्षर जिल्ला घोषणा गरेको थियो । 


एकद्वार सङ्कट व्यवस्थापन केन्द्र

हिंसा र बलात्कारमा परेका महिलाका लागि जिल्ला अस्पताल बैतडीले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन गरेको छ । केन्द्रमा स्वास्थ्योपचार, कानुनी उपचार र सामाजिक मनोपरामर्श सेवा दिने गरिएको स्रोत व्यक्ति डा. थानेश्वर न्यौपानेले बताउनुभयो । हिंसा र बलात्कारमा परेका महिलालाई निःशुल्क खाने, बस्ने व्यवस्थासमेत रहेको उहाँले बताउनुभयो । चालू आर्थिक वर्षको साउनदेखि माघसम्म हिंसा र बलात्कारमा परेका १२२ जना महिलाले सेवा पाएको उहाँले जानकारी दिनुभयो । 

फलाम खानी पनि 

बैतडीको सिगास गाउँपालिका–१, सुगरखालमा रहेको फलाम खानीमा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको परीक्षणबाट पुष्टि भएको छ । बैतडी–बझाङ जोड्ने जयपृथ्वी मार्गको विन्द्रावन पक्की सडकबाट तीन किलोमिटर ग्रामीण सडकखण्डमा फलाम खानी रहेको छ । खानी तथा भू–गर्भ विभागबाट उत्खननको अनुमति लिएर शुभम मिनरल्स प्राइभेट लिमिटेडले फलाम खोज तथा अनुसन्धान गर्दा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको पाइएको हो । फलाम खानी उत्खनन गर्न बिजुलीका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई अनुरोध गरिएको कम्पनीका श्याम अधिकारीले बताउनुभयो । 

कृषि मलको खानी 

बैतडीको दोगडाकेदार गाउँपालिका–७ र ३ नं. वडाको बसौरामा कृषि मल बन्ने फस्फोराइट खानी रहेको पुष्टि भएको छ । खानी उत्खनन गर्न तीन वर्षअघि भू–गर्भ विभागका वरिष्ठ भूगर्भविद् कुमार खड्काको नेतृत्वमा १५ जनाको टोलीले ५५ दिनसम्म खानीमा ड्रिल (प्वाल पार्ने काम) गरेर नेपालमै कृषि मल बन्ने सम्भावना औँल्याएर टोली फर्किएको थियो । खानीको विस्तृत अनुसन्धान भएर सम्भावना पुष्टि भइसके पनि खानी सञ्चालनका लागि पहल नभएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । 

सात भगवती बहिनी 

नेपाल सरकारले बैतडीको त्रिपुरासुन्दरी मन्दिरलाई पर्यटकीय सूचीको देशका उत्कृष्ट सयवटा गन्तव्यमा राखेको छ । सुदूरपश्चिमका १६ वटा प्रसिद्ध भगवतीमध्ये बैतडीमा मात्रै सातवटा भगवती बहिनीका मन्दिर छन् । त्रिपुरासुन्दरी (रणसैनी), निङ्लासैनी, डिलासैनी, फालङासैनी, कफलासैनी, मेलौली र पोटलासैनी गरी सातवटा भगवती बहिनीका मन्दिर रहेका छन् । 

यी मन्दिरको दर्शन गर्न नेपालका मात्रै नभई, भारतबाट समेत हजारौँको सङ्ख्यामा धार्मिक पर्यटक भित्रिने गरेका छन् । त्रिपुरासुन्दरी, निङ्लासैनी र मेलौली मन्दिरमा भारतबाट हजारौँ धार्मिक पर्यटक आउने गरेको त्रिपुरा मन्दिरका भण्डारी चन्द्रसिंह थापाले बताउनुभयो । बैतडी सदरमुकामबाट तीन किलोमिटर पश्चिम गोठालापानी–झुलाघाट सडकखण्डमा रहेको त्रिपुरासुन्दरी मन्दिरलाई रणसैनी भगवतीको नामले चिनिन्छ । अन्न भर्ने एक रैण्या जौँ ( ४० माना)मा प्राप्त भएकी हुनाले रणसैनी नाम रहेको किंवदन्ती पनि रहेको छ । 

त्रिपुरासुन्दरी मन्दिरमा वर्षमा ६२ दिन पूजा लाग्ने र प्रत्येक औँसी, पूर्णिमा, सङ्क्रान्ति, एवं चारवटा नवरात्रिमा पूजा लाग्ने मन्दिरका पुजारी पण्डित विष्णुदत्त लेखक बताउनुहुन्छ । दसैँका बेला यहाँ राँगा र बोकाको बलिसहित ठूलो मेला लाग्ने गर्छ । भारतीय सीमा बजार झुलाघाटमा मोटरेबल पुल छैन । भारतीयहरू महाकाली नदीमाथि रहेको झुलाघाटस्थित झोलुङ्गेपुल तरेर त्रिपुरासुन्दरीको दर्शन गर्न आउने गरेका छन् । झुलाघाटमा पक्की पुल निर्माण हुन सके लाखौँ धार्मिक पर्यटक भित्रिने सम्भावना रहेको छ । 


आलु पकेट क्षेत्र 

बैतडीको पाटन नगरपालिका–८, ९ र १० नम्बर वडा बैतडीमा धेरै आलु उत्पादन हुने वडाका रूपमा रहेको कृषि ज्ञानकेन्द्र बैतडीले उक्त वडालाई आलु पकेट क्षेत्र घोषणा गरिएको जानकारी दिएको छ । पाटन नगरपालिकाका तीन वडालाई आलु पकेट क्षेत्र घोषणा गरेर आलु भण्डारका लागि प्रदेश सरकारबाट एक करोड रुपियाँ बजेट आएपछि २७ लाख खर्च गरेर कोल्ड स्टोर निर्माण भइरहेको कृषि ज्ञानकेन्द्र बैतडीका प्रमुख श्याम चौधरीले बताउनुभयो । कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार बैतडीमा वार्षिक आठ हजार ४०० मेट्रिक टन आलु उत्पादन हुने गरेको छ । यहाँ अन्य तरकारीको तुलनामा आलु खेती धेरै हुने गरेको तथ्याङ्क छ । 

टिकटमा सप्तदेवल 

दशरथचन्द नगरपालिका–४, देवलहाटमा शिखर वास्तुशैलीमा निर्मित पञ्चदेवल बैतडीको अर्को पर्यटकीय क्षेत्र हो । यहाँका देवलका खाँबो, ढोका, दलान र छतमा सुर्की प्रयोग गरी टुप्पोमा ढुङ्गाकै चक्र कुँदेर राखिएकोे छ । भूकम्प जाँदा दुईवटा चक्र भुइँमा खस्दा देवलभित्रबाट ढाल/तरवार, चाँदी र काँसका भाँडाकुडा भेटिएका छन् । 

नेपाल सरकार, सूचना तथा प्रविधि मन्त्रालयको हुलाक सेवा विभागले पञ्चदेवल अङ्कित हुलाक टिकट प्रकाशन गर्दा चक्रबारे भने ध्यान पु¥याउन नसक्दा चक्रबिनाकै हुलाक टिकट बजार आएका छन् । हुलाक सेवा विभागले बैतडीका सातवटा देवल देखिने गरेर हुलाक टिकट प्रकाशित गर्नुपर्ने स्थानीय ८३ वर्षीय वीरबहादुर चन्दले बताउनुभयो । 


हट्यो भारतसँगको परनिर्भरता 

चार दशकदेखि सडक सपना बोक्दै आइरहेको बैतडीको ८० हजार जनसङ्ख्या ओगटेको तल्लोस्वराड क्षेत्रका तीनवटा पालिका सडकसित जोडिएपछि भारतसँगको परनिर्भरता हटेको छ । सङ्घ र प्रदेश सरकारको पहलमा यहाँ अहिले कालोपत्रे सडक पुगेको छ । महाकालीकिनारका पञ्चेश्वर, शिवनाथ र मध्यभागको मेलौली नगरपालिकामा पाँच वर्षअघि सर्वसाधारण भारतीय बजारमा निर्भर थिए । किनमेलका लागि भारतीय बजार जानुपर्ने भएका कारण स्थानीय नेपाली मुद्रा चलाउन मान्दैनथे । सडक पुगेपछि अहिले तल्लोस्वराड क्षेत्रमा सुदूरपश्चिम प्रदेश राजधानीबाट सरर्र मोटर चल्न थालेका छन् । स्वराड क्षेत्रका तीनवटा पालिका जोड्न पाटन–पञ्चेश्वर ६५ किमि सडक निर्माणलगत्तै कालोपत्रे हुन थालेपछि प्रदेश र सङ्घीय राजधानी जान भारतको बाटो हिँड्नुपर्ने बाध्यता अन्त्य भएको हो । 

सङ्घ र प्रदेश सरकारको दुई अर्ब रुपियाँ खर्चमा पाटन–पञ्चेश्वर सडकखण्डको ६५ मध्ये मेलौलीसम्म ३० किलोमिटर सडक कालोपत्रे भएर सार्वजनिक बस चल्न थालेका छन् । बाँकी सडकखण्डको करिब १० किलोमिटर चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने सुदूरपश्चिम प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालय बैतडीले जानकारी दिएको छ । भारतमा निर्भर बैतडीको स्वराड क्षेत्रका तीनवटा स्थानीय तह सडक सञ्जालसित जोडिएपछि उपभोग्य वस्तु किन्न नेपाली टोपी लुकाएर भारत जानुपर्ने पीडा अन्त्य भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । स्वराडवासीले गाउँमा सडक पुगेपछि नेपाली मुद्रा चिन्न थालेका छन् । सडक पुगेपछि नेपालबाटै उपभोग्य वस्तु ढुवानी हुन थालेको छ । स्वराड क्षेत्रले बल्ल नेपाली भएको अनुभूति गर्न पाएको स्थानीय वीरेन्द्र चन्दले बताउनुभयो । पाटन–पञ्चेश्वर सडकसँगै बैतडी सदरमुकाम नजिकबाट देहिमाडौँ–गिरेगाडा–पञ्चेश्वर सडकखण्डसमेत कालोपत्रे सुरु भएको छ । पञ्चेश्वरमा दुई ठाउँबाट एकैसाथ कालोपत्रे सडक पुग्न थालेको पूर्वाधार विकास कार्यालय बैतडीका प्राविधिक नरेश भुलले बताउनुभयो ।