• १२ मंसिर २०८१, बुधबार

राष्ट्रिय गान गाएर सेवा प्रवाह सुरु

blog

बझाङ समाचारदाता 

बझाङ, फागुन १८ गते । जिल्ला प्रशासन कार्यालय बझाङले कार्यालयबाट प्रवाह गरिने सेवा दिनुभन्दा अगाडि राष्ट्रिय गान गाएर सेवा शुभारम्भ गरेको छ। बुधबार जिल्ला प्रशासन कार्यालय बझाङले बिहान १० बजे सबै कर्मचारीलाई प्रशासनको प्राङ्गणमा उभ्याई राष्ट्रिय गान गाउन लगाएर काम सुरु गरेको हो। 

कर्मचारीलाई सेवा प्रवाहप्रति उत्तरदायी बनाई नियमित समयमै कार्यालयमा उपस्थित गराउनका लागि प्रत्येक दिन बिहान १० बजे राष्ट्रिय गान गाउने र लगत्तै सेवाग्राहीको काम गर्ने उद्देश्यले कार्यक्रमको थालनी गरिएको हो। प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले भन्नुभयो, “यस प्रक्रियाले कर्मचारीमा समेत राष्ट्रप्रतिको समर्पणको भाव, राष्ट्रप्रतिको अपनत्वको भावको समेत विकास भई, लगनशीलता, काम गर्ने हौसलाका साथै कर्मचारी समयमै कार्यालयमा हाजिर हुने बानीको समेत विकास हुन्छ।” उहाँले यस कार्यलाई निरन्तरता दिइने बताउँदै यसले कर्मचारी र सेवाग्राही दुवैलाई समेत अनुशासित हुन टेवा पुग्ने विश्वास रहेकोसमेत बताउनुभयो। 

विगतमा कर्मचारी समयमा कार्यालयमा उपस्थित नहुँदा घण्टौँसम्म नागरिकता लिन तथा राहदानीको काम गर्नसमेत कर्मचारीलाई कुरेर बस्नुपर्ने अवस्था हुन्थ्यो। कर्मचारी आफ्नो समयमा उपस्थित भए सेवा प्रवाह छिटो छरितो भरपर्दो हुने स्थानीय सेवाग्राहीको भनाइ छ। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेको जिल्ला आगमनपछि जिल्लाको गृह प्रशासनमा समेत सुधार हुन लागेको स्थानीयको भनाइ छ।