अछाम समाचारदाता
मङ्गलसेन, फागुन १७ गते । सङ्गठन सुदृढीकरण गर्न नेकपा (एमाले), अछामले वडा तहमै प्रतिनिधि खटाएको छ। पार्टीको केन्द्रको निर्णयअनुसार खटिएका केन्द्रीय र प्रदेश सदस्यसँगै जिल्ला सदस्यलाई हरेक वडामा जाने गरेर खटाएको हो। जिल्ला कमिटीका सदस्यलाई अर्को स्थानीय तहको वडामा पार्टीको समग्र काम गर्नलाई खटाइएको एमाले अछामका अध्यक्ष चन्द्रबहादुर बोहराले जानकारी दिनुभयो। वडा तहमा पार्टीको अवस्था विश्लेषण, सदस्यता नवीकरण र सङ्कलन, जनवर्गीय सङ्गठन गठन/पुनर्गठन, नागरिकका सरकार र पार्टीप्रतिका गुनासा सङ्कलनको काम गरिने बताइएको छ।
अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई सहसचिवबाहेक ११८ जनालाई ९१ वडामा खटाइएको एमाले अछामले जानकारी दिएको छ। एक वडामा एक जना जिल्ला सदस्यको जिम्मेवारी छ भने जनप्रतिनिधि र महिला भएको वडामा अवस्थाअनुसार वैकल्पिक व्यवस्था गरिएको छ।
वडामा खटाइएका जिल्ला सदस्यले केन्द्रबाट खटाइएका केन्द्रीय, प्रदेशका प्रतिनिधि, पालिका र वडा कमिटीको समन्वयमा काम गर्ने बताइएको छ। अछामका दस स्थानीय तहको मङ्गलसेन, साँफेबगर नगरपालिका र बान्नीगढी जयगढ र चौरपाटी गाउँपालिकामा पोलिटब्युरो सदस्य गौरी ओलीलाई खटाइएको छ।