• १५ मंसिर २०८१, शनिबार

खानेपानीमा राजनीति नगर्न मन्त्रीको चेतावनी

blog

खानेपानीमन्त्री अब्दुल खान नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहमा । तस्बिर : कविता थापा

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन १५ गते । खानेपानीमन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीलाई निर्देशन दिनुभएको छ । सोमवार नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहमा उहाँले सो चेतावनी दिनुभएको हो ।

मन्त्री खानले खानेपानी संस्थानलाई राजनीतिक अखडा बनाएमा सह्य नहुने चेतावनी दिनुभयो । उहाँले खानेपानी संस्थान आम सर्वसाधारणलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने बताउनुभयो । खानेपानी संस्थानमा बसेर पार्टी र व्यक्तिको लागि राजनीति आफ्नो कार्यकालमा नगर्न उहाँले निर्देशन दिनुभयो । 

पार्टीमा राजनीति गर्न मन लागेको भए फिल्डमै गएर राजनीति गर्न उहाँले सुझाउनुभयो । कर्मचारीले खानेपानीको सुधार र खानेपानी आम सर्वसाधारणको घरमा पुर्याउन आन्दोलन गर्नुपर्ने उहाँले बताउनुभयो । खानेपानीका लागि बजेट नछुटयाएर प्राथमिकतामा नराखे आफैँ त्यसको नेतृत्व गरेर प्रधानमन्त्री र अर्थमन्त्रीको कार्यालयमा घेर्ने बताउनुभयो । 

काभ्रेपलाञ्चोकको पनौतीस्थित खानेपानी संस्थानलाई निजीकरण गर्नेकुरा खानेपानी संस्थानले गरेको भन्दै निजीकरण किन गर्नुपर्ने भन्ने कारणसहित प्रतिवेदन सात दिनभित्रमा पेस गर्न खानेपानी संस्थानलाई निर्देशन दिनुभयो ।