काठमाडौं, फागुन १५ गते । प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको शोक प्रस्ताव पारित गरेको छ ।
सङ्घीय संसद्अन्तर्गत आज (सोमबार) बसेको प्रतिनिाधि सभा बैठकले प्रतिनिधि सभा सदस्य रहमानको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।
रहमानको शनिबार हृदयघातका कारण निधन भएको थियो । समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रहमान ६३ वर्षकी हुनुहुन्थ्यो ।
झापाका स्थायी बासिन्दा रहनुभएकी रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद बन्नुभएको थियो । रहमान जसपाका केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो । प्रतिनिधि सभाको अर्को बैठक फागुन १७ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।