• १६ चैत २०८०, शुक्रबार

ताप्लेजुङमा पहिलो पटक हिमपात

blog

तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा परेको हिउँको दृश्य । तस्बिर: चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । आइतबार साँझपछि वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । 

उच्च हिमाली क्षेत्रमा निक्कै बाक्लो हिउँ परेको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीहरूमा एक फिट बढीसम्म हिउँ परेको स्थानीयले बताएका छन् । 

फलेका स्थानीय मिङ्मा शेर्पाका अनुसार करिब डेढ फिटसम्म हिउँ परेको छ । घुन्सामा पनि करिब एक फिट हिउँ परेको शेर्पाले जानकारी दिनुभयो । यस्तै ओलाङ्चुङगोलामा पनि करिब एक फिटसम्म हिउँ परेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । ओलाङ्चुङगोलाकै याङ्मामा भने दुई फिटसम्म हिउँ पर्न सक्ने बताइएको छ । चार हजार २०० मिटर उचाइ रहेको याङ्मा जिल्लाकै उच्च बस्ती हो । 

यसै गरी तेह्रथुम, सङ्खुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीन जुरे मिल्के जलजले (टीएमजे) क्षेत्रमा पनि हिमपात भएको छ । तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि हिमपात भएको छ । पाथीभरा क्षेत्रको तल्लो फेदी काफ्ले पाटीसम्म नै हिउँ परेको स्थानीय राजेन्द्र महतले जानकारी दिनुभयो ।

जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङ, सिदिङ्वा गाउँपालिकाको कालीखोला, सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, मामाङ्खे गाउँको उच्च भागमा पनि हिमपात भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार सदरमुकाम फुङ्लिङबजार नजिक सुकेटार क्षेत्रमा समेत सामान्य हिउँ परेको छ ।

यस वर्षको हिउँद मौसम बित्न लाग्दा हिमपात र वर्षा भएपछि किसान भने हर्षित भएका छन् । मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहतको महसुस गरेका हुन् । त्यस्तै नगदे बाली अलैँची, तरकारलगायतका बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।