• २६ चैत २०८२, बिहिबार

चौथो जेसीज कपः क्वाटरफाइनलका खेल हुँदै

blog

चौथो जेसीज कपमा सहभागी पर्वतको मर्दीखोला युनाइटेड फुटबल टिम । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की 
काठेखोला (बागलुङ), फागुन २६ गते ।
बागलुङको बाङ्गेचौर खेलमैदानमा जारी चौथो संस्करणको जेसीज कप फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलका बाँकी तीन खेल हुँदैछन् ।

प्रतियोगिताका संयोजक सुभम राजभण्डारीका अनुसार आजको पहिलो खेल आदर्श विद्यामन्दिर र गुठी युनाइटेड बागलुङ, दोस्रो खेल साविक विजेता बागलुङ सुधार केन्द्र र मर्दीखोला युनाईटेड पर्वत र तेस्रो खेल बागलुङ कालिका युवा क्लब र गहते युवा क्लबबिच हुनेछ ।

प्रतियोगिता अन्तरगत बुधबार गोलको वर्षा भएको थियो । बुधबार तीन खेलमा १९ गोल भएको छ ।

बुधबार भएको पहिलो खेलमा मर्दीखोला युनाइटेड पर्वतले बागलुङ युनिटी क्लबलाई ६–१ गोलअन्तरले पाखा लगाउँदै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

मर्दीखोलाको जितमा जितमा आशिष राना मगर र अङ्कित गुरुङले २–२ गोल गर्दा टिकाराम गुरुङ र सामिल नेपालीले १–१ गोल गर्नुभयो । बागलुङ युनिटीको आयुष पौडेलले सान्त्वना गोल गर्नुभएको थियो ।

यस्तै दोस्रो खेलमा गहते युवा क्लबले होली चाइल्डलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्यो । गहतेको जितमा मनिष ठकुरी र रोशन क्षेत्रीले २–२ गोल गर्दा सरोज तितुङ र आकाश थापाले १–१ गोल गर्नुभयो ।

यस्तै बुधबारको अन्तिम खेलमा जित निकाल्दै गण्डकी प्रदेश प्रहरी अन्तिम चारमा प्रवेश गरेको छ । प्रहरीले नेपाल आर्मीको कालिजंग गण घोडाबाँधेलाई ६–० गोलअन्तरले पराजित गर्‍यो ।

प्रहरीलाई अन्तिम चारमा पुर्‍याउन नवराज गुरुङले दुई गोल गर्नुभयोभने खेमबहादुर थापा, लक्षु थापा, सुशील लामा र केश बरामले समान १–१ गोल गर्नुभयो ।

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले एक लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष अन्जिला श्रेष्ठले बताउनुभयो । बागलुङ जेसीजको आयोजितामा संचालित प्रतियोगिताका फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।