• २६ चैत २०८२, बिहिबार

‘पिछडिएका समुदायको उत्थानमा जोड दिन्छु’

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, चैत २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद निर्वाचित हुनुभएका प्रेमलाल चौधरीले पछाडि पारिएका समुदायको सांस्कृतिक, भाषिक र जातीय  उत्थानमा आफूले जोड दिने बताउनुभएको छ । मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका–१२ मा स्थायी बसोवास गर्नुहुने चौधरीको जन्म २०२६ साल असोज १० गते हालको सुन्दहरैँचा–११ मा भएको हो । चौधरीले त्रिभुवन विश्वविद्यालयबाट वित्तशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले प्रारम्भिक शिक्षा तत्कालीन इन्द्रपुर गाविसस्थित महेन्द्र प्राविबाट सुरु गरी सुकुना माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण गर्नुभएको हो ।

राजनीतिमा आउनुअघि उहाँ नेपाल सरकारद्वारा प्रवर्धित तत्कालीन ग्रामीण विकास बैङ्क (हाल लघुवित्त वित्तीय संस्था) मा कार्यरत हुनुहुन्थ्यो । २०५० सालमा सहायक प्रथम पदमा नियुक्त भई उहाँले २८ वर्ष ११ महिनाको सेवापछि २०७९ सालमा अधिकृत (वरिष्ठ शाखा प्रबन्धक) पदबाट स्वैच्छिक अवकाश लिनुभयो । त्यसपछि सोही वर्ष भएको  प्रतिनिधि सभा निर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट समानुपातिक उम्मेदवार बन्नुभयो तर विजयी हुनु भएन । 

अविछिन्न पार्टीमा सक्रिय रहनुभएका चौधरीले विशेष गरी थारू, राजवंशी, उराव र धिमाललगायतका समुदायको जातीय तथा सांस्कृतिक पहिचान संरक्षण गर्दै उनीहरूलाई मूलधारमा ल्याउने लक्ष्य लिनुभएको छ । 

 कृषि क्षेत्रमा प्रविधि र यान्त्रिकीकरणको प्रयोग बढाउन नीतिगत सुधार आवश्यक रहेको उहाँको धारणा छ । किसानले उत्पादन गरेको वस्तुको लागत र लाभका आधारमा न्यूनतम समर्थन मूल्य तोक्ने व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

समानुपातिक सांसद भएकाले आफ्नो जिम्मेवारी केवल निर्वाचन क्षेत्रमै सीमित नभई समग्र मुलुकको समस्या समाधानतर्फ केन्द्रित हुनुपर्ने चौधरी बताउनुहुन्छ । मोरङ–३ अन्तर्गतका स्थानीय समस्या समाधान गर्न संसद्मा सशक्त आवाज उठाउने उहाँको प्रतिबद्धता रहेको छ । मोरङ–३ अन्तर्गत पर्ने पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकामा रहेको चार दशक पुरानो जग्गामा रहेको दोहोरो स्वामित्वको  समस्या समाधान गरी जग्गा भोगचलन गरेका  नागरिकलाई लालपुर्जा वितरण गर्न संसद्मा आवाज उठाउने उहाँको प्रतिबद्धता छ । 

निर्माणाधीन पूर्वपश्चिम राजमार्गमा आवश्यक क्रसिङ नहुँदा नागरिकले भोग्नु परेको समस्या समाधान गर्न पहल गर्ने उहाँले बताउनुभयो । जङ्गली जनावर तथा बाँदर नियन्त्रण, खोला उत्खनन व्यवस्थापन सुधार, बेलबारी–१०, भाउन्नेमा रहेको पेट्रोल खानीको सम्भाव्यता अध्ययन तथा सञ्चालन र पूर्वाञ्चल विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने विषयलाई उहाँले प्राथमिकतामा राख्नुभएको छ ।